अमेरिकामा निर्वाचन : नेपाली भाषी चारले जिते, दुई हारे
ल्यानक्यास्टर, पेन्सिल्भेनिया / अमेरिकी संसदीय निर्वाचनमा डेमोक्रेटिक पार्टीले ऐतिहासिक बहुमत हासिल गर्दा नेपाली भाषी चार जनाले पनि जित हात पारेका छन् । यस्तै दुई जना भने पराजित भएका छन् ।
मंगलवार सम्पन्न निर्वाचनमा पाँच जना नेपाली मुलका र एक जना नेपाली भाषी भुटानी गरि ६ उम्मेदवारले चार राज्यबाट प्रतिस्पर्धा गरेका थिए । सबै जना डेमोक्रेटिक पार्टीबाट उम्मेदवार बनेका थिए ।
निर्वाचित हुनेमा मेरिल्यान्डका डा. ह्यारी भण्डारी, न्युयोर्ककी सरहाना श्रेष्ठ, न्यु ह्याम्पसायरका विश्वबहादुर शाह र केन्टकीका मित्र सुवेदी छन्। सुवेदी नेपाली भाषी भुटानी समुदायबाट हुन ।
मेरिल्यान्डबाट उम्मेदवारी दिएका सतीश चापागाईं र न्यु ह्याम्पसायरका रिकी गुरुङ भने निर्वाचित हुन सकेनन्।
यसपटकको निर्वाचनमा भण्डारी र श्रेष्ठले लगातार तेस्रो कार्यकालका लागि जित हासिल गरेका छन्।
अमेरिकाको राज्य विधायिकामा निर्वाचित हुने पहिलो नेपाली मूलका व्यक्ति डा. ह्यारी भण्डारीले मेरिल्यान्डको हाउस अफ डेलिगेट्समा तेस्रो कार्यकालका लागि जित हासिल गरेका छन्। बाल्टिमोर काउन्टीको डिस्ट्रिक्ट ८ बाट उम्मेदवारी दिएका भण्डारीले १९ हजार ५३० मत प्राप्त गरेका छन्।
तीन जना प्रतिनिधि निर्वाचित हुने यस क्षेत्रबाट डेमोक्रेटिक पार्टीकै निक एलनले १९ हजार ८६० र किम एल. रसले १९ हजार ३४८ मत प्राप्त गरेका छन्। तीनै जना डेमोक्रेटिक उम्मेदवार निर्वाचित भएका हुन्।
भण्डारी सन् २०१८ मा पहिलोपटक निर्वाचित भएका थिए। त्यसपछि २०२२ मा दोस्रो कार्यकाल जितेका थिए ।
अमेरिकी राज्य संसदमा ह्याट्रिक गरे पछि भण्डारीले सामाजिक सञ्जाल मार्फत सबैलाई धन्यवाद दिएका छन् ।
‘डिस्ट्रिक्ट ८ का मतदातालाई हृदयदेखि धन्यवाद। तपाईंहरूको अपार समर्थन, विश्वास र भरोसाप्रति म आभारी छु।’ उनले भनेका छन्, ‘यो देशले मलाई मैले कहिल्यै कल्पना नगरेका अवसरहरू दिएको छ। त्यसलाई म कहिल्यै सामान्य रूपमा लिनेछैन। मलाई यति धेरै दिएको देशप्रति कृतज्ञता व्यक्त गर्ने मेरो तरिका नै आफ्नो समुदायको सेवा गर्नु हो।’
न्युयोर्क राज्यको एसेम्ब्ली डिस्ट्रिक्ट १०३ बाट उम्मेदवारी दिएकी सरहाना श्रेष्ठ तेस्रो कार्यकालका लागि निर्वाचित भएकी छन्। डेमोक्रेटिक पार्टीकी श्रेष्ठले रिपब्लिकन उम्मेदवार सान्तोस लोपेजलाई फराकिलो मतान्तरले पराजित गरेकी हुन्।
श्रेष्ठले ३८ हजार ६०६ मत प्राप्त गर्दा लोपेजले १६ हजार ८२१ मत पाएका छन्। श्रेष्ठले करिब ६९ प्रतिशत मत प्राप्त गरेकी छन्।
सन् २०२२ मा पहिलोपटक निर्वाचित भएपछि उनी अमेरिकी राज्य विधायिकामा पुग्ने पहिलो नेपाली मूलकी महिला बनेकी थिइन्। सन् २०२४ मा दोस्रो कार्यकाल जितेकी थिइन ।
श्रेष्ठले हस्ताक्षर संकलन गर्ने, घरघरमा पुगेर मत माग्ने, मतदातालाई मतदान गर्न सम्झाउने, कसैलाई मतदान केन्द्रसम्म पुर्याउने र मानिसहरूलाई एकै ठाउँमा भेला गर्न कार्यक्रम आयोजना गर्ने सबैलाई धन्यवाद दिएकी छिन् ।
‘ममाथि विश्वास गर्ने र सधैँ साथ दिने मतदाताप्रति आभारी छु। देशभरिका दशौँ हजार डेमोक्रेटिक सोसलिस्ट अफ अमेरिकाका सदस्यहरू, आफ्नो समय र सीप खर्चेर एकता र सहकार्यलाई अभावभन्दा, मानिसलाई नाफाभन्दा र सामाजिक हितलाई पुँजीभन्दा माथि राख्ने नीतिका लागि आन्दोलन निर्माण गरिरहनुभएको छ । उहाँहरू सबैलाई धन्यवाद।’ श्रेष्ठले सामाजिक सञ्जाल मार्फत सबैलाई धन्यवाद दिएकी छिन् ।
न्यु ह्याम्पसायरको हिल्सबरो काउन्टी डिस्ट्रिक्ट ४१ बाट उम्मेदवारी दिएका विश्वबहादुर शाह पहिलोपटक राज्य प्रतिनिधिसभामा निर्वाचित भएका छन्।
तीन जना प्रतिनिधि निर्वाचित हुने यस क्षेत्रमा शाहले ५ हजार ७२६ मत प्राप्त गरेका छन्। उनीभन्दा बढी मत ल्याउने डेमोक्रेटिक उम्मेदवार लिली एम. फसले ६ हजार ३१६ र टम स्टेवार्टले ६ हजार २४१ मत पाएका छन्।
केन्टकी : नेपाली भाषी भुटानी मूलका मित्र सुवेदी निर्विरोध निर्वाचित
केन्टकीको हाउस डिस्ट्रिक्ट ३० बाट उम्मेदवारी दिएका नेपाली भाषी भुटानी मित्र सुवेदी निर्वाचित भएका छन्। उनको प्रतिस्पर्धामा रिपब्लिकन उम्मेदवार नहुँदा उनी निर्विरोध निर्वाचित भएका हुन्।
केन्टकीका निर्वाचन अधिकारीले सार्वजनिक गरेको अनौपचारिक नतिजाअनुसार सुवेदीले ८ हजार २३४ मत प्राप्त गरेका छन्। उनी लुइसभिल क्षेत्रबाट निर्वाचित भएका हुन्।
भुटानमा जन्मिएका सुवेदीले आफ्नो बाल्यकाल नेपालको भुटानी शरणार्थी शिविरमा बिताएका थिए। सन् २०११ मा अमेरिका आएका उनी अहिले जेफर्सन काउन्टीका विद्यालयमा गणित शिक्षकका रूपमा कार्यरत छन्। भुटानी सोसाइटी अफ केन्टकीमा पनि उनले नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्।
सुवेदीले यसअघि सन् २०२४ मा पनि यही क्षेत्रको डेमोक्रेटिक प्राइमरीमा प्रतिस्पर्धा गरेका थिए। त्यसबेला उनी तत्कालीन सांसद ड्यानियल ग्रोसबर्गसँग ५० मतको अन्तरले पराजित भएका थिए। यसपटकको प्राइमरीमा भने उनले ग्रोसबर्गलाई हराउँदै पार्टीको उम्मेदवारी हात पारेका थिए।
नेपाली भाषी चार जना राज्य संसदमा प्रेवेस गर्दा दुई जनाको प्रयास भने सफल हुन सकेन ।
मेरिल्यान्डबाटै डिस्ट्रिक्ट ७ए मा उम्मेदवारी दिएका सतीश चापागाईं र न्यु ह्याम्पसायरमै नेपाली मूलका अर्का उम्मेदवार रिकी गुरुङ पराजित भए ।
चापागाईंले १० हजार ४६२ मत प्राप्त गरेका छन्। यस क्षेत्रमा दुई जना प्रतिनिधि निर्वाचित हुने व्यवस्था हुदाँ चापागाईँ तेस्रोमा रोकिए ।
रिपब्लिकन उम्मेदवार रायन नावरोक्कीले १५ हजार ८०२ र क्याथी स्जेलिगाले १५ हजार ४२० मत प्राप्त गर्दै दुवै सिट जितेका छन्।
न्यु ह्याम्पसायर मेरिम्याक काउन्टीको डिस्ट्रिक्ट १० बाट डेमोक्रेटिक पार्टीका उम्मेदवार बनेका गुरुङले ३ हजार ७३४ मत प्राप्त गरेका छन्।
चार जना प्रतिनिधि निर्वाचित हुने यस क्षेत्रमा डेमोक्रेटिक उम्मेदवार विलियम लिन्चले ४ हजार ३१५, लुकास कोरियाटीले ३ हजार ९२४ र जर्मानो मार्टिन्सले ३ हजार ७९९ मत प्राप्त गरेका छन्। रिपब्लिकन उम्मेदवार थोमस वाल्सले ३ हजार ८३९ मतसहित चौथो स्थान हासिल गरेका छन्। गुरुङ पाँचौँ स्थानमा रहे।



















