३३ वर्षपछि पेन्सिल्भेनियामा गभर्नरसहित दुवै सदनमा डेमोक्रेटको बहुमत
ह्यारिसबर्ग, पेन्सिल्भेनिया / अमेरिकाको पेन्सिल्भेनिया राज्यमा ३३ वर्ष पछि गभर्नर सहित दुबै सदनमा डेमोक्याट्रिक पार्टीले बहुमत प्राप्त गरेको छ ।
मंगलवार भएको निर्वाचनमा गभर्नर जस शापिरो दोस्रो कार्यकालका लागि निर्वाचित मात्र भएन दुबै सदनमा पार्टीलाई बहुमत समेत दिलाए ।
सन् १९९४ देखि रिपब्लिकनको नियन्त्रणमा रहेको पेन्सिल्भेनिया सिनेटलाई डेमोक्र्याटहरूले ३ सिट थप्दै २६–२४ को बहुमत सहित आफ्नो पक्षमा पारेका छन्।
राज्यको तल्लो सदनमा डेमोक्र्याटहरूले पहिलेदेखि नै रहेको आफ्नो झिनो बहुमतलाई अझ बढाउँदै बलियो पकड बनाएका छन्।
विगत लामो समयदेखि पेन्सिल्भेनियामा गभर्नर एउटा पार्टीको र संसद् अर्को पार्टीको बहुमत हुदा धेरै विधेयकहरू रोकिएका थिए।
अब दुवै सदन र गभर्नरको पदमा डेमोक्र्याटहरूको एकल नियन्त्रण भएपछि उनीहरूले आफ्ना मुख्य एजेन्डाहरू सजिलै अघि बढाउन सक्नेछन् ।
पेन्सिल्भेनियामा डेमोक्र्याटिक पार्टीले सन् २०१५ देखि लगातार गभर्नर पद जित्दै आएको छ। टम वुल्फ सन् २०१५ देखि २०२३ सम्म दुई कार्यकाल गभर्नर भए । उनले आफ्नो कार्यकालभरी न्युनतम ज्याला वृद्धि गर्ने प्रयास गरे तर सफल हुने सकेनन् ।
दोस्रो कार्यकालका लागि विजयी भएका वर्तमान गभर्नर जसले पनि न्युनतम ज्याला बढाउने आफ्नो प्रयास संसदले साथ नदिएको बताउदै आएका थिए ।
पेन्सिल्भेनियाको आधुनिक राजनीतिक इतिहासमा सन् १९६८ को नयाँ संविधान लागू भएयता एउटा रोचक परम्परा बस्दै आएको थियो ।
हरेक दुई कार्यकालपछि गभर्नरको पार्टी परिवर्तन हुने गरेको थियो । तर यस पटक त्यो पनि तोडिएको छ । डेमोक्रेटले नै लगातार चौथो पटक गभर्नर जितेको छ ।
राष्ट्रपति निर्वाचनमा पेन्सिल्भेनिया स्वीङ स्टेट हो ।
यस पटक डेमोक्रेटिक पार्टीले राज्य सिनेटमा ४८ वर्षपछि बहुमत हासिल गरेको छ । डेमोक्र्याटिक पार्टीले चुनावी मतका आधारमा राज्य सिनेटमा बहुमत हासिल गरेको यो सन् १९७८ यताकै पहिलो पटक हो।
सन् १९९३ मा एकजना रिपब्लिकन सिनेटरले पार्टी परिवर्तन गरेर डेमोक्र्याटलाई केही समयका लागि प्राविधिक बहुमत मिलेको थियो, तर सिधै चुनाव जितेर बहुमत ल्याएको चाहिँ झन्डै आधा शताब्दी पछि हो।
डेमोक्रेटिक पार्टीबाट भावी राष्ट्रपतिको उम्मेदवारको चर्चामा रहेका शापिरोले रिपब्लिकन उम्मेदवार स्टेसी ग्यारिटीलाई फराकिलो मतान्तरले पराजित गरेका छन्।
निर्वाचनको प्रारम्भिक परिणामअनुसार शापिरोले ३० लाख २ हजार ७३७ अर्थात् ६०.३७ प्रतिशत मत प्राप्त गरेका छन्। ग्यारिटीले १९ लाख ६ हजार ६४८ अर्थात् ३८.३३ प्रतिशत मत पाएकी छन्। तेस्रो उम्मेदवार केन क्रावचुकले १.२९ प्रतिशत मत प्राप्त गरेका छन्। शापिरो र ग्यारिटीबीचको मतान्तर करिब १० लाख ९६ हजार रहेको छ।
१७ कंग्रेसनल डिस्ट्रिक्टमध्ये ११ मा डेमोक्रेट विजयी
अमेरिकी संघीय संसदका लागि पेन्सिल्भेनियाका १७ वटा कंग्रेसनल डिस्ट्रिक्टमध्ये ११ वटामा डेमोक्रेटिक पार्टीका उम्मेदवार विजयी भएका छन् भने ६ वटामा रिपब्लिकन उम्मेदवारले जितेका छन्।
अघिल्लो निर्वाचनमा रिपब्लिकनको नियन्त्रणमा रहेका चार सिट डेमोक्रेटले खोसेका छन्।
सबैभन्दा चर्चित प्रतिस्पर्धामध्ये डिस्ट्रिक १ मा डेमोक्रेटिक उम्मेदवार बब हार्वीले पाँच कार्यकालदेखि निर्वाचित हुँदै आएका रिपब्लिकन ब्रायन फिट्जप्याट्रिकलाई पराजित गरेका छन्।
डिस्ट्रिक ८ मा स्क्रान्टनकी मेयर पेज कोग्नेट्टीले रिपब्लिकन रोब ब्रेस्नाहानलाई हराएकी छन्। डिस्ट्रिक ७ मा बब ब्रुक्सले रिपब्लिकन रायन म्याकेन्जीलाई पराजित गरेका छन्।
नेपाली भाषी भुटानी समुदायको बाक्लो बस्ती रहेको डाउपिन काउन्टी, कम्बरल्याण्ड काउन्टी र योर्क काउन्टीलाई समेटर बनेको डिस्ट्रिक १० मा जेनेल स्टेल्सनले स्कट पेरीलाई हराएर कंग्रेस प्रवेश गरेकी छन्।
पेरी लगातार ७ कार्यकाल पछि पराजित भएका हुन्। एक कार्यकाल दुई वर्षको हुन्छ ।
राज्य सिनेटमा २६–२४ को बहुमत
पेन्सिल्भेनिया राज्य सिनेटमा यस पटक डेमोक्रेटिक पार्टीले ऐतिहासिक सफलता हासिल गरेको छ। ५० सदस्यीय सिनेटमा अब डेमोक्रेटका २६ र रिपब्लिकनका २४ सदस्य हुनेछन्।
यसअघि सिनेटमा रिपब्लिकनको २७–२३ को बहुमत थियो। डेमोक्रेटले रिपब्लिकनका चार सिट जितेका छन् भने आफ्नै एउटा सिट गुमाएका छन्। यसरी चार सिट आफ्नो पक्षमा पारेर एउटा गुमाउँदा उनीहरूले तीन सिटको शुद्ध लाभ हासिल गरेका छन्।
सिनेटमा डेमोक्रेटले जितेका महत्त्वपूर्ण निर्वाचन क्षेत्रमध्ये डिस्ट्रिक ६ मा आइलीन हार्टनेट अल्बिलारले बहालवाला रिपब्लिकन सिनेटर फ्र्यांक फ्यारीलाई पराजित गरेकी छन्।
डिस्ट्रिक १६ मा मार्क पिन्स्लेले रिपब्लिकन जारेट कोलम्यानलाई हराएका छन्। २४औँ मा क्रिस थोमसले बहालवाला रिपब्लिकन ट्रेसी पेनीकुकलाई पराजित गरेका छन्। ४०औँमा ब्रायन राइटसनले रिपब्लिकन रोजमेरी ब्राउनलाई हराएका छन्।
तर ल्यान्कास्टर काउन्टीको ३६औँ सिनेट डिस्ट्रिकमा भने डेमोक्रेट जेम्स मालोन रिपब्लिकन टम जोन्ससँग पराजित भएका छन्। मालोनले यसअघि विशेष निर्वाचनमार्फत जितेको सिट रिपब्लिकनले पुनः आफ्नो नियन्त्रणमा लिएका हुन्।
तल्लो सदनमा डेमोक्रेटको बहुमत थपियो
पेन्सिल्भेनियाको २०३ सदस्यीय राज्य प्रतिनिधिसभामा पनि डेमोक्रेटिक पार्टीले आफ्नो बहुमत बढाएको छ।
निर्वाचनअघि डेमोक्रेटका १०३ र रिपब्लिकनका १०० सदस्य थिए। अब डेमोक्रेटले कम्तीमा १११ सिट र रिपब्लिकनले ८८ सिट जितेका छन्। चार निर्वाचन क्षेत्रको परिणाम भने अझै अन्तिम रूपमा घोषणा हुन बाँकी छ।
यस निर्वाचनमा रिपब्लिकनको नियन्त्रणमा रहेका कम्तीमा आठ सिट डेमोक्रेटले आफ्नो पक्षमा पारेका छन्। विशेषगरी फिलाडेल्फिया आसपासका उपनगरीय क्षेत्र र अन्य प्रतिस्पर्धात्मक जिल्लामा डेमोक्रेटले जित हासिल गरेका छन्।
स्टेटका लागि ४१ डिस्ट्रिकमा ४१ मतको अन्तर
पेन्सिल्भेनियाको राज्य प्रतिनिधिसभाको ४१औँ जिल्लाको निर्वाचन निकै रोचक बनेको छ। ल्यान्कास्टर काउन्टीअन्तर्गत पर्ने यस जिल्लामा रिपब्लिकनका बहालवाला सांसद ब्रेट मिलर र डेमोक्रेटिक उम्मेदवार ब्राड चेम्बर्सबीच अन्तिमसम्म कडा प्रतिस्पर्धा भएको छ।
निर्वाचनको प्रारम्भिक मतगणनामा चेम्बर्स ९० मतले अगाडि थिए। तर सबै ३२ मतदान केन्द्रको मतगणना सकिँदा परिणाम उल्टिएको छ। नोभेम्बर ३ मध्यरात सम्मको अनौपचारिक परिणामअनुसार मिलरले १४ हजार २२५ मत अर्थात् ५०.०७ प्रतिशत प्राप्त गरेका छन्। चेम्बर्सले १४ हजार १८४ अर्थात् ४९.९३ प्रतिशत मत पाएका छन्।
तर यो परिणामलाई अन्तिम मान्न मिल्दैन। निर्वाचनको रात गणना गरिएका मतदान केन्द्र र हुलाकमार्फत प्राप्त मतको गणना सकिए पनि प्रोभिजनल र विदेशी मत गणना हुन बाँकी रहेको छ।
मतान्तर अत्यन्तै कम भएकाले बाँकी मतगणना र सम्भावित पुनः मतगणनाले परिणाम परिवर्तन गर्न सक्ने अवस्था छ।
सन् २०२४ मा पनि यी दुई उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो। त्यतिबेला मिलरले चेम्बर्सलाई करिब चार हजार मतको अन्तरले पराजित गरेका थिए। यस पटक भने प्रतिस्पर्धा ४१ मतको अन्तरमा पुगेको छ। सन् २०१४ देखि यस क्षेत्रको प्रतिनिधित्व गर्दै आएका मिलरका लागि यो निर्वाचन अघिल्ला प्रतिस्पर्धाभन्दा निकै चुनौतीपूर्ण बनेको छ।
४१औँ डिस्ट्रिकमा इस्ट र वेस्ट हेम्पफिल्ड टाउनसिप, कोलम्बिया, माउन्टभिल बरो र म्यानर टाउनसिपको केही भाग पर्दछन्।



















