‘नेतृत्व भनेको जनताको कुरा सुन्नु हो’ : जेनेल स्टेल्सन नवनिर्चित सांसद
हर्सी, पेन्सिल्भेनिया / पेन्सिल्भेनियाको कंग्रेसनल डिस्ट्रिक्ट १० बाट नवनिर्वाचित कांग्रेसवोमेन (सांसद) जेनेल स्टेल्सनले नेतृत्व भनेको जनताको कुरा सुन्नु भएको बताएकी छिन् ।
मंगलवार भएको निर्वाचनमा वहालवाला रिपब्लिकन सांसद स्कट पेरीलाई पराजित गर्दै अमेरिकी प्रतिनिधिसभामा निर्वाचित भए पछि स्टेल्सनले नेताहरुले जनताको कुरा नसुनेर देश ट्रयाक भन्दा बाहिर जानुको कारण भएको पनि बताइन ।
मंगलवार साँझ हर्सीमा आयोजित वाच पार्टीमा स्टेल्सनले सम्बोधनको शुरुमा आफु एक प्रकारले आश्चर्यमा रहेको बताइन ।
“म यो कुराबाट सुरु गर्न चाहन्छु कि दशकौंदेखि मेरो काम यस समुदायका तपाईंहरूका कुरा सुन्नु र तपाईंहरूबाट सिक्नु थियो। मलाई विश्वास छ कि नेतृत्व भनेकै सुन्नु हो। र यो देश ट्र्याकभन्दा बाहिर जानुको एउटा कारण यो हो कि हाम्रा राजनीतिक नेताहरूले हामीले के भन्न खोजिरहेका छौँ भन्ने कुरा सुन्दैनन्। तर आज राती मलाई लाग्छ उनीहरूले हाम्रो आवाज सुनेका छन्।”
पूर्व पत्रकार स्टेल्सनले दोस्रो प्रयासमा पेरीलाई हराएकी हुन् । सन् २०२४ निर्वाचनमा स्टेल्सन पेरी सँग एक प्रतिशत मत अन्तरले पराजित भएकी थिइन् ।
अमेरिकी संघीय संसद प्रतिनिधिसभा (हाउस अफ रिप्रेजेन्टेटिभ्स) का सदस्यहरू (कंग्रेसवोमन/कंग्रेसम्यान) को पदावधि २ वर्ष को हुन्छ। हरेक २ वर्षमा सबै ४३५ सीटका लागि पुन: निर्वाचन हुन्छ।
स्टेल्सनले जनताको आवाज वासिङ्टनसम्म पुर्याउने र निर्वाचित भएपछि पनि मतदातासँग निरन्तर संवादमा रहने प्रतिबद्धता व्यक्त गरेकी छन्।
उनले महँगी, स्वास्थ्य सेवा, कृषि, सामाजिक सुरक्षा, इरान युद्ध, भन्सार शुल्क र वासिङ्टनको राजनीतिक भ्रष्टाचारलाई आफ्नो प्राथमिकताका विषय बनाएकी छन्।
उनले आफ्नो जितलाई आफूलाई मत दिनेहरूको मात्र नभई आफूलाई मत नदिने नागरिकको आवाज प्रतिनिधित्व गर्ने जिम्मेवारीका रूपमा व्याख्या गरिन्।
‘मलाई मत नदिनेहरूलाई पनि म भन्न चाहन्छु, मेरो पदको नाम अमेरिकी प्रतिनिधि हो। सबैले मेरो विचारसँग सहमत हुनुपर्छ भन्ने छैन। तपाईंहरूसँग मभन्दा राम्रा विचार पनि हुन सक्छन्। ती विचार सुन्नु र तपाईंहरूको आवाज वासिङ्टनका संसद् भवनसम्म पुर्याउनु मेरो जिम्मेवारी हो,’ उनले भनिन्।
स्टेल्सनले पनि निर्वाचित भएपछि नियमित टाउनहल बैठक गर्ने प्रतिबद्धता जनाइन्। कफी, पेय पदार्थ वा पिज्जासँगै बसेर भए पनि मतदातासँग छलफल गर्ने उनको भनाइ थियो।
‘तपाईंहरूले मलाई केही काम गर्न वासिङ्टन पठाउनुहुन्छ। म त्यहाँ गएर काम गरेपछि के भयो भनेर फेरि तपाईंहरूकहाँ फर्केर जानकारी दिनेछु। काम सफल भयो कि भएन, त्यसमा सुधार गर्नुपर्छ कि फेरि प्रयास गर्नुपर्छ भन्ने विषयमा हामी निरन्तर कुराकानी गर्नेछौँ,’ उनले भनिन्।
उनले आफूलाई पत्रकारिताको लामो अनुभवले पनि मानिससँग संवाद गर्ने र उनीहरूको कुरा सुन्ने बानी बसालेको बताइन्। जनप्रतिनिधि र मतदाताबीच एकपटकको निर्वाचनले मात्र सम्बन्ध पूरा नहुने भन्दै उनले निरन्तर संवादलाई आफ्नो कार्यशैली बनाउने बताइन्।
इरान युद्ध अन्त्य र सैनिकलाई स्वदेश फर्काउने प्राथमिकता
गर्दै स्टेल्सनले इरानसँगको युद्ध अन्त्य गर्ने विषयलाई प्राथमिकतामा राखिने बताइन ।
‘हामीले आफ्ना सैनिक महिला र पुरुषलाई घर फर्काउनुपर्छ,’ उनले भनिन्।
उनले इरान युद्ध र त्यससँग जोडिएको खर्चले अमेरिकी अर्थतन्त्र तथा सर्वसाधारणको जीवनयापनमा थप दबाब पारेको तर्क गरिन्। विदेशमा ठूलो रकम खर्च भइरहेको तर आफ्नै देशका नागरिकले दैनिक आवश्यकताका वस्तु किन्न संघर्ष गर्नुपरेको उनको भनाइ थियो।
स्टेल्सनले अर्जेन्टिनालाई दिइएको ४० अर्ब डलरको आर्थिक सहयोग, ग्रिनल्यान्ड खरिदका लागि प्रस्तावित ठूलो रकम र इरान युद्धमा भइरहेको दैनिक खर्चको उदाहरण दिँदै सरकारी खर्चको प्राथमिकतामाथि प्रश्न उठाइन्। उनले यी विषयलाई अनावश्यक सरकारी खर्चका रूपमा चित्रण गर्दै वासिङ्टन पुग्नेबित्तिकै फजुल खर्च कटौतीका लागि काम गर्ने बताइन्।
महँगीलाई ‘आर्थिक संकट’ को संज्ञा
स्टेल्सनले आफ्नो सम्बोधनको ठूलो हिस्सा सर्वसाधारणले सामना गरिरहेको महँगी र जीवनयापनको खर्चमा केन्द्रित गरिन्। उनका अनुसार किराना सामान, बिजुली तथा अन्य उपयोगिता सेवा, इन्धन र आवासको खर्च बढ्दा परिवारहरू आर्थिक दबाबमा छन्।
उनले हालको अवस्थालाई सामान्य ‘अफोर्डेबिलिटी’ अर्थात् खर्च धान्न कठिन भएको समस्याभन्दा पनि आर्थिक संकटका रूपमा व्याख्या गरिन्।
‘अफोर्डेबिलिटी भनेको गुनासो गर्ने विषय मात्र होइन। आर्थिक संकट भनेको मानिसहरूलाई आफ्नो आवश्यकताबीच छनोट गर्नुपर्ने अवस्था हो,’ उनले भनिन्।
किराना पसलमा मासुको मूल्य महँगो भएको भन्दै एक महिला र सामान राख्ने कर्मचारीबीच भएको विवाद आफूले प्रत्यक्ष सुनेको प्रसंग पनि उनले सुनाइन्। सामान्य कर्मचारीले आफ्नो काम गरिरहेको भए पनि बढ्दो मूल्यका कारण उपभोक्तामा परेको निराशा बुझ्नुपर्ने उनको भनाइ थियो।
घरको ऋणको ब्याजदर, बढ्दो बिजुली तथा उपयोगिता शुल्क र दैनिक उपभोग्य वस्तुको मूल्यले परिवारको बजेट प्रभावित भइरहेको भन्दै उनले व्यापारिक शुल्क अर्थात् ट्यारिफबाट लाग्ने अतिरिक्त कर हटाउन पनि पहल गर्ने बताइन्।
किसानलाई सहयोग र फार्म बिल पारित गर्न पहल
मध्य पेन्सिल्भेनियामा ठूलो संख्यामा परिवारद्वारा सञ्चालित कृषि फार्म रहेको उल्लेख गर्दै स्टेल्सनले किसानका समस्या पनि उठाइन्।
उनका अनुसार डिजेलको मूल्य उच्च हुँदा खेत जोत्न, बाली लगाउन र भित्र्याउन किसानको खर्च बढेको छ। किसानले मौसम र बाली भित्र्याउने समयअनुसार काम गर्नुपर्ने भएकाले इन्धनको महँगीले उनीहरूलाई थप समस्यामा पारेको उनले बताइन्।
‘हामीले हाम्रो टेबलमा खाना आइपुगोस् भनेर काम गर्ने किसानप्रति आभारी हुनुपर्छ। तर उनीहरूलाई पनि केही सहयोग गरौँ,’ उनले भनिन्।
उनले लामो समयदेखि आवश्यक रहेको फार्म बिल अझै पारित हुन नसकेको उल्लेख गर्दै त्यसलाई अघि बढाउन काम गर्ने प्रतिबद्धता जनाइन्।
मेडिकेड र स्वास्थ्य सेवामा कटौती हुन नदिने
स्वास्थ्य सेवामा पहुँच र मेडिकेडको विषयलाई पनि उनले आफ्नो प्राथमिकतामा राखिन्। धेरै अमेरिकी परिवारका लागि उपचार खर्च धान्न कठिन हुँदै गएको र स्वास्थ्य सेवा प्राप्त गर्नसमेत समस्या रहेको उनको भनाइ थियो।
सम्बोधनका क्रममा उनले आफ्नो चुनावी विज्ञापनमा समेटिएको एक परिवारको उदाहरण दिइन्। उक्त परिवारका ३८ वर्षीय छोरालाई अस्पताल लगिएपछि उनी पक्षाघातको अवस्थामा फर्किएको र बोल्नसमेत नसक्ने भएको प्रसंग उनले सुनाइन्। परिवारले उनको हेरचाहका लागि आवश्यक सहयोग र सुविधा पाउन संघर्ष गर्नुपरेको उनले बताइन्।
‘यी हाम्रा साथी र छिमेकी हुन्। हामीले नचिनेका मानिस होइनन्। उनीहरू पनि मेहनत गरेर काम गर्ने परिवार हुन्,’ उनले भनिन्।
सामाजिक सुरक्षा र स्वास्थ्य सेवाका लागि छुट्याइएको रकमको दुरुपयोग भए त्यसलाई नियन्त्रण गर्नुपर्ने भए पनि वास्तविक आवश्यकतामा रहेका मानिसले पाउनुपर्ने सुविधा रोक्न नहुने उनको तर्क थियो।
सामाजिक सुरक्षाको उमेर र सुविधा नघटाउने प्रतिबद्धता
सामाजिक सुरक्षालाई उनले नागरिक र सरकारबीचको दीर्घकालीन सम्झौताका रूपमा व्याख्या गरिन्। मानिसहरूले जीवनभर काम गरेर कर तिरेपछि अवकाशको समयमा सम्मानपूर्वक जीवन बिताउन पाउनुपर्ने उनको भनाइ थियो।
‘यो अमेरिकासँग तपाईंहरूले गरेको सम्झौता हो। तपाईंहरूले जीवनभर योगदान गर्नुभएको छ र अवकाशपछि सम्मानपूर्वक जीवन बिताउने आशा गर्नुभएको छ। अमेरिकाले आफ्नो सम्झौता पूरा गर्नुपर्छ,’ उनले भनिन्।
उनले सामाजिक सुरक्षा प्राप्त गर्ने उमेर बढाउने, नागरिकले पाउने सुविधा घटाउने वा त्यसका लागि कर बढाउने पक्षमा आफू नरहेको स्पष्ट पारिन्।
सांसदको कार्यकाल १२ वर्षमा सीमित गर्ने प्रस्ताव
वासिङ्टनको राजनीतिक भ्रष्टाचार र सांसदहरूको व्यक्तिगत स्वार्थलाई पनि स्टेल्सनले सम्बोधनमा उठाइन्।
उनले कंग्रेस सदस्यका लागि कार्यकालको सीमा निर्धारण, उमेरसम्बन्धी सीमा, सांसदहरूले सेयर किनबेच गर्दा विशेष सूचना प्रयोग गर्न नपाउने व्यवस्था र कंग्रेस छाडेपछि तत्काल लबिइङ व्यवसायमा प्रवेश गर्ने अभ्यास नियन्त्रण गर्नुपर्ने बताइन्।
‘मलाई अर्को पटक पनि निर्वाचित हुने अवसर मिल्यो भने पनि म जम्मा १२ वर्ष मात्र सेवा गर्ने व्यक्ति हुँ,’ उनले भनिन्।
उनका अनुसार निर्वाचित प्रतिनिधिहरूले आफ्नो पद र पहुँच प्रयोग गरेर व्यक्तिगत आर्थिक लाभ लिनु हुँदैन। सांसदहरूले सार्वजनिक हितभन्दा आफ्ना पुराना साथी, व्यावसायिक सम्बन्ध र लबिइङ समूहको स्वार्थलाई प्राथमिकता दिने अवस्था अन्त्य हुनुपर्ने उनको भनाइ थियो।
‘मेरो अभियान कुनै एउटा पार्टीका लागि थिएन’
स्टेल्सनले आफ्नो चुनावी अभियानलाई कुनै एउटा राजनीतिक दलको अभियानका रूपमा मात्र नहेर्न आग्रह गरिन्।
‘हाम्रो अभियान एउटा पार्टीका लागि थिएन। यो जनताको कुरा सुन्ने, शिष्टता, सामान्य समझदारी र वास्तविक आवश्यकताका विषयमा केन्द्रित थियो,’ उनले भनिन्।
उनले सेन्ट्रल पेन्सिल्भेनियाका डाउफिन, कम्बरल्यान्ड र योर्क काउन्टीका मतदाताले आफूहरूमाथि देखाएको विश्वासप्रति आभार व्यक्त गरिन्। अभियानका क्रममा जनताबाट सुनेका कुरा अब व्यवहारमा उतार्ने समय आएको उनको भनाइ थियो।
‘हामीले तपाईंहरूको कुरा सुन्यौँ। तपाईंहरूले के भन्नुभयो भन्ने बुझ्यौँ। अब त्यसअनुसार काम गर्नेछौँ,’ उनले भनिन्।
स्टेल्सनले आफ्नो अभियानका कर्मचारी र स्वयंसेवक, स्थानीय नेताहरू, सिनेटर प्याटी किम, गभर्नर जोस शापिरो तथा समर्थकहरूलाई धन्यवाद दिइन्। ९१ वर्षीया आमाको उपस्थितिलाई विशेष रूपमा उल्लेख गर्दै उनले आमालाई आफूले गर्व महसुस गराउन सकेको बताइन्।
अन्त्यमा उनले आफ्नो जीवनको सबैभन्दा ठूलो सम्मान जनताको कुरा सुन्न पाउनु भएको बताउँदै उनीहरूका कथा र आवाज अमेरिकी कंग्रेससम्म पुर्याएर प्रतिनिधित्व गर्ने प्रतिबद्धता दोहोर्याइन्।
‘म तपाईंहरूको आवाज कंग्रेसका सभाहलसम्म लैजानेछु र तपाईंहरूका लागि काम गर्न सक्दो प्रयास गर्नेछु,’ उनले भनिन्।



















