अमेरिकाको ईबी–५ भिसा कार्यक्रममा शुल्क वृद्धि, नोभेम्बर ३० देखि नयाँ नियम लागू हुने
कार्लाल, पेन्सिलभेनिया / अमेरिकाको ईबी–५ आप्रवासी लगानीकर्ता भिसा कार्यक्रमअन्तर्गत आवेदन दिने विदेशी लगानीकर्ताले अब बढी आवेदन शुल्क तिर्नुपर्ने भएको छ।
अमेरिकी गृह सुरक्षा विभाग ‘डीएचएस’ ले ल्याएको नयाँ नियमअनुसार केही आवेदन प्रक्रियामा समेत परिवर्तन गरिने भएको छ।
अमेरिकी नागरिकता तथा आप्रवासन सेवा ‘यूएससीआईएस’ मार्फत कार्यान्वयन हुने नयाँ नियमले लगानीकर्ताका आवेदन, यसअघि नै कार्यक्रममा सहभागी भएका केही लगानीकर्ता तथा ईबी–५ कार्यक्रमअन्तर्गत सञ्चालन हुने क्षेत्रीय केन्द्रहरूलाई समेत प्रभाव पार्नेछ।
संशोधित शुल्क सन् २०२६ नोभेम्बर ३० देखि लागू हुनेछन्।
ईबी–५ भिसा कार्यक्रम विदेशी लगानीकर्तालाई अमेरिकामा स्थायी बसोबासको अनुमति अर्थात् ग्रिन कार्ड प्राप्त गर्ने अवसर प्रदान गर्ने कार्यक्रम हो। यस कार्यक्रमअन्तर्गत योग्य विदेशी लगानीकर्ताले तोकिएको व्यवसायमा कम्तीमा १० लाख ५० हजार अमेरिकी डलर लगानी गर्नुपर्ने हुन्छ।
लक्षित रोजगारी क्षेत्र वा पूर्वाधार परियोजनामा लगानी गर्ने योग्य आवेदकका लागि न्यूनतम लगानी रकम ८ लाख अमेरिकी डलर तोकिएको छ। साथै, लगानीबाट कम्तीमा १० वटा पूर्णकालीन रोजगारी सिर्जना गर्नुपर्ने व्यवस्था छ।
अमेरिकी नागरिकता तथा आप्रवासन सेवा ‘यूएससीआईएस’ आप्रवासनसम्बन्धी लाभ तथा सेवाहरू प्रदान गर्ने सरकारी निकाय हो। यस निकायको सञ्चालन खर्चको ठूलो हिस्सा कंग्रेसबाट विनियोजित बजेटको सट्टा आवेदन तथा सेवाबापत उठाइने शुल्कबाट जुटाइन्छ।
गृह सुरक्षा विभागका अनुसार, ईबी–५ कार्यक्रम सञ्चालन तथा व्यवस्थापन गर्दा लाग्ने खर्च असुल गर्ने उद्देश्यले शुल्कमा परिवर्तन गरिएको हो।
नयाँ नियमले ईबी–५ कार्यक्रममार्फत अमेरिकामा लगानी गर्न चाहने विदेशी नागरिक, पहिले नै आवेदन दिएका केही लगानीकर्ता तथा क्षेत्रीय केन्द्रहरूलाई असर पार्न सक्ने भएकाले सम्बन्धित आवेदकहरूले नयाँ शुल्क र आवेदन प्रक्रियाबारे जानकारी लिनुपर्ने देखिन्छ।
















