अमेरिकामा गैरनागरिक मतदानको अनुसन्धान तीव्र, ट्रम्प प्रशासनद्वारा डेमोक्रेटिक प्रभाव भएका राज्यहरू निशानामा
कार्लाल, पेन्सिलभेनिया / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अमेरिकी नागरिक नभएका व्यक्तिहरूले गैर कानुनी रूपमा मतदान गरेको प्रमाण खोज्ने प्रयासलाई तीव्र बनाउँदै कम्तीमा १३ राज्यमा १०० भन्दा बढी कानुनी आदेश ‘सबपोना’ जारी गरेको छ।
आगामी मध्यावधि निर्वाचनको पूर्व सन्ध्यामा प्रशासनले दशौँ हजार मतदातासम्बन्धी अभिलेख माग गरेको हो। रोयटर्सले गरेको अनुसन्धानअनुसार, अधिकांश ‘सबपोना’ पछिल्ला तीन महिनामा राज्य तथा स्थानीय निर्वाचन अधिकारीहरूलाई जारी गरिएका हुन्।
केही भने यस वर्षको सुरुदेखि नै जारी हुँदै आएका थिए। यी मध्ये धेरै आदेशबारे यसअघि सार्वजनिक जानकारी थिएन। यसले गैरनागरिक मतदाताको पहिचान गर्न संघीय सरकारले सञ्चालन गरिरहेको अभियान सार्वजनिक रूपमा थाहा भएको भन्दा व्यापक रहेको देखाएको छ।
अमेरिकाको संघीय निर्वाचनमा गैर नागरिकले मतदान गर्नु गैर कानुनी हो। कानुनी विज्ञहरूका अनुसार गैर नागरिक मतदान व्यापक रूपमा भइरहेको भन्ने दाबीलाई समर्थन गर्ने प्रमाण अत्यन्त सीमित छन्। उनीहरूले प्रशासनले सङ्कलन गरिरहेको विवरण निकट प्रतिस्पर्धा भएका निर्वाचनको नतिजालाई चुनौती दिन प्रयोग हुन सक्ने चिन्ता व्यक्त गरेका छन्।
रोयटर्सले सार्वजनिक अभिलेख माग तथा राज्य र स्थानीय अधिकारीहरूसँगको अन्तर्वार्तामार्फत यी ‘सबपोना’बारे जानकारी सङ्कलन गरेको हो।
धेरै आदेश डेमोक्रेटिक पार्टीको प्रभाव बलियो रहेका मिनियापोलिस, फिलाडेल्फिया, लस एन्जलस र क्यालिफोर्नियाका अन्य सहरमा जारी गरिएका छन्। त्यस्तै, टेक्सास, कन्सास र जर्जियाजस्ता रिपब्लिकन पार्टीको प्रभाव रहेका तथा प्रतिस्पर्धात्मक निर्वाचन हुने राज्यहरूमा पनि यस्ता आदेश पुगेका छन्।
रोयटर्सले पहिचान गरेका ‘सबपोना’ मध्ये कम्तीमा ४९ वटा ग्रान्ड जुरीको अधिकारअन्तर्गत जारी गरिएका थिए।
यसले ती आदेश आपराधिक अनुसन्धानसँग सम्बन्धित रहेको सङ्केत गर्छ। सामान्यतया संघीय निकायले प्रत्यक्ष जारी गर्ने प्रशासनिक आदेशको तुलनामा ग्रान्ड जुरीका आदेशलाई अदालतमा चुनौती दिन कठिन हुन सक्छ।
ह्वाइट हाउसले गैर नागरिक मतदानलाई गम्भीर समस्या भन्दै त्यसको पहिचान र दोषीमाथि कानुनी कारबाही गर्न व्यापक संघीय अभियान आवश्यक रहेको बताएको छ। यस अभियानअन्तर्गत सयौँ संघीय कानुन कार्यान्वयन अधिकारी परिचालन गरिएको प्रशासनको भनाइ छ।
ह्वाइट हाउसले यो विषयलाई आफ्नो प्रमुख प्राथमिकतामध्ये एक बनाइराख्ने प्रतिबद्धता जनाएको छ।
रोयटर्सलाई दिएको लिखित प्रतिक्रियामा ह्वाइट हाउसकी प्रवक्ता लरेन बिसले भनिन्, “ट्रम्प प्रशासनले अमेरिकी निर्वाचनमा गैर कानुनी रूपमा मतदान गर्ने जोसुकैलाई पनि जवाफ देही बनाइने स्पष्ट सन्देश दिइरहेको छ। अमेरिकाका नेताहरू चुन्ने अधिकार अमेरिकी नागरिकलाई मात्र हुनुपर्छ।”
यद्यपि, विभिन्न अध्ययन र रोयटर्सको विश्लेषणले गैर नागरिकले अमेरिकी निर्वाचनमा मतदान गर्ने घटना अत्यन्त दुर्लभ रहेको देखाएका छन्।
‘सबपोना’ गैर नागरिक मतदानलाई लक्षित गरी सञ्चालन गरिएको व्यापक अभियानको एउटा हिस्सा मात्र हो। यसअघि होमल्यान्ड सेक्युरिटी विभागका सशस्त्र अधिकारीहरूले विभिन्न राज्यमा बासिन्दाहरूलाई उनीहरूको आप्रवासन स्थिति र मतदानसम्बन्धी विषयमा सोधपुछ गरेका थिए।
त्यस्तै, संवेदनशील व्यक्तिगत विवरण समावेश भएका मतदाता सूची उपलब्ध गराउन अस्वीकार गरेका ३० राज्यविरुद्ध न्याय विभागले मुद्दा दायर गरेको छ। ती विवरणमा चालक अनुमति पत्र नम्बर र सामाजिक सुरक्षा नम्बरका केही अङ्कसमेत समावेश छन्।
अक्टोबर २१ मा एक संघीय न्यायाधीशले ९ राज्यमा होमल्यान्ड सेक्युरिटी विभागले सञ्चालन गरिरहेका स्थलगत गतिविधिमाथि अधिकांश रूपमा रोक लगाएका थिए।
मतदाता सूची उपलब्ध गराउने विषयमा न्याय विभागले दायर गरेका मुद्दाहरूमा पनि अहिलेसम्म अदालतहरूले सरकारको मागविरुद्ध फैसला दिएका छन्। तीमध्ये धेरै मुद्दा पुनरावेदनको प्रक्रियामा छन्।
न्याय विभाग र होमल्यान्ड सेक्युरिटी विभागले जारी गरेका ‘सबपोना’ले मतदातासम्बन्धी उही विवरण प्राप्त गर्ने अर्को बाटो उपलब्ध गराउँछन्। कानुनी विज्ञहरूका अनुसार, यी विवरण आगामी मध्यावधि निर्वाचनको नतिजामाथि हुने विवादमा प्रयोग हुन सक्छन्।
अमेरिकामा निर्वाचन सञ्चालन गर्ने मुख्य जिम्मेवारी राज्य सरकारहरूको हुन्छ भने संघीय सरकारको भूमिका सीमित हुन्छ।
अधिकांश राज्यका कानुनअनुसार निर्वाचनको नतिजालाई चुनौती दिन पराजित उम्मेदवार वा मतदाताले प्रक्रिया अघि बढाउन सक्छन्। न्याय विभागले विजयी उम्मेदवारको नतिजा प्रमाणीकरण प्रक्रिया ढिल्याउन वा रोक्न कानुनी कदम चाल्ने प्रयास गर्न सक्ने विज्ञहरू बताउँछन्।
यता, डेमोक्रेटिक पार्टीको बलियो प्रभाव रहेको क्यालिफोर्नियाले यस्तो विवाद कसरी अघि बढ्न सक्छ भन्ने सङ्केत दिएको छ। अमेरिकी प्रतिनिधिसभामा कुन पार्टीको नियन्त्रण रहने भन्ने निर्धारण गर्न क्यालिफोर्नियाका केही निर्वाचन क्षेत्रका नतिजा निर्णायक हुन सक्छन्।
यसै महिना न्याय विभागले क्यालिफोर्नियामा २० हजारभन्दा बढी सम्भावित गैर नागरिकले हुलाकमार्फत मतदान गर्ने मतपत्र प्राप्त गरेको आरोप लगाएको थियो।
विभागले उनीहरूको नागरिकता पुष्टि नभएसम्म उनीहरूले मतदान गरेका मतपत्र गणना नगर्न माग गरेको थियो।
क्यालिफोर्नियाका अधिकारीहरूले उक्त माग अस्वीकार गर्दै सूचीको विश्वसनीयतामाथि प्रश्न उठाएका थिए। उनीहरूका अनुसार, सूचीमा रहेका व्यक्तिमध्ये २०० जनाको मतदाता दर्ता विवरण जाँच गर्दा झन्डै ४० प्रतिशत व्यक्ति अमेरिकामै जन्मिएका नागरिक भएको देखिएको थियो।
न्याय विभागले गैर नागरिक मतदानसम्बन्धी अनुसन्धानमा सबपोना प्रयोग गरिएको छ वा छैन भन्ने पुष्टि गर्न अस्वीकार गरेको छ।
विभागले प्रमाणले जहाँ पुर्याउँछ, त्यहीअनुसार कानुन कार्यान्वयन गर्ने जनाएको छ। होमल्यान्ड सेक्युरिटी विभागले भने यस विषयमा सोधिएका प्रश्नको जवाफ दिएको छैन।
















