भोट दिन झुटो दावी गरेको आरोपमा भारतीय नागरिक विरुद्ध अभियोग
मिनेसोटा, अमेरिका / अमेरिकी नागरिक नभए पनि सन् २०२४ को आमनिर्वाचनमा मतदान गर्न आफू अमेरिकी नागरिक भएको झूटो दाबी गरेको आरोपमा एक भारतीय नागरिकविरुद्ध दुईवटा संघीय अभियोग दर्ता गरिएको छ।
अमेरिकी न्याय मन्त्रालयको नागरिक अधिकार विभागले सेप्टेम्बर १०, २०२६ मा जारी गरेको विज्ञप्तिअनुसार, मुकेशकुमार सोमाभाई चौधरीविरुद्ध मिनेसोटा राज्यको संघीय ग्रान्ड जुरीले दुईवटा अभियोग दर्ता गरेको हो। उनीमाथि जानाजानी अमेरिकी नागरिक भएको झूटो दाबी गरेर मतदान गरेको आरोप छ।
अभियोगपत्रअनुसार, चौधरीले नोभेम्बर ५, २०२४ मा भएको आमनिर्वाचनमा मतदान गर्न मिनेसोटा राज्यको कानुनले आवश्यक ठहर गरेको मतदाता हस्ताक्षर प्रमाणपत्रमा हस्ताक्षर गरेका थिए। उक्त प्रमाणपत्रमा हस्ताक्षर गर्दा आफू अमेरिकी नागरिक भएको शपथ लिन वा त्यसको पुष्टि गर्नुपर्ने व्यवस्था थियो।
चौधरी अमेरिकी नागरिक नभएको र मतदान गर्नकै लागि आफू अमेरिकी नागरिक भएको झूटो घोषणा गरेको अभियोगपत्रमा उल्लेख छ।
अमेरिकी न्याय मन्त्रालयको नागरिक अधिकार विभागका सहायक महान्यायाधिवक्ता हरमीत के. ढिल्लनले मतदानलाई अमेरिकी नागरिकताको महत्त्वपूर्ण अधिकारका रूपमा उल्लेख गर्दै नागरिकता नभई मतदान गर्न झूटो दाबी गर्ने व्यक्तिलाई जवाफदेही बनाइने बताएकी छन्।
उनले निर्वाचनको विश्वसनीयता कायम राख्न मतदान गर्न योग्य नागरिकले मात्र मत खसाल्ने र प्रत्येक वैध मत गणना हुने सुनिश्चित गर्नुपर्ने बताइन्।
चौधरीविरुद्ध मतदानसम्बन्धी गलत जानकारी दिएको र मतदाता दर्ता गर्न वा मतदान गर्न अमेरिकी नागरिक भएको झूटो दाबी गरेको आरोपमा मुद्दा दर्ता गरिएको छ। दुवै अभियोगमा दोषी ठहर भएमा प्रत्येक अभियोगमा अधिकतम पाँच वर्षसम्म कैद सजाय हुन सक्छ। सम्भावित सजाय निर्धारण गर्दा संघीय अदालतका न्यायाधीशले अमेरिकी सजाय निर्देशिका तथा कानुनमा उल्लेखित अन्य आधारलाई विचार गर्नेछन्।
मामिलाको अनुसन्धान इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस) अन्तर्गतको होमल्यान्ड सेक्युरिटी इन्भेस्टिगेसन्स (एचएसआई) ले फिलमोर काउन्टी शेरिफ कार्यालयको सहयोगमा गरिरहेको छ। अमेरिकी न्याय मन्त्रालयको नागरिक अधिकार विभागअन्तर्गतको फौजदारी शाखाका अभियोजनकर्ता फ्लाभियो अब्रेउ र विलियम रुबेन्सले मुद्दा अघि बढाइरहेका छन्।
















