अमेरिकाको भर्मन्टमा श्रीमानको कुटपिटबाट निधन भएकी लिला दर्जीका तीन सन्तानका लागि सहयोग आह्वान
बर्लिङ्टन, भर्मन्ट / अमेरिकाको भर्मन्ट राज्यस्थित बर्लिङ्टनमा अक्टोबर ११, २०२६ मा घरेलु हिंसाको घटनापछि ज्यान गुमाएकी लिला दर्जीका तीन सन्तानको सहयोगका लागि आर्थिक सहयोग अभियान सञ्चालन गरिएको छ।
लिलाको हत्याको आरोपमा उनका ४४ वर्षीय श्रीमान् बल खड्का पक्राउ परेका छन्। खड्का माथि दोस्रो तहको हत्या र बालबालिकामाथि क्रूरतासम्बन्धी तीनवटा अभियोग लगाइएको छ।
लिलाका पारिवारिक मित्रले सुरु गरेको आर्थिक सहयोग अभियानबाट उनका २० वर्षीय छोरा अर्पण दर्जी तथा १० वर्षीया सुभास्ना खड्का र तीन वर्षीया सुहाना खड्कालाई सहयोग गर्ने लक्ष्य राखिएको छ।
आमाको निधनपछि तीनै सन्तानको जीवनमा ठूलो संकट आइपरेको जनाइएको छ। अझ दुःखद पक्ष, लिलाका दुई साना छोरीले आफ्नै आमाको ज्यान जाने हिंसात्मक घटना प्रत्यक्ष देख्नुपरेको अभियानमा उल्लेख छ।
२० वर्षीय अर्पणले आमाको निधनको पीडा सहँदै आफ्ना दुई साना बहिनीको भविष्यबारे पनि चिन्ता गर्नुपरेको पनि उल्लेख गरिएको छ। बाल्यकालमै आमाको माया, हेरचाह र संरक्षण गुमाएका सुभास्ना र सुहानालाई अब नयाँ परिस्थितिमा जीवन अघि बढाउन सहयोग आवश्यक रहेको जनाइएको छ।
अभियानबाट संकलित रकम बालबालिकाको दैनिक जीवनयापन, खाना, लत्ताकपडा, आवाससम्बन्धी खर्च, भावनात्मक सहयोग, परामर्श सेवा तथा आगामी दिनमा आइपर्न सक्ने अन्य आवश्यकतामा खर्च गरिनेछ।
“लिलालाई फर्काउन वा बालबालिकाको पीडा हटाउन नसकिए पनि उनीहरूले यो कठिन यात्रा एक्लै पार गर्न नपरोस् भन्नका लागि समुदायले साथ दिन सक्छ,” अभियानको सन्देशमा भनिएको छ।
बर्लिङ्टन प्रहरीका अनुसार अक्टोबर १०, २०२६ को बिहान करिब ५ बजेर ४८ मिनेटमा साउथ च्याम्पलेन स्ट्रिटस्थित एक अपार्टमेन्टमा झगडा भइरहेको र एम्बुलेन्स आवश्यक परेको भन्दै ९११ मा फोन आएपछि प्रहरी घटनास्थल पुगेको थियो।
प्रहरीले त्यहाँ लिलालाई शय्यामा अचेत अवस्थामा र टाउकोमा गम्भीर चोट लागेको अवस्थामा फेला पारेको थियो। उनलाई युनिभर्सिटी अफ भर्मन्ट मेडिकल सेन्टर लगिएको थियो। उपचारका क्रममा अक्टोबर ११ को साँझ करिब ७ बजेर ७ मिनेटमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
अदालतमा पेस गरिएको प्रहरी प्रतिवेदनअनुसार श्रीमान् बल खड्काले ठूलो टर्चलाइटले लिलाको टाउकोमा पटकपटक प्रहार गरेको आरोप छ।
अनुसन्धानकर्ताहरूका अनुसार घटनाका बेला घरमा दुई छोरी र उनीहरूसँगै रात बिताउन आएकी १० वर्षीया साथी पनि उपस्थित थिए।
अदालती कागजातमा उल्लेख भएअनुसार, दुई बालिकाले आफ्ना बुबाले आमामाथि प्रहार गरेको देखेको बताएका छन्। उनीहरूमध्ये एकले मोबाइल फोनमा घटनासँग सम्बन्धित आवाजसमेत रेकर्ड गरेकी थिइन्।
प्रहरीका अनुसार घटनाका बेला एक १० वर्षीया बालिका घरबाट झ्याल हुँदै बाहिर निस्किएकी थिइन्। उनी रोइरहेको र अत्यन्तै आत्तिएको अवस्थामा भेटिएकी थिइन्। उनले आफ्ना बुबाले आमालाई कुटिरहेको र सहयोग आवश्यक रहेको प्रहरीलाई बताएकी थिइन्।
अदालती अभिलेखअनुसार, बल खड्कामाथि सन् २०२० मा पनि घरेलु हिंसासम्बन्धी गम्भीर अभियोग लागेको थियो। तर, लिलाले अभियोजन प्रक्रियामा सहभागी हुन र बयान दिन नचाहेपछि प्रमाणित गर्न कठिन भएको भन्दै अभियोजन पक्षले सन् २०२१ मा उक्त मुद्दा फिर्ता लिएको थियो।
अक्टोबर १३ मा चिटेन्डन काउन्टीको सुपेरियर अदालतमा उपस्थित गराइएका बल खड्काले दोस्रो तहको हत्या र बालबालिकामाथि क्रूरतासम्बन्धी तीनवटै अभियोगमा आफू निर्दोष रहेको बताएका छन्।
अदालतले उनलाई जमानतबिना हिरासतमा राख्ने आदेश दिएको छ। उनी अहिले सेन्ट अल्बान्सस्थित नर्थवेस्ट स्टेट करेक्सनल फ्यासिलिटीमा हिरासतमा रहेको सार्वजनिक अभिलेखमा उल्लेख छ। उनको अर्को अदालतको सुनुवाइ अक्टोबर २६ का लागि तय गरिएको छ।
हत्या अभियोग प्रमाणित भएमा उनलाई आजीवन कारावाससम्मको सजाय हुन सक्ने अभियोजन पक्षले जनाएको छ। यद्यपि, मुद्दाको अन्तिम फैसला भइसकेको छैन र उनीमाथिका आरोप अदालतबाट प्रमाणित हुन बाँकी छन्।
लिलाका सन्तानलाई सहयोग गर्न यहाँ क्लिक गर्नु होला ।

















