नेपाली कांग्रेस देउवा पक्षले प्रमोद सिटौलालाई अमेरिकाको संयोजक तोक्यो
ल्यानक्यास्टर, पेन्सिल्भेनिया / नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा सभापतिमा निर्वाचित भइसके पनि पूर्व सभापति शेरबहादुर देउवा पक्षले छुट्टै महाधिवेशनको तयारी अघि बढाएको छ। यसै क्रममा देउवा पक्षले नेपाली जनसम्पर्क समिति अमेरिकाको संयोजकमा प्रमोद सिटौलालाई मनोनीत गरेको छ।
नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन तयारी समिति संयोजक प्रा.डा. शशांक कोइरालाले सिटौलालाई पठाएको पत्रमा अमेरिकामा जनसम्पर्क समितिको अधिवेशन गराउन भनिएको छ ।
गत पुसमा काठमाडौंमा भएको विशेष महाधिवेशनले गगन थापालाई सभापतिमा चयन गरेको थियो। उक्त विशेष महाधिवेशनलाई देउवा पक्षले स्वीकार गरेको छैन ।
सभापति गगन थापाले गर्न लागेको १५ औ महाधिवेशन रोक्न माग गर्दै देउवा पक्ष अदालत पुगेको थियो। तर सर्वोच्च अदालतले तत्काल कुनै आदेश नदिए पछि भएको १५ औ महाधिवेशनले थापालाई पुन निर्वाचित गरेको हो ।
देउवा पक्षले छुट्टै संगठनात्मक गतिविधि अघि बढाउँदै आफ्नो पक्षबाट महाधिवेशनको तयारी अघि बढाउन विदेशस्थित जनसम्पर्क समितिहरूमा संयोजक तोक्न थालेको हो।
शुक्रबार जुममार्फत बैठक, त्यसपछि च्याप्टर गठन
संयोजकमा मनोनीत भएपछि समाज टाइम्ससँग कुरा गर्दै सिटौलाले शुक्रबार जुममार्फत सार्वजनिक बैठक आयोजना गर्ने तयारी रहेको बताए। नियमित महाधिवेशनलाई सहयोग गर्ने विषयमा छलफल गरेपछि च्याप्टर गठनको प्रक्रिया अघि बढाउने उनको भनाइ छ।
“अहिले भएकाले समर्थन गर्नुभयो भने त्यहाँ च्याप्टर बनाएर नयाँ नेतृत्व ल्याएर नयाँ कमिटी र महाधिवेशन प्रतिनिधि चयन गर्छौँ,” सिटौलाले भने।
उनले पार्टीले दिएको समयसीमाभन्दा पहिले नै संगठनात्मक प्रक्रिया पूरा गर्ने योजना रहेको बताए। क्रियाशील सदस्यहरूबाट अधिवेशन गरेर नेतृत्व र महाधिवेशन प्रतिनिधि चयन गर्ने उनको भनाइ छ।
अमेरिकामा यसअघि नेपाली जनसम्पर्क समिति अमेरिकाको तेस्रो महाधिवेशन भर्जिनियामा सम्पन्न भएको थियो। उक्त महाधिवेशनमा सभापति पदमा मुनीन्द्र नेम्वाङ विजयी भएका थिए। उनले सीपी पौडेललाई पराजित गरेका थिए।
पौडेलद्वारा सिटौलालाई बधाई
भर्जिनियामा सम्पन्न तेस्रो महाधिवेशनमा नेम्वाङसँग सभापति पदमा पराजित भएका सीपी पौडेलले सिटौला संयोजकमा मनोनीत भएकोमा सामाजिक सञ्जालमार्फत बधाई दिएका छन्।
पौडेलले सिटौलालाई नेपाली जनसम्पर्क समिति अमेरिकाका संस्थापक नेता, सामाजिक व्यक्तित्व तथा आदरणीय मित्रका रूपमा उल्लेख गर्दै सफल र ऐतिहासिक कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
“तपाईँ जस्तो प्रखर सामाजिक अभियन्ता र दूरदर्शी नेताले संगठनको नेतृत्व सम्हाल्नु सम्पूर्ण प्रवासी नेपालीहरूका लागि गौरवको कुरा हो,” पौडेलले लेखेका छन्।
उनले सिटौलाको नेतृत्वमा संगठनले नयाँ ऊर्जा, गतिशीलता र उचाइ प्राप्त गर्ने विश्वाससमेत व्यक्त गरेका छन्।

















