अमेरिकी मध्यावधि चुनाव : बहुमतको लडाइँ कुन राज्यमा निर्णायक बन्ला ?
गोबिन्द गुरुङ ‘लेक्स’
कार्लाल, पेन्सिलभेनिया
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बाँकी कार्यकालको राजनीतिक दिशा निर्धारण गर्ने महत्त्वपूर्ण मध्यावधि चुनाव आगामी नोभेम्बर ३ तारिखमा हुँदैछ।
देशभर संघीय, राज्य तथा स्थानीय तहमा हजारौँ पदका लागि प्रतिस्पर्धा भइरहे पनि मतदाताको मुख्य ध्यान अमेरिकी कङ्ग्रेसका दुई सदन प्रतिनिधिसभा र सिनेटमा केन्द्रित रहेको छ ।
हाल दुवै सदनमा राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टीको नियन्त्रण रहेको छ। यसपटकको चुनावमा रिपब्लिकन पार्टीले आफ्नो बहुमत कायम राख्ने वा विपक्षी डेमोक्रेटिक पार्टीले कङ्ग्रेसको नियन्त्रण फिर्ता लिने भन्ने निर्णय गर्नेछ।
चुनावी परिणामले राष्ट्रपति ट्रम्पको कार्यकालका अन्तिम दुई वर्षमा उनको प्रशासनले नीति तथा कार्यक्रम अघि बढाउन सक्ने क्षमतामा प्रत्यक्ष प्रभाव पार्नेछ।
यसपटक डेमोक्रेटिक पार्टीले दुवै सदनमा बहुमत हासिल गर्ने लक्ष्य राखेको छ। त्यसका लागि डेमोक्रेटिक पार्टीले पछिल्लो वर्षहरूमा लगातार रिपब्लिकनले जित्दै आएका राज्य तथा निर्वाचन क्षेत्रमा समेत प्रतिस्पर्धा गर्ने रणनीति बनाएको छ।
अमेरिकी कङ्ग्रेसको तल्लो सदन प्रतिनिधिसभामा रिपब्लिकनको बहुमत अत्यन्त साँघुरो छ। उनीहरूसँग २१८ प्रतिनिधि छन्, जुन सदनको नियन्त्रण कायम राख्न आवश्यक सङ्ख्या भन्दा एक बढी हो। एक स्वतन्त्र प्रतिनिधिले पनि उनीहरूलाई समर्थन गर्छन्।
प्रतिनिधिसभाका सदस्यको कार्यकाल दुई वर्षको हुने भएकाले नोभेम्बरमा सबै ४३५ सिटका लागि चुनाव हुँदैछ। यद्यपि, अधिकांश निर्वाचन क्षेत्रमा कुनै एउटा दलको बलियो प्रभाव रहेकाले त्यहाँ प्रतिस्पर्धा सीमित हुने अनुमान छ।
चुनावी विश्लेषण गर्ने संस्था ‘कुक पोलिटिकल’ रिपोर्टले २१ निर्वाचन क्षेत्रलाई दुवै दलले जित्न सक्ने अनिश्चित प्रतिस्पर्धाको सूचीमा राखेको छ। तीमध्ये १५ सिटमा हाल रिपब्लिकन र ६ सिटमा डेमोक्रेटिक प्रतिनिधि छन्।
डेमोक्रेटिक पार्टीले आफ्नो पक्षमा सम्भावित वा तुलनात्मक रूपमा अनुकूल मानिएका २८ निर्वाचन क्षेत्रसहित ती अनिश्चित सिटमध्ये पाँच थप जित्न सके प्रतिनिधिसभामा बहुमत हासिल गर्न सक्ने विश्लेषण गरिएको छ।
ऐतिहासिक तथ्याङ्कले पनि मध्यावधि चुनावमा राष्ट्रपतिको दलले प्रतिनिधिसभामा सिट गुमाउने प्रवृत्ति देखाएको छ । सन् १९३४ यताका २३ मध्यावधि चुनावको तथ्याङ्क अनुसार राष्ट्रपतिको दलले औसतमा २७ सिट गुमाएको छ। तीमध्ये ३ वटा चुनावमा मात्र राष्ट्रपतिको दलले थप सिट जितेको थियो।
यता सिनेटमा रिपब्लिकनको स्थिति प्रतिनिधिसभाको तुलनामा केही बलियो छ। कुल १०० सिटमध्ये रिपब्लिकनसँग ५३, डेमोक्रेटिक पार्टीसँग ४५ र डेमोक्रेटिक पक्षमा मतदान गर्ने दुई स्वतन्त्र सदस्य छन्।
सिनेटका सदस्यको कार्यकाल ६ वर्षको हुने भएकाले प्रत्येक दुई वर्षमा करिब एकतिहाइ सिटका लागि चुनाव हुन्छ। यस पटक ३५ सिटमा प्रतिस्पर्धा हुँदैछ।
‘कुक पोलिटिकल’ रिपोर्टको विश्लेषणअनुसार तीमध्ये ७ सिटमा दुवै दलबिच कडा प्रतिस्पर्धा हुने सम्भावना छ। ती सातमध्ये ६ सिटमा रिपब्लिकन र १ सिटमा डेमोक्रेटिक सदस्य छन्।
डेमोक्रेटिक पार्टीले सिनेटमा ५१ सिटको लक्ष्य हासिल गर्न अनिश्चित प्रतिस्पर्धाका ४ सिट जित्नुका साथै डेमोक्रेटिक पक्षमा जाने सम्भावना रहेका अन्य चार सिट पनि जित्नुपर्ने विश्लेषण छ।
त्यसका लागि डेमोक्रेटिक पार्टीले केही कठिन प्रतिस्पर्धा सामना गर्नुपर्नेछ। मिशिगनमा आफ्नो सिट जोगाउनु डेमोक्रेटिक पार्टीका लागि महत्त्वपूर्ण हुनेछ। त्यहाँ डेमोक्रेटिक उम्मेदवार अब्दुल एल–सेयद र रिपब्लिकन उम्मेदवार माइक रोजर्सबीच प्रतिस्पर्धा रहेको विवरणमा उल्लेख छ।
यसका अतिरिक्त सन् २०२४ को राष्ट्रपतीय चुनावमा ट्रम्पले दोहोरो अङ्कको मतान्तरले जितेका अलास्का, आयोवा र ओहायोजस्ता राज्यमा समेत डेमोक्रेटिक पार्टीले सिट जित्ने प्रयास गर्नुपर्नेछ।
टेक्सासमा पनि प्रतिस्पर्धालाई चासोका साथ हेरिएको छ। त्यहाँ डेमोक्रेटिक उम्मेदवार तथा पूर्वशिक्षक जेम्स टालारिकोले रिपब्लिकन उम्मेदवार र राज्यका वर्तमान महान्यायाधिवक्ता केन प्याक्सटनलाई पराजित गर्न सके सन् १९८८ पछि टेक्सासबाट सिनेट सिट जित्ने पहिलो डेमोक्रेटिक उम्मेदवार बन्न सक्ने विवरणमा उल्लेख छ।
राष्ट्रपति ट्रम्पले सन् २०२४ को चुनावी अभियानमा महँगी अन्त्य गर्ने र अमेरिकी जीवनयापनलाई किफायती बनाउने वाचा गरेका थिए। तर, अहिले दैनिक उपभोग्य वस्तु तथा सेवाको बढ्दो लागत मतदाताका लागि प्रमुख चिन्ताको विषय बनेको छ।
फेब्रुअरी २४ मा राष्ट्रपतिको ‘स्टेट अफ दी युनियन’ सम्बोधनका क्रममा ट्रम्पले अधिकांश राज्यमा पेट्रोलको मूल्य प्रतिग्यालन २.३० डलरभन्दा तल झरेको दाबी गरेका थिए। तर, त्यसको चार दिनपछि इरानसँग युद्ध सुरु भएपछि मध्यपूर्वको ऊर्जा आपूर्तिमा अवरोध आएको र अमेरिकामा पेट्रोलको मूल्य प्रतिग्यालन ४ डलर भन्दा बढीसम्म पुगेको विवरणमा उल्लेख छ।
अर्कोतर्फ, डेमोक्रेटिक उम्मेदवारहरूले स्वास्थ्य बीमाको उच्च लागत तथा ट्रम्प प्रशासनको नीतिले स्वास्थ्य सेवामा पहुँचमा पार्न सक्ने प्रभावलाई प्रमुखताका साथ उठाइरहेका छन्।
नोभेम्बरको चुनावी परिणाम जस्तोसुकै आए पनि त्यसपछि अमेरिकी राजनीतिक ध्यान सन् २०२८ को राष्ट्रपतीय चुनावतर्फ सर्नेछ। अमेरिकी संविधानअनुसार ट्रम्प तेस्रोपटक राष्ट्रपति निर्वाचित हुन पाउने छैनन्।
अहिलेको मध्यावधि चुनावमा राष्ट्रपति ट्रम्पको लोकप्रियता र उनको प्रशासनका नीतिले महत्त्वपूर्ण भूमिका खेलेका छन्। आगामी राष्ट्रपतीय चुनावमा डेमोक्रेटिक पार्टीले ट्रम्पका नीतिको विरोध मात्र नभई आफ्नै नीति, कार्यक्रम र राजनीतिक दृष्टिकोण पनि मतदातासमक्ष प्रस्तुत गर्नुपर्नेछ।
यस अर्थमा, नोभेम्बर ३ को मध्यावधि चुनावले कङ्ग्रेसको बहुमत कसको हातमा रहने भन्ने मात्र होइन, राष्ट्रपति ट्रम्पको बाँकी कार्यकाल र आगामी अमेरिकी राजनीतिक प्रतिस्पर्धाको दिशाबारे पनि महत्त्वपूर्ण सङ्केत दिनेछ।

















