खगेन्द्र सुनारमाथि उठेका आरोपबारे रास्वपाको छानबिन
काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारमाथि सञ्चारमाध्यममा प्रकाशित समाचार तथा सार्वजनिक भएका श्रव्य सामग्रीमा उठाइएका प्रश्नबारे आन्तरिक छानबिन अघि बढाएको छ।
छानबिन निष्कर्षमा नपुग्दासम्म सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको पार्टीले जनाएको छ।
पार्टीले जारी गरेको विज्ञप्तिमा महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेनसम्बन्धी विषय गम्भीर र संवेदनशील रहेको उल्लेख छ। यी विषय सञ्चारमाध्यममा आरोपका रूपमा सार्वजनिक भएको भन्दै पार्टीले तिनलाई सामान्य रूपमा लिन नसकिने स्पष्ट पारेको छ।
विधिको शासन, सुशासन र नागरिक जवाफदेहिताको पक्षमा उभिएको दाबी गर्दै रास्वपाले महिलामाथि हुने दुर्व्यवहार, पदीय मर्यादाको उल्लङ्घन र फौजदारी कसुरका विषयमा आफ्नो शून्य सहनशीलताको नीति रहेको जनाएको छ।
सुनारका सम्बन्धमा उठेका विषयको सत्यतथ्य पत्ता लगाउन पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अघि बढाउन निर्देशन दिइसकिएको विज्ञप्तिमा उल्लेख छ।
अनुसन्धान प्रभावित नहोस् र पदीय नैतिकता कायम रहोस् भन्ने उद्देश्यले छानबिन पूरा नहुँदासम्म औपचारिक कार्यक्रममा सहभागी हुन रोक लगाइएको पार्टीको भनाइ छ।
रास्वपाले राज्यका सम्बन्धित निकायबाट पनि स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान हुने विश्वास व्यक्त गरेको छ। सरकारी निकायबाट हुने अनुसन्धानमा पार्टीले पूर्ण सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएको छ।
‘कानुनभन्दा माथि कोही पनि हुँदैन’ भन्ने लोकतान्त्रिक मान्यतामा पार्टी दृढ रहेको उल्लेख गर्दै रास्वपाले राज्यको अनुसन्धान र पार्टीको आन्तरिक छानबिनबाट प्राप्त निष्कर्षका आधारमा कानुन तथा पार्टी विधानबमोजिम थप कदम चाल्ने जनाएको छ।
आरोप प्रमाणित भएमा कानुन र पदीय आचरणअनुसार प्रक्रिया अघि बढाइने संकेत गर्दै पार्टीले कसैलाई पनि राजनीतिक संरक्षण नदिने स्पष्ट पारेको छ।

















