पेन्सिल्भेनियामा नोभेम्बर ३ मा चुनाव नेपाली भाषीले बुझ्नै पर्ने केही कुरा
अक्टोबर १९ सम्म मतदाता दर्ता, हुलाकबाट भोट हाल्न मतपत्र माग्ने अन्तिम मिति अक्टोबर २७
ल्यानक्यास्टर, पेन्सिल्भेनिया / अमेरिकामा नोभेम्बर ३ तारिख मध्यावधि निर्वाचन हुदै छ । यस चुनावले विभिन्न राज्यका गभर्नर, अमेरिकी कांग्रेसको तल्लो सदन तथा राज्य संसदका विभिन्न पदका लागि मतदान हुने छ ।
पेन्सिल्भेनिया राज्यमा नोभेम्बर ३ को निर्वाचनले राज्यको आगामी नेतृत्व मात्र नभई पेन्सिल्भेनियाको संसद्मा डेमोक्रेटिक र रिपब्लिकन पार्टीमध्ये कुन पक्षको प्रभाव रहने भन्ने पनि निर्धारण गर्नेछ।
निर्वाचनमा सहभागी हुन योग्य तर मतदाता सूचीमा नाम दर्ता नगरेका व्यक्तिले अक्टोबर १९, २०२६ सम्म नाम दर्ता गरिसक्नुपर्नेछ। हुलाकबाट मतदान गर्न चाहने दर्ता भएका मतदाताले भने अक्टोबर २७ साँझ ५ बजेसम्म मेल–इन वा एब्सेन्टी ब्यालेटको आवेदन सम्बन्धित काउन्टी निर्वाचन कार्यालयमा पुग्ने गरी बुझाउनुपर्नेछ।
पेन्सिल्भेनिया राज्यको निर्वाचन विभागका अनुसार नोभेम्बर ३ मा मतदान केन्द्रहरू बिहान ७ बजेदेखि राति ८ बजेसम्म खुला रहनेछन्। योग्य मतदाताले आफ्नो तोकिएको मतदान केन्द्रमा गएर वा आवश्यक प्रक्रिया पूरा गरी हुलाकबाट मतदान गर्न सक्नेछन्।
मतदाता नामावलीमा नाम दर्ता कसरी गर्ने?
पेन्सिल्भेनियामा मतदान गर्न सबैभन्दा पहिले मतदाता सूचीमा नाम दर्ता भएको हुनुपर्छ। नाम दर्ता गर्न अनलाइन, हुलाक वा तोकिएका सरकारी कार्यालयमार्फत आवेदन दिन सकिन्छ।
नाम दर्ता गर्ने अन्तिम मिति: सोमबार, अक्टोबर १९, २०२६।
अनलाइनबाट नाम दर्ता गर्न राज्य सरकारको आधिकारिक वेबसाइट प्रयोग गर्न सकिन्छ:
- मतदाता दर्ता: https://www.pa.gov/agencies/vote/voter-registration.html
- मतदाता दर्ताको अवस्था जाँच: https://www.pavoterservices.pa.gov/pages/voterregistrationstatus.aspx
- आधिकारिक निर्वाचन सूचना: https://vote.pa.gov/
नाम दर्ता गर्दा आफ्नो कानुनी नाम, आवासीय ठेगाना र आवश्यक पहिचानसम्बन्धी विवरण सही रूपमा भर्नुपर्छ। आवेदन बुझाएपछि दर्ता पूरा भएको छ कि छैन भनेर अनलाइन जाँच गर्नु उपयुक्त हुन्छ।
पहिले नै दर्ता भएका मतदाताले फेरि नाम दर्ता गर्नुपर्दैन। तर नाम, ठेगाना वा पार्टीसम्बन्धी विवरण परिवर्तन भएको छ भने मतदाता अभिलेख अद्यावधिक गर्नुपर्छ।
को मतदान गर्न योग्य छन्?
पेन्सिल्भेनिया राज्यको निर्वाचन विभागले तोकेका प्रमुख योग्यता यस्ता छन्:
- अमेरिकी नागरिक भएको हुनुपर्छ।
- निर्वाचनको दिन अर्थात् नोभेम्बर ३ सम्म कम्तीमा १८ वर्ष उमेर पुगेको हुनुपर्छ।
- आफूले दर्ता गर्न चाहेको निर्वाचन क्षेत्रमा आवश्यक आवासीय अवधि पूरा गरेको हुनुपर्छ।
- मतदाता नामावलीमा दर्ता भएको हुनुपर्छ।
महत्त्वपूर्ण: अमेरिकामा स्थायी बसोबासको अनुमति (ग्रीन कार्ड) भएको मात्र आधारमा मतदान गर्न पाइँदैन। संघीय र राज्य निर्वाचनमा अमेरिकी नागरिक हुन आवश्यक छ। योग्य नागरिकले मात्रै मतदान गर्नुपर्छ।
हुलाकबाट मतदान गर्न चाहनेले के गर्ने?
पेन्सिल्भेनियामा मतदान केन्द्रमा उपस्थित हुन नसक्ने व्यक्तिका लागि मात्र नभई मतदान गर्न योग्य कुनै पनि दर्ता भएका मतदाताले कारण नखुलाई हुलाकबाट मतपत्र (मेल–इन ब्यालेट) माग्न सक्छन्।
यसका लागि निम्न प्रक्रिया अपनाउन सकिन्छ।
अनलाइन आवेदन:
https://www.pa.gov/services/vote/apply-for-a-mail-in-or-absentee-ballot.html
अनलाइन आवेदनका लागि पेन्सिल्भेनियाको मान्य ड्राइभर लाइसेन्स, पेनडटद्वारा जारी फोटो परिचयपत्र वा सोसल सेक्युरिटी नम्बरका अन्तिम चार अंकमध्ये आवश्यक पहिचान विवरण प्रयोग गर्न सकिन्छ।
मुख्य समयसीमा:
- अक्टोबर २७, साँझ ५ बजे: मेल–इन वा एब्सेन्टी ब्यालेटको आवेदन सम्बन्धित काउन्टी निर्वाचन कार्यालयमा पुगिसकेको हुनुपर्छ।
- नोभेम्बर ३, राति ८ बजे: मत खसालेर पूरा गरिएको ब्यालेट काउन्टी निर्वाचन कार्यालयमा पुगिसकेको हुनुपर्छ।
हुलाकबाट पठाइएको ब्यालेटमा नोभेम्बर ३ को हुलाक छाप लाग्दैमा पर्याप्त हुँदैन। तोकिएको समयभित्र निर्वाचन कार्यालयमा प्राप्त हुनुपर्छ। त्यसैले ब्यालेट प्राप्त भएपछि सकेसम्म चाँडै भरेर फिर्ता पठाउनु उचित हुन्छ।
मेल–इन ब्यालेट मागेर प्राप्त गरिसकेका मतदाताले त्यसलाई तोकिएको निर्देशनअनुसार भर्नुपर्छ। आवश्यक गोप्य खाम र बाहिरी खाम प्रयोग गरी हस्ताक्षर तथा मितिसम्बन्धी निर्देशन पालना गर्नुपर्छ। निर्देशन नमिलेको ब्यालेट अमान्य हुन सक्ने भएकाले पठाउनुअघि सबै विवरण जाँच गर्नुपर्छ।
हुलाकबाट पठाउनुको सट्टा आफ्नो काउन्टीको निर्वाचन कार्यालय वा आधिकारिक रूपमा तोकिएको ब्यालेट ड्रप बक्समा पनि बुझाउन सकिन्छ। अरू व्यक्तिको ब्यालेट आफूले बुझाउन पाउने विषयमा कानुनी सीमा छन्; अपाङ्गताका कारण आवश्यक सहयोग चाहिने व्यक्तिका लागि लिखित अनुमति दिएर तोकिएको व्यक्तिमार्फत बुझाउने व्यवस्था हुन सक्छ।
मेल–इन ब्यालेटको आवेदन र त्यसको अवस्था जाँच्न राज्यको आधिकारिक वेबसाइट प्रयोग गर्न सकिन्छ:
https://www.pa.gov/services/vote/apply-for-a-mail-in-or-absentee-ballot.html
गभर्नर पदमा को–को प्रतिस्पर्धामा छन्?
नोभेम्बर ३ को चुनावमा राज्यको सबैभन्दा चर्चित प्रतिस्पर्धा गभर्नर पदको हुनेछ। यस पदका लागि प्रमुख पार्टीका उम्मेदवार यस प्रकार छन्।
डेमोक्रेटिक पार्टी
- गभर्नर: जोस शापिरो , वर्तमान गभर्नर
- लेफ्टिनेन्ट गभर्नर: अस्टिन डेविस , वर्तमान लेफ्टिनेन्ट गभर्नर
रिपब्लिकन पार्टी
- गभर्नर: स्टेसी ग्यारिटी , वर्तमान राज्य कोषाध्यक्ष
- लेफ्टिनेन्ट गभर्नर: जेसन रिची , अधिवक्ता
लिबर्टेरियन पार्टी
- गभर्नर: केन क्राउचुक
- लेफ्टिनेन्ट गभर्नर: जोन थोमस
गभर्नर र लेफ्टिनेन्ट गभर्नरका उम्मेदवारहरू आमनिर्वाचनमा एउटै टिकटमा प्रतिस्पर्धा गर्छन्। यस निर्वाचनको मुख्य प्रतिस्पर्धा वर्तमान गभर्नर शापिरो र रिपब्लिकन उम्मेदवार ग्यारिटीबीच केन्द्रित छ।
निर्वाचनअघि आयोजित बहसमा डेटा सेन्टर, इन्धनको मूल्य, कर नीति र खेलसम्बन्धी कानुनलगायत विषय उठेका थिए। यी मुद्दाले पेन्सिल्भेनियाको आर्थिक विकास, स्थानीय समुदाय र राज्य सरकारको नीतिमा कस्तो प्रभाव पार्ने भन्ने विषय चुनावी बहसको हिस्सा बनेको छ।
गभर्नरबाहेक कुन–कुन पदमा मतदान हुँदैछ?
यो चुनाव गभर्नर छान्ने चुनावमा मात्र सीमित छैन। मतदाताले संघीय र राज्य तहका अन्य प्रतिनिधि पनि छान्नेछन्।
यू.एस. हाउस अफ रिप्रिजेन्टेटिभ्स
पेन्सिल्भेनियाका सबै १७ वटा अमेरिकी प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा यस वर्ष चुनाव हुँदैछ। मतदाताले आफ्नो निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका प्रतिनिधि छान्नेछन्।
अमेरिकी प्रतिनिधिसभाका सदस्यहरूले संघीय बजेट, कर, आप्रवासन, स्वास्थ्य सेवा, शिक्षा, रोजगारी, सीमा सुरक्षा र अन्य राष्ट्रिय नीतिसम्बन्धी कानुन निर्माणमा भूमिका खेल्छन्।
नेपालीभाषी समुदायका लागि आप्रवासन नीति, परिवार पुनर्मिलन, रोजगारी, साना व्यवसाय र स्वास्थ्य सेवासम्बन्धी विषय विशेष चासोका हुन सक्छन्।
पेन्सिल्भेनिया राज्य प्रतिनिधिसभा
राज्य प्रतिनिधिसभाका सबै २०३ निर्वाचन क्षेत्रमा मतदान हुँदैछ। यसका सदस्यहरूले राज्यको बजेट, विद्यालयको आर्थिक सहयोग, कर, स्वास्थ्य सेवा, सार्वजनिक सुरक्षा, सडक तथा यातायात र स्थानीय सरकारसँग सम्बन्धित कानुनमा निर्णय गर्छन्।
पेन्सिल्भेनिया राज्य सिनेट
राज्य सिनेटका ५० मध्ये सम संख्या भएका निर्वाचन क्षेत्रका सिटमा यस वर्ष चुनाव हुँदैछ। अर्थात् राज्य सिनेटका आधा निर्वाचन क्षेत्रका मतदाताले आफ्ना प्रतिनिधि छान्नेछन्।
राज्य प्रतिनिधिसभा र सिनेटमा कुन पार्टीको बहुमत रहन्छ भन्ने कुराले गभर्नरले प्रस्ताव गरेका कानुन र बजेट पारित हुने प्रक्रियामा प्रभाव पार्न सक्छ।
उम्मेदवारको नाम कसरी पत्ता लगाउने?
अमेरिकी प्रतिनिधिसभा र राज्य संसद्का उम्मेदवार तपाईं बस्ने निर्वाचन क्षेत्रअनुसार फरक हुन्छन्। त्यसैले सबै पेन्सिल्भेनियावासीका लागि एउटै उम्मेदवार सूची लागू हुँदैन।
आफ्नो ठेगानाअनुसार उम्मेदवार र निर्वाचन क्षेत्र पत्ता लगाउन पेन्सिल्भेनिया राज्यको आधिकारिक निर्वाचन वेबसाइट
तथा राज्यको उम्मेदवार विवरण
https://www.pa.gov/agencies/dos/programs/voting-and-elections/running-for-office.html
हेर्न सकिन्छ।
मतदान गर्ने दिन के ध्यान दिने?
मतदान केन्द्रमा गएर मतदान गर्ने मतदाताले निम्न कुरामा ध्यान दिनुपर्छ।
- आफ्नो मतदाता दर्ता र तोकिएको मतदान केन्द्र जाँच गर्नुहोस्।
- मतदान केन्द्र बिहान ७ बजेदेखि राति ८ बजेसम्म खुला रहने भएकाले समयमै पुग्नुहोस्।
- पहिलोपटक मतदान गर्दै हुनुहुन्छ भने फोटो परिचयपत्र वा आवश्यक पहिचानसम्बन्धी कागजातबारे आधिकारिक निर्देशन जाँच गर्नुहोस्।
- ब्यालेटमा उम्मेदवारको नाम र पार्टी ध्यानपूर्वक हेरेर आफ्नो रोजाइअनुसार मत दिनुहोस्।
- मेल–इन ब्यालेट प्रयोग गर्दै हुनुहुन्छ भने खाम, हस्ताक्षर र बुझाउने समयसीमा सम्बन्धी निर्देशन पालना गर्नुहोस्।
मेल–इन ब्यालेट मागेपछि व्यक्तिगत रूपमा मतदान गर्न चाहने मतदाताले भने आफ्नो अवस्था र लागू हुने नियमबारे काउन्टी निर्वाचन कार्यालयसँग बुझ्नुपर्छ। ब्यालेट प्राप्त गरिसकेको अवस्थामा मतदान केन्द्रमा सामान्य ब्यालेटबाट सीधै मतदान गर्न नमिल्ने परिस्थिति हुन सक्छ र अस्थायी (प्रोभिजनल) ब्यालेट प्रयोग गर्नुपर्ने हुन सक्छ।
आधिकारिक जानकारी कहाँ पाउने?
निर्वाचनसम्बन्धी जानकारीका लागि सामाजिक सञ्जालमा आएका अपुष्ट सूचनाभन्दा राज्य सरकार र सम्बन्धित काउन्टी निर्वाचन कार्यालयको जानकारीलाई प्राथमिकता दिनुहोस्।
- मतदाता दर्ता: https://www.pa.gov/agencies/vote/voter-registration.html
- मेल–इन ब्यालेट आवेदन: https://www.pa.gov/services/vote/apply-for-a-mail-in-or-absentee-ballot.html
- मतदाता दर्ता जाँच: https://www.pavoterservices.pa.gov/pages/voterregistrationstatus.aspx
- निर्वाचनसम्बन्धी आधिकारिक सूचना: https://vote.pa.gov/
- आफ्नो काउन्टी निर्वाचन कार्यालय: https://vote.pa.gov/County
नोभेम्बर ३ को चुनावमा मतदान गर्न योग्य पेन्सिल्भेनियावासीले अक्टोबर १९ को नाम दर्ता समयसीमा नबिर्सनु महत्त्वपूर्ण छ। मेल–इन ब्यालेटबाट मतदान गर्ने योजना भएकाले अक्टोबर २७ को आवेदन मिति र नोभेम्बर ३ राति ८ बजेसम्म ब्यालेट निर्वाचन कार्यालयमा पुग्नुपर्ने नियम पनि ध्यानमा राख्नुपर्छ।
निर्वाचनमा सहभागी हुनु भनेको आफ्नो मताधिकार प्रयोग गर्नुका साथै आफू बस्ने समुदायको भविष्यसँग सम्बन्धित निर्णय प्रक्रियामा आवाज पुर्याउनु पनि हो।

















