सजिसजाउ क्याफेमुनिको कन्तबिजोग: शिक्षण अस्पतालमा बिरामी कुरुवाको दर्दनाक बाध्यता
सुरेश सुवेदी
महाराजगन्ज, काठमाडौँ / त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टीयू टिचिङ हस्पिटल) को आकस्मिक कक्ष बाहिरको गल्लीमा छिर्दा जो कोहीको मन भारी हुन्छ।
नाक फुट्ला जस्तो गरी आउने कडा दुर्गन्ध, भुईँमा छरिएका फोहोरका थुप्राहरू, र त्यही फोहोरसँगै सुतिरहेका मानिसहरू।
यो दृश्य कुनै दुर्गम गाउँको वा सरकारी उपेक्षामा परेको सामान्य स्वास्थ्य चौकीको होइन, देशकै सबैभन्दा ठूलो र प्रतिष्ठित मानिने केन्द्रीय अस्पतालको हो।
व्यवसायी मीन बहादुर गुरुङले आफ्ना मातापिताको स्मृतिमा करोडौँ खर्चेर बनाइदिएको अत्याधुनिक आकस्मिक सेवा भवन बाहिर र भित्रको अवस्था हेर्दा लाग्छ-यहाँ मानवीय संवेदना हराइसकेको छ।
माथि सजिसजाउ क्याफे, तल नागरिकको बिचल्ली
यही भवनको चौथो र पाँचौँ तल्लामा पुग्ने हो भने दृश्य ठ्याक्कै बदलिन्छ। त्यहाँ अत्याधुनिक र सजिसजाउ ‘डेडीज क्याफे’ सञ्चालनमा छ, जहाँ चिकित्सक, अस्पतालका कर्मचारी र धनाढ्यहरू महँगा र स्वादिला खाजाहरू खाइरहेका देखिन्छन्। तर, त्यही भवनको जमिन तल्ला र गल्लीहरूमा भने निरीह नेपाली नागरिकको कन्तबिजोग छ।
उपचारका लागि खल्तीको अन्तिम रुपैयाँसम्म बुझाएर रसिद थापेका बिरामीका कुरुवाहरू अस्पतालको चिसो र फोहोर भुईँमा रात बिताउन बाध्य छन्।
पैसा बुझाएर पनि आफ्ना प्रियजनको उपचारका लागि आउने नागरिकहरू यसरी निरीह र लाचार बन्नुपर्ने अवस्था आफैँमा एउटा गम्भीर सामाजिक विडम्बना हो।
कुरुवा घर त छ, तर पहुँच कसको?
शिक्षण अस्पताल हाताभित्र बिरामीका कुरुवाहरूका लागि बस्ने र सुत्ने उचित व्यवस्थासहितको ‘बिरामी कुरुवा घर’ नभएको होइन।
भवन छ, सुविधाहरू पनि छन्, तर विडम्बना के छ भने त्यहाँ वास्तविक पीडित र दूरदराजबाट आएका गरिब कुरुवाहरूको सहज पहुँच नै छैन।
उक्त कुरुवा घरमा अस्पतालका स्टाफ, पहुँचवाला पदाधिकारी र उनीहरूका आसेपासेहरूको मात्रै हालीमुहाली र चहलपहल देखिन्छ। बाहिरबाट आएका सर्वसाधारणलाई त्यहाँ छिर्नै सकस हुन्छ।
दुर्गन्ध र फोहोरसँगै गुज्रिने रात
पहुँचवालाहरू कुरुवा घरमा आराम गरिरहँदा, गाउँघरबाट ऋण धन गरेर बिरामी बचाउन काठमाडौँ आएका सोझा र निरीह कुरुवाहरू भने आकस्मिक कक्ष बाहिरका बेन्च र भुईँमा प्लास्टिकका काला झोला र फोहोरका थुप्राहरूसँगै रात काट्न विवश छन्।
अस्पतालको कडा र हानिकारक दुर्गन्ध, चिसो सिमेन्टको भुईँ, र आँखा अगाडि तैरिरहेको फोहोरका बीच निदाउन खोज्ने यी आँखाहरूले अस्पताल प्रशासनको लाचारी र सरकारी स्वास्थ्य संयन्त्रको वास्तविक दुरवस्थालाई गिज्याइरहेका छन्।
भवन बनाइदिने दाताले त आफ्नो तर्फबाट पवित्र मनसायले भौतिक संरचना खडा गरिदिए, तर त्यसको सही व्यवस्थापन गर्ने र स्वास्थ्य सेवा लिन आउने सर्वसाधारणलाई न्यूनतम मानवीय सम्मान दिने दायित्व अस्पताल प्रशासनको हो।
टीयू टिचिङ हस्पिटलको यो विभेदकारी र दर्दनाक तस्बिरले कहिलेसम्म न्याय पाउने हो? यो प्रश्न आज प्रत्येक निरीह कुरुवाको अनुहारमा प्रस्टै देखिन्छ।

















