ह्यारिसबर्गमा बहिरा व्यक्तिहरूले मनाए सामूहिक तीज
ह्यारिसबर्ग, पेन्सिलभेनिया / पेन्सिल्भेनियाको ह्यारिसबर्ग आसपासमा बसोबास गर्दै आएका नेपालीभाषी भूटानी समुदाय सहितका बहिरा व्यक्तिहरुले शनिबार सामूहिक रुपमा तीज मनाएका छन् ।
हिमालयन डेफ वुमन्स ग्रुपको आयोजनामा भएको कार्यक्रममा सहभागीहरूले तीजको अवसरमा आपसमा भेटघाट, खानपिन, नाचगान तथा मनोरञ्जनात्मक गतिविधिमा सहभागी हुँदै पर्व मनाएका हुन्।
‘आस्था, हर्ष र दिदीबहिनीको पर्व’ भन्ने नारासहित कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा नेपालीभाषी भूटानीसँगै नेपाल, भारत र स्थानीय अन्य समुदायका बहिरा महिला पुरुष दुबैको सहभागिता थियो।
कार्यक्रममा सहभागी भवानी दंगालका अनुसार तीज कार्यक्रम समुदायका साथीभाइ मिलेर आयोजना गरिएको हो। उनका अनुसार यस्तो कार्यक्रम पछिल्ला केही वर्षदेखि निरन्तर हुँदै आएको छ। ह्यारिसबर्ग क्षेत्रमा मात्रै करिब ४० जना नेपालीभाषी भूटानी समुदायका सदस्य रहेको उनले बताए ।
कार्यक्रममा सहभागीहरूले तीजका गीतमा नाचगान गर्नुका साथै आपसी भेटघाट र कुराकानी गरेका थिए। अन्त्यमा मनोरञ्जनका लागि कुर्चीचाल खेलसमेत खेलाइएको थियो। सहभागीहरू हँसिलो मुद्रामा कार्यक्रमबाट फर्किएका थिए।
बहिरा समुदायको सहयोग र संरक्षणमा हिमालयन फाउन्डेशन
कार्यक्रममा हिमालयन फाउन्डेशन युएसएका संस्थापक तथा अध्यक्ष टीबी गुरुङले संस्थाले कार्यक्रमको आयोजनामा भूमिका खेलेको बताए।
गुरुङका अनुसार हिमालयन फाउन्डेशन अमेरिकामा दर्ता भएको गैरनाफामूलक संस्था हो। संस्थाले सहयोग, शिक्षा र संरक्षणलाई मुख्य उद्देश्य बनाएर काम गर्दै आएको छ।
उनका अनुसार संस्थाले असहाय तथा वृद्धवृद्धाका साथै बहिरा समुदायलाई विभिन्न कार्यक्रममार्फत सहयोग गर्दै आएको छ। शिक्षाअन्तर्गत बालबालिकालाई नेपाली भाषा, नृत्य तथा नेपाली संस्कृति सिकाउन प्रत्येक शनिबार कक्षा सञ्चालन गरिँदै आएको उनले बताए।
त्यस्तै, नेपालीभाषी भूटानी समुदायको इतिहास, कला, संस्कृति र पहिचान संरक्षण गर्ने उद्देश्यले दस्तावेजीकरणको कामसमेत अघि बढाउन लागिएको गुरुङले जानकारी दिए।
“हामी भुटानमा कहिले गयौं, भुटानबाट नेपाल कसरी आयौं, नेपालमा कहाँ–कहाँ बस्यौं र हाम्रा आफन्तहरू अहिले कहाँ–कहाँ बसोबास गरिरहेका छन् भन्ने विवरणलाई एउटै ठाउँमा राख्ने उद्देश्यले डकुमेन्टेसन प्रोजेक्ट सुरु गर्दैछौं,” उनले बताए।

बहिरा भूटानी समुदायको संख्या ठूलो
गुरुङका अनुसार ह्यारिसबर्गमा मात्रै करिब ४० जना बहिरा नेपालीभाषी भूटानी समुदायका सदस्य रहेको अनुमान छ। पिट्सबर्गमा करिब ३० जनाको हाराहारीमा रहेको र अन्य अमेरिकी शहरहरूमा पनि पाँचदेखि १० जनासम्म बहिरा नेपालीभाषी भूटानी समुदायका सदस्य रहेको उनले बताए।
शनिबारको तीज कार्यक्रममा भने अपेक्षाकृत कम सहभागिता रहेको गुरुङले बताए। विशेषगरी ह्यारिसबर्गमै रहेका केही समुदायका सदस्य यातायातको समस्याका कारण कार्यक्रममा आउन नसकेको उनको भनाइ थियो।
“आजको कार्यक्रम मूल रूपमा कान नसुन्ने समुदायका लागि हो,” गुरुङले भने, “तर ह्यारिसबर्गमै रहेका धेरै दाजुभाइ तथा दिदीबहिनी यातायातको समस्याका कारण सहभागी हुन सक्नुभएन।”
कार्यक्रमलाई मेट्रो साउथ एसियन डेफ एसोसिएसन लगायतले सहयोग गरेका थिए।
हिमालयन फाउन्डेशनका अनुसार समुदायमा तीजसँगै अन्य सांस्कृतिक तथा सामाजिक कार्यक्रमहरू पनि आयोजना हुँदै आएका छन्।














