ओभर स्पिडले पोल खुल्यो, फरार भारतीय मुलका ट्रक चालकलाई आइसको हिरासत माग
वासिङ्गटन/ अमेरिकाको क्यालिफोर्नियामा दुई जनाको ज्यान गएको अर्ध–ट्रक दुर्घटनामा संलग्न रहेको आरोप लागेका भारतीय नागरिक चामकौर सिंहमाथि यु.एस. इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइसे) ले डिटेनर जारी (हिरासतमा राख्न माग) गरेको छ।
डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी (डीएचएस) का अनुसार, ३० वर्षीय सिंहलाई सेप्टेम्बर १ मा युटाको मोआबमा तीव्र गतिमा अर्ध–ट्रक चलाइरहेका बेला प्रहरीले रोकेको थियो। ३० माइल प्रतिघण्टाको सीमित क्षेत्रमा उनी ५० माइल प्रतिघण्टाको गतिमा चलाइरहेका थिए। नियमित जाँचका क्रममा प्रहरीले क्यालिफोर्नियाबाट जारी भएको हत्या–सम्बन्धी राष्ट्रव्यापी पक्राउ पुर्जी भेट्टाएको थियो।
सिंहलाई पक्राउ गरी ग्रान्ड काउन्टी जेलमा राखिएको थियो। त्यसको भोलिपल्ट आइसले उनलाई संघीय अध्यागमन हिरासतमा लिन डिटेनर जारी गरेको डीएचएसले जनाएको छ।
डीएचएसका अनुसार, मार्च २९ मा क्यालिफोर्नियाको ओन्टारियोमा भएको दुर्घटनामा सिंहले चलाएको अर्ध–ट्रकले अगाडि रहेको एउटा कारलाई पछाडिबाट ठक्कर दिएको थियो। त्यस क्रममा कारका एक यात्रुको मृत्यु भएको र चालक गम्भीर घाइते भएका थिए। त्यसपछि ट्रक अर्को सवारीसाधनसँग ठोक्किँदा थप एक जनाको मृत्यु भएको थियो।
घटनामा कुल सातवटा सवारीसाधन संलग्न थिए भने अन्य दुई जना घाइते भएका थिए।
मोआब प्रहरीले भने उक्त दुर्घटनासँग सम्बन्धित घटनामा चार जनाको मृत्यु भएको जानकारी पाएको जनाएको छ, यद्यपि त्यसबारे थप विवरण तत्काल सार्वजनिक गरिएको थिएन।
सिंहलाई क्यालिफोर्निया राज्यले मे १०, २०२५ मा व्यावसायिक चालक अनुमतिपत्र (सीडीएल) जारी गरेको डीएचएसको विज्ञप्तिमा उल्लेख छ। उनको सीडीएल अझै सक्रिय रहेको र चालकको रेकर्डमा लेनसम्बन्धी नियम उल्लंघन, अगाडिको सवारीसँग पर्याप्त दूरी नराखेको र तीव्र गति चलाएको लगायत तीनवटा सजाय रहेको डीएचएसले जनाएको छ।
डीएचएस सचिव मार्कवेन मुलिनले घटनाबारे टिप्पणी गर्दै सिंहलाई दुर्घटना गराएको आरोप लगाएका छन् र उनको अमेरिका प्रवेश तथा सीडीएल प्राप्त गर्ने प्रक्रियालाई लिएर पूर्व बाइडेन प्रशासन र क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमको नीतिमाथि आलोचना गरेका छन्।
डीएचएसका अनुसार, सिंहले आफू सन् २०२० को डिसेम्बरमा भारतबाट निस्किएको संयुक्त अरब इमिरेट्स, ब्राजिल, पेरु, इक्वेडर, कोलम्बिया, पानामा, होन्डुरस, ग्वाटेमाला र मेक्सिको हुँदै अगस्ट २०२१ मा एरिजोनाबाट अवैध रूपमा संयुक्त राज्य अमेरिका प्रवेश गरेको बताएका छन् । सीमा गस्तीले उनलाई पक्राउ गरे पनि पछि अमेरिकामै छाडिएको विभागको भनाइ छ।















