कालुसिंह मेमोरियल च्याम्पियनसिप २०२६ : आठ टोली भिड्दै,युनाइटेड ब्रदर्स रनिङ सिल्ड नजिक
ह्यारिसबर्ग, पेन्सिलभेनिया / कालुसिंह मेमोरियल फुटबल च्याम्पियनसिप २०२६ सेप्टेम्बर २० र २१ मा आयोजना हुने भएको छ। भुटानी राष्ट्रिय टिमका सदस्य स्वर्गीय कालुसिंह तामाङको स्मृतिमा सन् २०१७ देखि च्याम्पियनसिप हुँदै आएका छन्।
प्रतियोगिता ह्यारिसबर्गको स्काइलाइन स्पोर्टस कम्पेल्समा नै हुने छ । अघिल्लो संस्करण पनि सेप्टेम्बर २० र २१ मा यही मैदानमा भएको थियो।प्रतियोगितामा विभिन्न राज्यबाट आएका आठ टोलीले सहभागिता जनाउने आयोजकले जनाएको छ।
गत वर्ष जस्तै यस पटक पनि प्रतियोगिता कालुसिंह मेमोरियल फुटबल च्याम्पियनसिप आयोजक कमिटी र एशियन रिफ्युजीज युनाइटेड (एआरयू) को सहकार्यमा हुने छ ।
एआरयुका मिडिया म्यानेजर पर्शु अधिकारीका अनुसार यस पटकको प्रतियोगितामा आठ टिमले भाग लिँदै छ ।
‘सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ, बिहीबार टाइसिट ड्र हुन्छ ।’ अधिकारीले भने ।
अधिकारीका अनुसार यस पटक प्रतियोगितामा पिट्सबर्ग भेट्रान्स एफसी, मिडलाइफ किकर्स, युनाइटेड ब्रदर्स रिपोर्टिङ क्लब, एफसी रिभाइभल पीए, कोलम्बस ड्रुक्स युनाइटेड, पीच स्टेट एफसी (एटलान्टा, जर्जिया), सिन्सिनाटी राइनो र ह्यारिसबर्ग लेजेन्ड्स सहभागी हुनेछन्।
दुई दिन सञ्चालन हुने प्रतियोगिताको उद्घाटन समारोह सेप्टेम्बर २० बिहान ९ बजे हुनेछ। प्रतियोगिताको फाइनल तथा समापन समारोह सेप्टेम्बर २१ दिउँसो ३ः३० बजे आयोजना गरिने आयोजकले जनाएको छ।
च्याम्पियनसिप २०२६ को आयोजना समितिले उद्घाटन तथा फाइनल समारोहमा सहभागी हुन सबैलाई निमन्त्रणा गरेको छ।
नेपाली भाषी भूटानी समुदायका एक सम्मानित खेलाडीको स्मृतिमा आयोजना हुँदै आएको च्याम्पियनसिपले खेलकुदसँगै खेलाडी तथा समुदायबिचको एकता, मित्रता, समर्पण, खेल भावना र सामुदायिक भावनालाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको आयोजकको भनाइ छ।
प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर र उपविजेताले ३ हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछन्। यस्तै रनिङ्ग सिल्ड पनि रहेको छ । रनिङ्ग सिल्ड स्थायीरुपमा लैजान प्रतियोगिता लगातार तीन पटक जित्नु पर्ने छ ।
युनाइटेड ब्रदर्स रिपोर्टिङ क्लब यसअघि प्रतियोगिता दुई पटक जितिसकेको टोली हो। यस पटक पनि उपाधि जित्न सफल भएमा क्लबले रनिङ सिल्ड स्थायी रूपमा आफ्नो नाममा लैजान पाउनेछ।
को हुन कालु सिंह
कालुसिंह भुटानको ड्रुक ११ बाट खेल्ने कुशल नेपाली भाषी खेलाडी थिए। त्यहीँ टिम पछि भुटानको राष्ट्रिय टिममा रूपान्तरण भएको थियो।
भुटानको साम्जी जिल्लाको सिप्सुमा जन्मिएका कालु टिमको मुख्य डिफेन्डर थिए। भुटानको रोयल आर्मीमा भर्ती भएपछि उनको फुटबल करिअरले गति लियो।
भुटानलाई प्रतिनिधित्व गर्दै उनले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका थिए। त्यहीँ क्रममा उनी नेपालमा समेत खेल्न पुगेका थिए।
पछि भुटानमा नेपाली भाषीको आन्दोलन चर्किएपछि कालुसिंह पनि खेदिन बाध्य भए। नेपालको बेलडाँगी शिविरमा बसेका कालुले त्यहाँ पनि फुटबल खेलेका थिए। शिविरमा उनले धेरैलाई फुटबल सिकाएका थिए भने उनीबाट धेरै प्रभावित बनेका थिए।
कालु सिंहको ४४ वर्षको अल्प आयुमै सन् १९९८ मा नेपालमा निधन भएको थियो। दार्जिलिङबाट प्रतियोगिता खेलेर फर्किएका उनको निधन भएको थियो । प्रतियोगिता यस अगाडि कालु सिंहका परिवार र साथीभाइको तर्फबाट हुँदै आएको थियो तर गत वर्ष देखि देखि एसियन रेफ्युजी युनाइटेड (एआरयू) ले आयोजनाको व्यवस्थापनको जिम्मा लिएको हो।
च्याम्पियनसिपका लागि रत्न गुरुङको अध्यक्षतामा आयोजक कमिटी गठन गरिएको थियो।
प्रतियोगिताका लागि बचेको रकम एआरयुको ‘सकर फर सक्सेस’ कार्यक्रममा खर्च गरिने छ। सकर फर सक्सेस एआरयुको महत्त्वाकाङ्क्षी र दीर्घकालीन परियोजना हो। जहाँ बालबालिकाहरूलाई यूएस सकरको आधिकारिक मान्यता प्राप्त प्रशिक्षकहरूद्वारा प्रशिक्षण हुँदै आएको छ ।















