अमेरिकी लगानी नेपालले सधैँ स्वागत गर्छ : प्रधानमन्त्री शाह
काठमाडौँ / प्रधानमन्त्री वालेन्द्र शाहले अमेरिकी लगानीको नेपालले सधैँ स्वागत गर्ने बताएका छन् ।
नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिन सँग बुधवार आफ्नै कार्यालयमा भएको शिष्टाचार भेटमा प्रधानमन्त्री शाहले सो कुरा बताएका हुन् ।
भेटमा अगस्ट २६ मा आएको विनाशकारी बाढीपछि नेपालमा जारी राहत तथा पुनः स्थापना प्रयासमा अमेरिकी सहयोग र सहकार्यबारे छलफल समेत भएको जनाइएको छ ।
‘नेपालको विशिष्ट पर्यटन सम्भावना तथा पर्यटन क्षेत्रको विकासमार्फत पारस्परिक लाभ हासिल गर्न सकिने अवसरहरूबारे चर्चा गर्नुहुँदै सम्माननीय प्रधानमन्त्रीज्यूले अमेरिकी लगानीको नेपालले सधैँ स्वागत गर्ने बताउनुभयो।’ भेट पछि प्रधानमन्त्री कार्यालय द्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको शिष्टाचार भेटवार्तामा प्रधानमन्त्रीले विपद्को कठिन परिस्थितिमा नेपालप्रति अमेरिकी सरकारबाट व्यक्त ऐक्यबद्धता तथा सहयोगका लागि आभार व्यक्त गरेका थिए ।
प्रधानमन्त्रीले विपद्का कारण नेपालीसँगै विदेशी नागरिकसमेत प्रभावित भएको बताएका थिए ।
‘उहाँले जलवायु परिवर्तनको असर स्वरूप यस घटनाको सामना गर्नुपरेको समेत बताउनुभयो। साथै, उहाँले जलवायुजन्य विपद् जोखिम न्यूनीकरण तथा यसको प्रभाव सम्बोधन गर्न विश्वव्यापी सहकार्य र सामूहिक प्रयासलाई थप सुदृढ गर्नुपर्नेमा जोड दिनुभयो।’ विज्ञप्तिमा उल्लेख छ ।
भेटका क्रममा कार्यवाहक राजदूत बोल्डिनले बाढीबाट प्रभावित सबैप्रति अमेरिकी सरकारका तर्फबाट सहानुभूति तथा समवेदना पनि व्यक्त गरेकी थिइन्।
‘कार्यवाहक राजदूत बोल्डेनले प्रधानमन्त्री शाहसमक्ष नेपालका लागि राष्ट्रपति ट्रम्पको सहयोगको प्रस्ताव हस्तान्तरण गर्नुका साथै यस विपद्बाट प्रभावित सबैप्रति संयुक्त राज्य अमेरिकाको तर्फबाट सहानुभूति र समवेदना प्रकट गर्नुभयो।’ विज्ञप्तिमा भनिएको छ, ‘कार्यवाहक राजदूत बोल्डेनले बेपत्ता भएका अमेरिकी नागरिकहरूको खोजी कार्यमा देखाएको सहयोगका लागि प्रधानमन्त्री शाह र उहाँको सरकारलाई धन्यवाद दिनुभयो।’
आफ्ना प्रियजनहरूको खबरको पर्खाइमा रहेका अमेरिकी, नेपाली र अन्य सबै परिवारहरूलाई जवाफ दिन विपद्का पीडितहरूको पहिचान गर्ने कार्यमा नेपाल प्रहरीलाई एफबीआईले गरिरहेको निरन्तर सहयोगबारे पनि कार्यवाहक राजदूतले प्रकाश पारेको विज्ञप्तिमा उल्लेख छ ।
कार्यवाहक राजदूत बोल्डेनले बाढी राहत प्रयासहरूमा सरकारसँग मिलेर नजिकबाट काम गर्ने हाम्रो प्रतिबद्धतालाई पुनः दोहोर्याएको जनाइएको छ ।
‘अमेरिकाले यस विपद्पछिको पुनर्स्थापनाका लागि उपलब्ध गराएको ५० लाख डलरभन्दा बढी मूल्यको जीवन रक्षक स्वास्थ्य, मानवीय र फोरेन्सिक सम्बन्धी सहायताका बारेमा पनि छलफल गर्नुभयो।’ दूतावासको विज्ञप्तिमा भनिएको छ, ‘दुवै जना बिच नेपालको पुनर्स्थापना र दीर्घकालीन आर्थिक वृद्धिका लागि अमेरिकी र नेपाली व्यवसायहरूको अवसर विस्तार गर्नेसहित, आर्थिक तथा व्यापारिक सहयोगलाई अझ सुदृढ बनाउने अवसरहरूका बारेमा पनि छलफल भयो।’
तस्बिर : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय















