नेपालका लागि सहयोग माग्दै एनआरएनए अमेरिकाबाट अमेरिकी सांसदहरुलाई पत्राचार
ल्यानक्यास्टर, पेन्सिलभेनिया / नेपालमा अगस्ट २६ मा आएको विनाशकारी बाढीपहिरो तथा त्यसबाट भएको मानवीय र भौतिक क्षतिबारे जानकारी गराउँदै अमेरिकी सरकारबाट तत्काल मानवीय सहायता तथा दीर्घकालीन पुनर्निर्माण सहयोगका लागि गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाको तर्फबाट अमेरिकी सांसदहरूलाई पत्र पठाइएको छ।
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी)का पूर्व उपाध्यक्ष तथा एनआरएनए एनसीसी अमेरिकाका पूर्व अध्यक्ष सुनिल साहको पहलमा बसेको बैठकले अमेरिकी सांसद तथा सम्बन्धित निकायको ध्यान नेपालतर्फ आकर्षित गराउन पत्राचार गर्ने निर्णय गरेको थियो।
बैठकमा सुनिल साह सहित डा. जेपी साह, डा. अम्बिका अधिकारी, डा. विजय कट्टेल, खगेन्द्र जीसी, त्रिभुवन पाण्डे, डा. महेन्द्र महतो, डा. अमोद पोखरेल, डा. राजन पन्त, सतेन्द्र शाह, मिलन जे. कटुवाल र कृदिश उप्रेतीलगायत सहभागिता रहेको जनाइएको छ ।
साहका अनुसार नेपालमा यसअघि पनि विपद्का समयमा अमेरिकी सांसद तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराउने गरी यस्तै पहल गरिएको थियो।
‘यसअघि नेपालमा समस्या पर्दा हामीले यसैगरी काम गरेका थियौँ,’ साहले समाज टाइम्ससँग भने, ‘मेरै अध्यक्षतामा गरिएका प्रयासहरू सफल पनि भएका थिए।’
साहका अनुसार ७२ जना भन्दा धेरैलाई छुट्टा छुट्टै पत्र पठाइएको छ ।
म्याकगभर्नलाई तत्काल राहतदेखि दीर्घकालीन सहयोगसम्म आग्रह
एनआरएनए एनसीसी अमेरिकाले सेप्टेम्बर ९ मा अमेरिकी प्रतिनिधिसभाका सदस्य जिम पी. म्याकगभर्नलाई पठाएको पत्रमा नेपालमा अगस्ट २६ मा नेपाल–तिब्बत सीमाक्षेत्र नजिक हिमाली क्षेत्रमा भएको हिमाली संरचना तथा चट्टान भत्किने घटनाले ल्हेन्दे खोला, भोटेकोसी र त्रिशूली नदी प्रणालीमा विनाशकारी बहाव ल्याएको उल्लेख गरेको छ।
उक्त घटनाबाट समुदाय तथा महत्वपूर्ण पूर्वाधारमा ठूलो क्षति पुगेको पत्रमा जनाइएको छ। सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य अत्यावश्यक सेवामा क्षति पुगेको र जलविद्युत् आयोजनाका सुरुङमा सयौँ कामदार फसेको समेत पत्रमा उल्लेख छ।
सेप्टेम्बर ७ सम्मको अवस्थाबारे पत्रमा १३ सय भन्दा बढी मानिसको मृत्यु भएको र करिब पाँच हजार जना बेपत्ता रहेको उल्लेख गरिएको छ। बेपत्तामध्ये ७५ जना अमेरिकी नागरिक रहेको पनि पत्रमा जनाइएको छ। साथै ठूलो संख्यामा पशुधन, घर तथा जीविकोपार्जनमा क्षति पुगेको उल्लेख गर्दै विपद्को मानवीय तथा आर्थिक असर तत्कालको आपत्कालपछि पनि लामो समय रहने बताइएको छ।
एनआरएनए एनसीसी अमेरिकाले नेपाली डायस्पोरामार्फत सहयोग जुटाउने प्रयास भइरहेको भए पनि विपद्को डायस्पोराको प्रयासबाट मात्रै सम्बोधन गर्न कठिन हुने उल्लेख गरेको छ। नेपाललाई पुनःस्थापना र विपद् उत्थानशीलता निर्माणका लागि अन्तर्राष्ट्रिय साझेदारी, विशेषज्ञता, प्रविधि तथा दीर्घकालीन स्रोत आवश्यक रहेको पत्रमा भनिएको छ।
पत्रमार्फत म्याकगभर्नसँग नेपालका लागि खाद्यान्न, आश्रय, स्वास्थ्य सेवा, स्वच्छ पानी र आपत्कालीन सामग्रीसहित तत्काल मानवीय सहायता जुटाउन पहल गर्न आग्रह गरिएको छ।
त्यस्तै प्रभावित क्षेत्रका घर, सडक, पुल, ऊर्जा तथा अन्य महत्वपूर्ण पूर्वाधारको पुनर्निर्माण, जीविकोपार्जन पुनःस्थापना तथा दीर्घकालीन पुनर्निर्माणमा सहयोग गर्न आग्रह गरिएको छ।
हिमाली विपद्को पूर्वसूचना प्रणालीमा अमेरिकी सहयोग माग
एनआरएनए एनसीसी अमेरिकाले राहत र पुनर्निर्माणमा मात्र सीमित नरही नेपालमा भविष्यमा हुन सक्ने यस्ता विपद् न्यूनीकरणका लागि आधुनिक विपद् निगरानी तथा पूर्वसूचना प्रणाली विकास गर्न सहयोग गर्न पनि अमेरिकी सरकारसँग आग्रह गरेको छ।
विशेषगरी हिमताल, पहिरो र बाढीको जोखिमलाई लक्षित गरी आधुनिक प्रविधिमा आधारित निगरानी तथा पूर्वसूचना प्रणाली स्थापना गर्न, नेपालका आपत्कालीन तयारी तथा उद्धार क्षमतामा सुधार ल्याउन तालिम, उपकरण, प्रविधि तथा सञ्चार प्रणाली उपलब्ध गराउन पत्रमा आग्रह गरिएको छ।
त्यसैगरी जोखिममा रहेका हिमाली तथा नदी तटीय समुदायका लागि दीर्घकालीन जलवायु उत्थानशीलता र विपद् जोखिम न्यूनीकरणका कार्यक्रम अघि बढाउन अमेरिकी सहयोग आवश्यक रहेको उल्लेख गरिएको छ।
एनआरएनए एनसीसी अमेरिकाले अमेरिकी सहयोगले तत्काल जीवन जोगाउन सहयोग गर्नुका साथै भविष्यमा यस्ता विपद्बाट हुने क्षति न्यूनीकरणका लागि आवश्यक प्रणाली निर्माण गर्न नेपाललाई सहयोग पुग्ने जनाएको छ।
रो खन्नालाई पनि पत्र
एनआरएनए एनसीसी अमेरिकाले अमेरिकी प्रतिनिधिसभाका सदस्य रो खन्नालाई पनि सेप्टेम्बर ८ मा समान उद्देश्यसहित छुट्टै पत्र पठाएको छ।
खन्नालाई पठाइएको पत्रमा पनि नेपालमा अगस्ट २६ को विपद्बाट भएको मानवीय तथा पूर्वाधार क्षतिको विवरण प्रस्तुत गर्दै तत्काल मानवीय सहायता र दीर्घकालीन पुनर्निर्माण तथा विपद् पूर्वतयारीका लागि अमेरिकी सहयोग जुटाउन पहल गर्न आग्रह गरिएको छ।
पत्रमा खाद्यान्न, आश्रय, स्वास्थ्य सेवा, स्वच्छ पानी तथा आपत्कालीन सामग्री उपलब्ध गराउन, प्रभावितका घर तथा जीविकोपार्जन पुनःस्थापित गर्न र सडक, पुल, ऊर्जा लगायतका महत्वपूर्ण पूर्वाधार पुनर्निर्माणमा सहयोग गर्न आग्रह गरिएको छ।
रो खन्नालाई पठाइएको पत्रमा पनि हिमाली, पहिरो तथा बाढीको जोखिमका लागि आधुनिक विपद् निगरानी तथा पूर्वसूचना प्रणाली, आपत्कालीन तयारी र उद्धार क्षमता अभिवृद्धि, तालिम, उपकरण, प्रविधि तथा सञ्चार प्रणालीमा सहयोग गर्न जोड दिइएको छ। साथै दीर्घकालीन जलवायु उत्थानशीलता र विपद् जोखिम न्यूनीकरणका कार्यक्रम अघि बढाउन आग्रह गरिएको छ।
अमेरिकी सरकारका सम्बन्धित निकायसम्म विषय पुर्याउन आग्रह
दुवै पत्रमा अमेरिकी सांसदहरूलाई नेपालको तत्काल र दीर्घकालीन आवश्यकतालाई अमेरिकी विदेश मन्त्रालय, यूएसएआईडी, सम्बन्धित संसदीय समिति तथा अन्य सरकारी निकाय र साझेदार संस्थाहरूको ध्यानमा पुर्याउन आग्रह गरिएको छ।
एनआरएनए एनसीसी अमेरिकाले नेपालका लागि समन्वित अमेरिकी प्रतिक्रिया आवश्यक रहेको उल्लेख गर्दै तत्काल राहतसँगै पुनर्निर्माण, विपद् पूर्वतयारी र दीर्घकालीन जोखिम न्यूनीकरणमा अमेरिकी सहयोगका लागि पहल गर्न सांसदहरूसँग आग्रह गरेको हो।
एनआरएनए एनसीसी अमेरिकाको तर्फबाट अमेरिकी सांसदहरूलाई पठाइएका यी पत्रमा अध्यक्ष सतेन्द्र शाहले हस्ताक्षर गरेका छन्।















