ओहायोबाट आयो ‘हेर न आकाशमा’, कोलम्बसको पार्कमा प्रेमिल दृश्य
कोलम्बस, ओहायो / हकिनहिल पार्क भित्रको सानो खोला । त्यस माथि मान्छे हिड्न मिल्ने पुल। पुलमाथि सेता पोसाकका एक जोडी । मस्त निधाइरहेका छन्। प्रेमी- प्रेमीकाको गालामा एक अर्काको हात ।
झट्ट हेर्दा पौराणीक कथामा सुनिए जस्तो यो दृश्य हालै सार्वजनीक भएको ‘हेर न आकाशमा’ को हो । अमेरिका निवासी नेपाली भाषी भूटानी समुदायका अनुभवि र चर्चित लेखक तथा निर्देशक रमेश दियालीको शृजना ।
स्थानीय गायक र कलाकारको प्रयोग गर्दै निर्देशक रमेशले चाडबाडको यो रङ्गिन मौषममा अर्को एउटा सांगेतिक कोशेली दिएका छन्।
सुन्दर प्राकृतिक दृश्यबीच दुई पात्र प्रेम, सम्बन्ध र भावनाका कुरा आँखाले गरिरहेका छन्। कहिले नजिकिँदै, कहिले टाढिँदै गरेका घाना सुनार र पाबी पोर्टेल सुनारका दृश्यले कोलम्बसको हकिनहिल पार्कलाई एउटा प्रेमकथाको पृष्ठभूमि बनाइदिन्छ।
नेपाली संगीत क्षेत्रमा सार्वजनिक भएको यो नयाँ म्युजिक भिडियो केवल एउटा गीतको दृश्यांकन होइन, ओहायोमा रहेका नेपालीभाषी भूटानी समुदायका नयाँ प्रतिभा र अनुभवी सर्जकको सिर्जनात्मक सहकार्य पनि हो।
‘हट नम्बर ५५’ (Hut No. 55) को प्रस्तुतिमा निर्माण भएको भिडियोको गीत तथा निर्देशन रमेश दियालीको हो। साहित्य र निर्देशनमा लामो समयदेखि सक्रिय दियालीका लागि ‘हेर न आकाशमा’ संगीत र भिडियोको क्षेत्रमा अर्को सिर्जनात्मक यात्रा हो।
उनको ‘छाप्रो नम्बर ५५’, ‘१९९० डायरी’ लगायतका कृतिहरु समुदायमा परिचित छन्। यसपटक भने उनले आफ्नो लेखनलाई संगीत र दृश्यसँग जोड्दै प्रेम र सम्बन्धको कथा पर्दामा उतारेका छन्।
अनुभवी निर्देशकको रोजाइमा नयाँ अनुहार
‘हेर न आकाशमा’को अर्को विशेष पक्ष हो—यसले मुख्य कलाकारलाई पहिलोपटक नयाँ क्षेत्रमा प्रवेश गराएको छ।
गीतमा स्वर दिएका कृष्ण घिमिरेका लागि यो गायनको डेब्यु हो। उनी यो भिडियोमा गायनसँगै सहायक क्यामराको जिम्मेवारीमा समेत छन्।
त्यसैगरी, भिडियोमा मुख्य भूमिकामा देखिएका घाना सुनार र पाबी पोर्टेल सुनारका लागि पनि यो म्युजिक भिडियोमा अभिनयको पहिलो अनुभव हो।
निर्देशक दियालीका अनुसार यी नयाँ अनुहारलाई उनीहरूले निर्वाह गरेको पात्र र गीतको भावसँग जोडेर प्रस्तुत गरिएको हो।
खुला प्राकृतिक परिवेशलाई प्रेमकथाको पृष्ठभूमिका रूपमा प्रयोग गरिएको छ। घाना र पाबीको अभिनयमा प्रेमको आकर्षण, नजिकिने चाहना र सम्बन्धका भावहरू देखिन्छन्।
कहिले पुलमा निधाइरहेका छन् अनि सँगसँगै हिँडिरहेका उनीहरू, कहिले पार्कका हरिया दृश्यबीच एकअर्कालाई नियालिरहेका दृश्यले गीतको रोमान्टिक भावलाई थप जीवन्त बनाउँछन्।
प्राकृतिक सौन्दर्यसँग मिसिएका यी दृश्यले भिडियोमा एउटा लोभलाग्दो र शालीन रोमान्स निर्माण गर्छन्।
भिडियोमा गीतका शब्दअनुसार दृश्य निर्माण गर्ने प्रयास गरिएको छ। त्यसैले दृश्यहरू केवल सुन्दर देखाउनका लागि मात्र नभई गीतले भन्न खोजेको कथा र भावलाई अगाडि बढाउने माध्यम बनेका छन्।
गीतदेखि क्यामरासम्म आफ्नै समुदाय
‘हेर न आकाशमा’को निर्माणमा ओहायोको नेपालीभाषी भूटानी समुदायका धेरै प्रतिभा जोडिएका छन्।
गीतमा कृष्ण घिमिरेको स्वर छ। संगीत तथा एरेन्जमेन्ट स्माइल दासको हो भने मिक्स तथा मास्टरिङ बिशम आचार्यले गरेका हुन्।
भिडियोको छायांकन दुर्गा बान्तवा राईले गरेका छन्। पूर्ण खरेलले ड्रोनबाट दृश्य कैद गरेका छन्। सम्पादन तथा कलर टेकेन्द्र शाहले गरेका हुन्। भिडियोका निर्माता अरुण गजमेर हुन्।
गीतको संगीत, कलाकारको अभिनय, प्राकृतिक दृश्य र क्यामराको संयोजनले भिडियोमा सहज र स्वाभाविक वातावरण सिर्जना गरेको छ।
सुन्दर दृश्यमा घाना र पाबीको प्रेमिल उपस्थितिले आँखालाई तान्छ भने कृष्ण घिमिरेको स्वरले कानलाई बाँध्छ। गीतको भाव र दृश्यको सौन्दर्यलाई सँगसँगै राख्ने प्रयास गरिएको यो भिडियोले कान र आँखालाई एकैसाथ शीतलता दिने अनुभव गराउने निर्माण पक्षको विश्वास छ।
ओहायोबाट नेपाली संगीतको आकाशमा आएको ‘हेर न आकाशमा’ यस अर्थमा एउटा नयाँ गीत मात्र होइन, अमेरिकाबाट नेपाली भाषा, संगीत, अभिनय र सिर्जनालाई निरन्तरता दिइरहेको नेपालीभाषी भूटानी समुदायको अर्को सिर्जनात्मक कथा हो।















