पेन्सिल्भेनियाका गभर्नर शापिरोद्वारा चेस्टरको पुनरुत्थानका लागि झण्डै एक सय मिलियन डलरको लगानी घोषणा
चेस्टर, पेन्सिल्भेनिया / पेन्सिल्भेनियाका गभर्नर जोस शापिरोले चेस्टर सहरको पुनरुत्थानका लागि सार्वजनिक तथा निजी क्षेत्रबाट करिब ९ करोड ७१ लाख डलर लगानी हुने नयाँ योजना घोषणा गरेका छन्।
शापिरो प्रशासनका अनुसार यसमध्ये पेन्सिल्भेनिया राज्य सरकारको प्रत्यक्ष लगानी ७ करोड ५५ लाख डलर हुनेछ। उक्त लगानीले सडक तथा पैदलयात्री पूर्वाधार सुधार, हिंसा न्यूनीकरण, जीर्ण संरचना हटाउने तथा आर्थिक विकासका नयाँ अवसर सिर्जना गर्ने परियोजनालाई सहयोग गर्नेछ।
गभर्नर शापिरोले स्थानीय निर्वाचित प्रतिनिधि, व्यवसायी, गैरनाफामूलक संस्था तथा समुदायका अगुवासँगको सहकार्यमा योजना तयार पारिएको बताए। लामो समयदेखि आर्थिक समस्यासँग जुध्दै आएको चेस्टर अहिले पेन्सिल्भेनियाका आर्थिक रूपमा कमजोर सहरमध्ये एक रहेको विज्ञप्तिमा उल्लेख छ।
कुल ९ करोड ७१ लाख ८६३ डलर लगानीअन्तर्गत विभिन्न परियोजना सञ्चालन हुनेछन्। सबैभन्दा ठूलो रकम ५ करोड २५ लाख ७० हजार डलर रुट २९१/यूएस १३ परियोजनामा खर्च हुनेछ। यसबाट चेस्टरको डाउनटाउन हुँदै जाने सडकलाई पुनःडिजाइन गरी सडक सुरक्षा सुधार गरिनेछ।
त्यस्तै, २ करोड ७५ लाख ४ हजार ७८३ डलर वाटरफ्रन्ट स्पोर्ट्सप्लेक्स विकास परियोजनामा लगानी गरिनेछ। यसअन्तर्गत बाहिरी खेल मैदान, करिब एक लाख वर्गफुटको फिल्डहाउस, इन्डोर कोर्ट, एकेडेमी तथा प्रदर्शन केन्द्र निर्माण गरिनेछ। परियोजनाले युवा कार्यक्रम तथा विद्यालय र सामुदायिक खेल गतिविधिलाई विस्तार गर्ने लक्ष्य राखेको छ।
डाउनटाउन र वाइडनर युनिभर्सिटीबीच पैदलयात्री सम्पर्क सुधारका लागि ७२ लाख ५० हजार डलर छुट्याइएको छ। एड्जमोन्ट एभेन्युमा १४औँदेखि १७औँ स्ट्रिटसम्म फुटपाथ तथा अन्य पैदलयात्री पूर्वाधार सुधार गरिनेछ।
वाइडनर युनिभर्सिटीको ल्याथम हलको पुनर्निर्माण तथा स्थल सुधारका लागि ६२ लाख ८० हजार डलर लगानी हुनेछ। त्यस्तै, जीर्ण तथा अव्यवस्थित संरचना हटाउन र नयाँ विकासका लागि जग्गा तयार गर्न २६ लाख डलर छुट्याइएको छ। यसबाट दुई भवन भत्काउने, १० वटा प्लट खरिद गर्ने, दुई भवन खरिद गर्ने र २५ संरचनामा सुधार गर्ने योजना छ।
युवामा हिंसा न्यूनीकरण गर्न मेकिङ अ चेन्ज ग्रुपलाई ४ लाख ४० हजार २८० डलर प्रदान गरिनेछ। यसबाट चेस्टरका तीन क्षेत्रमा युवाका लागि मार्गदर्शन तथा हिंसा रोकथाम कार्यक्रम सञ्चालन गरिनेछ।
चेस्टर कल्चरल आर्ट्स एन्ड टेक्नोलोजी सेन्टरलाई सामुदायिक केन्द्रका रूपमा विकास गर्न ४ लाख डलर, स्वयंसेवी ‘नेबरहुड ब्लक क्याप्टेन’ कार्यक्रमका लागि ३३ हजार डलर र चेस्टर सहरको ‘इन्टरप्राइज जोन’ कार्यक्रमका लागि २२ हजार ८०० डलर छुट्याइएको छ।
गभर्नर शापिरोले पछिल्ला केही वर्षमा आफ्नो प्रशासनले चेस्टरका स्थानीय नेतृत्वसँग सार्वजनिक सुरक्षा, विद्यालय र मुख्य सडकमा लगानी गर्दै आएको र त्यसकै आधारमा ठूलो लगानी प्याकेज तयार पार्न सम्भव भएको बताए। उनले राज्य सरकार, स्थानीय नेतृत्व, निजी क्षेत्र तथा शैक्षिक संस्थाबीचको सहकार्यबाट चेस्टरको आगामी विकासलाई अघि बढाउने बताएका छन्।
चेस्टरका मेयर स्टेफन रुट्सले यो प्याकेजलाई सहरको दीर्घकालीन पुनरुत्थानका लागि महत्वपूर्ण लगानीका रूपमा व्याख्या गरेका छन्। उनका अनुसार यसबाट जीर्ण संरचना हटाउने, घर सुधार गर्ने, सडक तथा फुटपाथ बलियो बनाउने, सामुदायिक कार्यक्रम सुदृढ गर्ने र आर्थिक विकासका नयाँ अवसर सिर्जना गर्ने काम अघि बढ्नेछ।
चेस्टरको पुनरुत्थान रणनीतिमा आर्थिक अवसर विस्तार, समुदायको सुदृढीकरण र सार्वजनिक सुरक्षामा सुधारलाई मुख्य प्राथमिकता दिइएको छ। राज्य सरकारका अनुसार यो योजना सहरको डाउनटाउन क्षेत्रलाई दीर्घकालीन रूपमा पुनर्जीवित गर्ने व्यापक प्रयासको हिस्सा हो।















