डियुआइमा पक्राउ परेका व्यक्तिको डिपोर्ट
वासिङ्टन डीसी । अमेरिकाको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी (डीएचएस) ले यसअघि नै देशनिकाला गरिएका मेक्सिकोका एक गैरकानुनी आप्रवासीलाई पुनः पक्राउ गरी देशनिकाला गरेको जनाएको छ।
इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस) का अनुसार ओस्कार सान्चेज–कोरोनालाई अगस्ट १८ मा कन्सासको शनीबाट पक्राउ गरिएको थियो। पक्राउपछि उनले आफू गैरकानुनी रूपमा अमेरिकामा बसिरहेको स्वीकार गरेका थिए। उनलाई सेप्टेम्बर ४ मा मेक्सिकोतर्फ देशनिकाला गरिएको डीएचएसले जनाएको छ।
सान्चेज–कोरोनाको आपराधिक इतिहासमा लागुऔषधसम्बन्धी अपराध, सम्पत्तिमा क्षति पुर्याएको तथा चालक अनुमतिपत्रबिना मोटर सवारी चलाएको अभियोगमा दोषी ठहर भएको विवरण समावेश छ। उनलाई मदिरा सेवन गरी सवारी चलाएको तथा गैरकानुनी रूपमा अमेरिका प्रवेश गरेको आरोपमा समेत पक्राउ गरिएको थियो।
डीएचएसका प्रवक्ताका अनुसार सान्चेज–कोरोना यसअघि पनि एकपटक देशनिकाला भइसकेका व्यक्ति हुन्। उनको आपराधिक इतिहासमा लागुऔषधसम्बन्धी अपराध र सम्पत्ति क्षतिसम्बन्धी दोषसिद्धि तथा मदिरा सेवन गरी सवारी चलाएको आरोपमा पक्राउ परेको विवरण रहेको विभागले जनाएको छ।
सान्चेज–कोरोना पहिलोपटक कहिले र कहाँबाट गैरकानुनी रूपमा अमेरिका प्रवेश गरे भन्ने यकिन नभएको डीएचएसले जनाएको छ। अमेरिकी न्याय विभाग (डीओजे) का अध्यागमन न्यायाधीशले उनलाई सन् २०१० अक्टोबर २२ मा स्वैच्छिक रूपमा अमेरिका छाड्न अनुमति दिएका थिए। तर उनले तोकिएको समयमा अमेरिका नछाडेको विभागको भनाइ छ।
त्यसपछि उनलाई सन् २०१३ मार्चमा अमेरिकाबाट देशनिकाला गरिएको थियो। तर पछि उनी पुनः गैरकानुनी रूपमा अमेरिका प्रवेश गरेको डीएचएसले जनाएको छ। विभागका अनुसार देशनिकाला भइसकेपछि पुनः गैरकानुनी रूपमा अमेरिका प्रवेश गर्नु संघीय कानुनअन्तर्गत गम्भीर अपराध हो।
डीएचएसले सान्चेज–कोरोनालाई यसपटकको कारबाहीपछि पुनः अमेरिकाबाट देशनिकाला गरिएको जनाएको छ।















