ट्रम्प दोस्रो कार्यकाल : दुई हजारभन्दा बढी आतंकवादी भएको आशंका गरिएका व्यक्ति डिपोर्ट गरिएको दाबी
वासिङ्टन डीसी / अमेरिकी होमल्यान्ड सेक्युरिटी विभाग (डीएचएस) ले राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा २ हजारभन्दा बढी आतंकवादी गतिविधिमा संलग्न भएको आशंका गरिएका व्यक्तिलाई अमेरिकाबाट निष्कासन गरिएको जनाएको छ।
डीएचएसद्वारा बिहिवार जारी विज्ञप्ती अनुसार सन् २०२५ जनवरी २० देखि २०२६ सेप्टेम्बर ९ सम्म इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस) ले अमेरिकामा २ हजार १५० भन्दा बढी ‘ज्ञात वा शंकास्पद आतंकवादी’ (केएसटी) लाई पक्राउ गरेको छ भने २ हजार १५ जनालाई देशनिकाला गरेको छ।
डीएचएसले सेप्टेम्बर ११ को आतंकवादी हमलाको २५औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा उक्त विवरण सार्वजनिक गरेको हो।
डीएचएस सचिव मार्कवेन मुलिनले आइसका अधिकारीहरूले अमेरिकी भूमिको सुरक्षा र अमेरिकी जनताको सुरक्षाका लागि आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको बताएका छन्। उनका अनुसार ट्रम्प प्रशासनअन्तर्गत आइसले २ हजार १०० भन्दा बढी ज्ञात वा शंकास्पद आतंकवादीलाई पक्राउ गरेको र २ हजारभन्दा बढीलाई अमेरिकाबाट निष्कासन गरेको छ।
डीएचएसले ट्रम्प प्रशासनअन्तर्गत पक्राउ तथा निष्कासन गरिएका व्यक्तिका केही उदाहरणसमेत सार्वजनिक गरेको छ।
मेक्सिकोका नागरिक अब्राहम हर्मोसिलो अल्भारेजलाई नेब्रास्काको ओमाहामा पक्राउ गरिएको थियो। उनी जुन महिनामा भएको यूएफसी फ्रिडम २५० विरुद्धको असफल आतंकवादी योजनाको मुख्य योजनाकार भएको आरोपमा पक्राउ परेका थिए। डीएचएसका अनुसार उनी बी–२ पर्यटक भिसामार्फत अमेरिका प्रवेश गरेका थिए र सन् २००१ डिसेम्बरमा भिसाको अवधि सकिएपछि पनि अमेरिका छाडेका थिएनन्। सन् २०१४ मा ओबामा प्रशासनले उनलाई ‘डिफर्ड एक्सन फर चाइल्डहुड अराइभल्स’ (डाका) अन्तर्गतको सुविधा दिएको थियो।
ब्राजिलका नागरिक फिलिपे लिनारेस डि ओलिभेरा डेल अक्विलालाई पनि जुनमा नर्थ क्यारोलिनाको मुरेसभिलबाट पक्राउ गरिएको थियो। डीएचएसका अनुसार उनी प्रिमेइरो कोमान्डो दा कापिताल (पीसीसी) र कोमान्डो भेर्मेल्हो (सीभी) का पूर्व कमान्डर हुन्। यी दुवै संगठनलाई अमेरिकाले विदेशी आतंकवादी संगठनका रूपमा तोकेको छ। पक्राउ पर्दाका बेला उनले आफ्नी श्रीमतीलाई उनको इच्छाविपरीत नियन्त्रणमा राखेको र मेक्सिको भाग्ने तयारीमा रहेको डीएचएसको दाबी छ।
डीएचएसका अनुसार जुन महिनामै आतंकवादी संगठन ट्रेन डे अरागुआका चार सदस्यले सन् २०२४ मा न्युयोर्कको ब्रोंक्समा भएको दोहोरो हत्यासम्बन्धी मुद्दामा दोष स्वीकार गरेका थिए।
भेनेजुएलाका काइबर जेन मार्टिनेज उर्फ ‘कीबे’ लाई पनि डीएचएसले सूचीमा राखेको छ। उनी सन् २०२३ मा टेक्सस हुँदै अमेरिका प्रवेश गरेका थिए। अमेरिकी न्याय विभाग (डीओजे) का अध्यागमन न्यायाधीशले सन् २०२४ सेप्टेम्बर ५ मा उनलाई अमेरिकाबाट निष्कासन गर्ने अन्तिम आदेश जारी गरेका थिए।
त्यस्तै, भेनेजुएलाका स्यामुएल गोन्जालेज कास्त्रो उर्फ ‘क्ले’ वा ‘क्लेई’ सन् २०२२ मा गैरकानुनी रूपमा अमेरिका प्रवेश गरेको र पछि बाइडेन प्रशासनले उनलाई रिहा गरेको डीएचएसले जनाएको छ। उनलाई अमेरिकाबाट निष्कासन गर्ने अन्तिम आदेश सन् २०२४ नोभेम्बर २० मा जारी गरिएको थियो।
भेनेजुएलाकै एफर्सन गाब्रियल मोरिल्लो–गोमेज उर्फ ‘जेफर्सन’ सन् २०२३ मा टेक्सस हुँदै गैरकानुनी रूपमा अमेरिका प्रवेश गरेको डीएचएसले जनाएको छ। उनलाई पनि बाइडेन प्रशासनले रिहा गरेको विभागको दाबी छ।
डीएचएसले सार्वजनिक गरेको अर्को नाम भेनेजुएलाका कानेयर इबार्रा–मुहिका उर्फ ‘केनियर’ को हो। उनी सन् २०२३ मा टेक्सस हुँदै गैरकानुनी रूपमा अमेरिका प्रवेश गरेको र बाइडेन प्रशासनले रिहा गरेको डीएचएसले जनाएको छ। उनलाई अमेरिकाबाट निष्कासन गर्ने अन्तिम आदेश सन् २०२४ जुन १७ मा जारी गरिएको थियो।
डीएचएसले आगामी सेप्टेम्बर ११ मा अमेरिकामा भएको आतंकवादी हमलाको २५ वर्ष पूरा हुन लागेको उल्लेख गर्दै राष्ट्रिय सुरक्षाका लागि आतंकवादसँग सम्बन्धित जोखिममा रहेका व्यक्तिमाथि कारबाहीलाई प्राथमिकता दिइएको जनाएको छ।















