अमेरिका निवासी इन्द्र तामाङ परिवारद्वारा बाढी पीडितका लागि ७ लाख ५० हजार रुपैयाँ सहयोग
न्यूयोर्क / नेपालका रसुवा, नुवाकोट र धादिङलगायत क्षेत्रमा आएको विनाशकारी बाढी पहिरोबाट प्रभावित परिवारको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि अमेरिकाको न्यूयोर्क निवासी इन्द्र तामाङ परिवारले प्रधानमन्त्री विपद् राहत कोषमा ७ लाख ५० हजार रुपैयाँ सहयोग गरेका छन्।
मकवानपुरको फाखेलमा जन्मी–हुर्की काठमाडौँको ज्ञानेश्वर हुँदै विगत पाँच दशकदेखि अमेरिकाको न्यूयोर्कलाई कर्मथलो बनाउँदै आएका तामाङ सामाजिक गतिविधि तथा विभिन्न सामाजिक सेवामा सक्रिय रहँदै आएका छन्।
बाढीपहिरोका कारण ठूलो मानवीय क्षति हुनुका साथै धेरै परिवारले ज्यान गुमाउनुपरेको, घरबारविहीन बन्नुपरेको र विस्थापित हुनुपरेको घटनाले आफू अत्यन्त दुःखी र मर्माहत भएको तामाङले बताएका छन्।
जन्मभूमिबाट टाढा रहे पनि नेपाल र नेपाली जनतासँगको आफ्नो भावनात्मक सम्बन्ध कहिल्यै नटुटेको उल्लेख गर्दै तामाङले प्राकृतिक विपत्ति, मानवीय संकट तथा दुःखका समयमा आफ्नो क्षमताले भ्याएसम्म सहयोग गर्नु आफ्नो कर्तव्य ठान्दै आएको बताएका छन्।
भोटेकोशी बाढी पहिरोबाट प्रभावित परिवारको उद्धार, तत्कालीन राहत तथा पुनर्स्थापनामा केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले परिवारका तर्फबाट उक्त रकम प्रदान गरिएको उनले बताएका छन्।
तामाङ परिवारले आर्थिक सहयोगलाई पीडित परिवारप्रतिको ऐक्यबद्धता, सहानुभूति र मानवीय संवेदनाको प्रतीकका रूपमा व्याख्या गरेको छ। विदेशमा रहेर पनि मातृभूमिमा आइपरेको विपत्तिमा साथ दिनु सामाजिक जिम्मेवारी र मानवीय कर्तव्य भएको परिवारको भनाइ छ।
तामाङ परिवारले बाढी पहिरोबाट प्रभावित परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभ तथा विस्थापित परिवारको सुरक्षित, सम्मानजनक र दीर्घकालीन पुनर्स्थापनाको कामना गरेको छ।
त्यस्तै, प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको उद्धार, राहत तथा दीर्घकालीन पुनर्स्थापनाका लागि नेपाल सरकार, स्थानीय तह, सामाजिक संघसंस्था, देश–विदेशमा रहेका नेपाली समुदाय तथा मनकारी व्यक्तिहरूलाई आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्न तामाङ परिवारले अपिल गरेको छ।














