बुधखरी फाउन्डेशनको संयोजनमा पेन्सिल्भेनिया ह्यारिसबर्गमा नेपालमा बाढीपहिरोमा ज्यान गुमाएकाको सम्झनामा शोक सभा र दीप प्रज्वलन
ह्यारिसबर्ग, पेन्सिल्भेनिया / नेपालमा हालै आएको विनाशकारी बाढीपहिरोमा ज्यान गुमाएकाहरूको सम्झनामा अमेरिकाको पेन्सिल्भेनिया राज्यस्थित ह्यारिसबर्गमा सोमबार साँझ शोकसभा तथा सामूहिक दीप प्रज्वलन गरिएको छ।
बुधखरी फाउन्डेशनको संयोजनमा ह्यारिसबर्गस्थित लिङ्गल पार्कमा आयोजित कार्यक्रममा विभिन्न धार्मिक तथा सांस्कृतिक संस्थाका प्रतिनिधि, सामाजिक अभियन्ता तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो। कार्यक्रममा सहभागीहरूले बाढीपहिरोमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरे।
कार्यक्रममा मृतकहरूको सम्मानमा एक मिनेट मौनधारण गर्नुका साथै सामूहिक रूपमा दीप प्रज्वलन गरिएको थियो। विभिन्न धार्मिक संस्थाका प्रतिनिधिहरूले शोक मन्तव्य व्यक्त गर्दै विपत्तिको यस घडीमा नेपालमा रहेका पीडित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाए।
बुधखरी फाउन्डेशनका अध्यक्ष टीका ढुङ्गानाले नेपालमा आएको विपत्तिले विदेशमा रहेका नेपालीभाषी समुदायको मन पनि उत्तिकै दुखेको बताए।
“नेपाल रुँदा रोएका छौँ हामी। जहाँ जन्मिए पनि, जस्तो परिवेशमा जन्मिए पनि हामी सबैको मन नेपालसँग जोडिएको छ,” ढुङ्गानाले भने, “पूर्वभूटानी शरणार्थी समुदाय पनि यो दुःखमा रोएको छ र आफ्नो क्षमताअनुसार सहयोग गर्दै आएको छ।”

उनले बाढीपहिरोमा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारलाई सहयोग पुर्याउनु सबैको साझा दायित्व भएको बताए।
पूर्वभूटानी शरणार्थी समुदायबाट एक लाख डलर जुटाउने लक्ष्य
ढुङ्गानाका अनुसार भूटनीज कम्युनिटी सेन्टर ओहायो (बीसीसीओ) को अगुवाइमा नेपालका बाढीपहिरो पीडितका लागि अमेरिकाभर राहत रकम संकलन अभियान सञ्चालन भइरहेको छ।
ढुङ्गनाका अनुसार शुरुमा ७५ हजार अमेरिकडी डलरको अपेक्षा गरिएकोमा अभियानबाट हालसम्म करिब ६५ हजार अमेरिकी डलर संकलन भइसकेको र अब एक लाख अमेरिकी डलरको लक्ष्य राखिएको छ ।

संकलित रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत पीडितसम्म पुर्याउने योजना रहेको उनले जानकारी दिए।
उनले अमेरिकामा रहेका पूर्वभूटानी शरणार्थी तथा नेपालीभाषी समुदायका सबैलाई राहत अभियानमा सक्दो सहयोग गर्न आग्रह गरे।
“हामीले आफूले सक्ने सहयोग गरौँ। विपत्तिमा परेका नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई यो रकमले केही राहत दिन सक्नेछ,” ढुङ्गानाले अपिल गरे।
स्थानीय सञ्चारमाध्यमको पनि चासो
ह्यारिसबर्गमा आयोजित शोकसभा तथा दीप प्रज्वलन कार्यक्रमप्रति स्थानीय सञ्चारमाध्यमले समेत चासो देखाएका थिए। सीबीएस २१ / डब्लुजीएल लगायतका स्थानीय सञ्चारमाध्यमले कार्यक्रमलाई प्राथमिकताका साथ समाचारका रूपमा प्रस्तुत गरेका थिए।

नेपालमा भएको प्राकृतिक विपत्तिप्रति दुःख व्यक्त गर्दै आयोजित कार्यक्रममा सर्वसाधारणको बाक्लो सहभागिताले विदेशमा बसे पनि पितृभूमिप्रतिको भावनात्मक सम्बन्ध र मानवीय संवेदना बलियो रहेको देखाएको सहभागीहरूले बताएका छन्।















