सामुदायिक श्रद्धाञ्जली र दीप प्रज्ज्वलन : आवश्यकता कि सस्तो लोकप्रियता?
केशब बैरागी माइलो
नेपाल आमालाई यतिबेला जुठो परेको छ। भोटेकोशीको उर्लंदो भेलले हजारौँ सन्तान निलेको छ। कैयौँ अझै बेपत्ताको सूचीमा छन्। घर, खेत, सडक, पुल र वर्षौँको पसिनाले उभ्याएका सपनाहरू आँखैअगाडि बगेका छन्। कतिपय बाआमाको काख रित्तिएको छ। कतिपय परिवारका आँखाहरू आफ्ना मान्छेको खोजीमा अझै बाटोतिर टोलाइरहेका छन्।
यस्तो विषम घडीमा विदेशमा बस्ने नेपालीहरूले मातृभूमिप्रति सहयोगको हात बढाउनु निश्चय नै प्रशंसनीय कर्म हो। विपत्तिमा जन्मभूमिलाई सम्झनु, पीडितको घाउमा मल्हम लगाउनु र सक्दो सहयोग गर्नु नै प्रवासमा रहेको नेपालीपनको सच्चा परिचय हो तर एउटा प्रश्नले मनमा घोचिरहन्छ श्रद्धाञ्जली दिन हामीलाई यति धेरै हतार किन?
प्रभावित बस्तीहरूमा अझै उद्धारको अभियान चलिरहेको छ। कतै भग्नावशेष पन्छाएर बेपत्ताको खोजी भइरहेको छ, कतै घाइतेहरू जीवनसँग संघर्ष गरिरहेका छन्। कतै आमाबुबा बाटोतिर आँखा लगाएर बसेका छन्,‘सायद मेरो सन्तान फर्किएर आउला कि!’
जसको घर बगेको छ, ऊ भग्नावशेषभित्र आफ्नो जीवनको अवशेष खोजिरहेको छ। जसले सन्तान गुमाएको छ, उसका आँखाका आँसु अझै ओभाएका छैनन् तर हामी हजारौँ माइल टाढा बसेर हातमा दीप बाल्छौँ र दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्छौँ।
दीप बाल्नु आफैँमा गलत होइन। श्रद्धाञ्जली अर्पण गर्नु पनि गलत होइन। प्रश्न श्रद्धाञ्जलीको होइन ; समय, प्राथमिकता र संवेदनाको हो।अहिले श्रद्धाञ्जलीभन्दा पहिले उद्धारको आवाज ठुलो हुनुपर्ने होइन र?
दीपभन्दा पहिले राहतको हात पुग्नुपर्ने होइन र? शोकसभाभन्दा पहिले हराइरहेकाहरूको खोजीमा हाम्रो सामूहिक शक्ति परिचालित हुनुपर्ने होइन र?
नेपालभित्रका मानिसहरू विपत्तिको कठोर पहरामा छन्। उनीहरूलाई अहिले भाषणभन्दा औषधि चाहिएको छ । श्रद्धाञ्जलीभन्दा खाना, सामाजिक सञ्जालका पोस्टभन्दा एउटा कम्बल र औपचारिक कार्यक्रमभन्दा एउटा आत्मीय सहयोगी हात आवश्यक छ ।
मलाई लाग्छ, अर्को प्रश्न अझ गम्भीर छ । प्रवासी नेपाली समुदाय विपत्तिको घडीमा पनि किन गुट उपगुटमा विभाजित देखिन्छन् ?
एउटै पीडा, एउटै मातृभूमि र एउटै शोक हुँदा पनि छुट्टाछुट्टै कार्यक्रम, छुट्टाछुट्टै दीप, छुट्टाछुट्टै मञ्च र छुट्टाछुट्टै नेतृत्व प्रदर्शन किन?दुःखको घडीमा हाम्रो परिचय संस्था र पदले हुने हो कि मानवीयताले?
कतै हामी पीडितको आँसुलाई आफ्नै उपस्थिति देखाउने अवसर त बनाइरहेका छैनौँ?सामुदायिक श्रद्धाञ्जली आवश्यक छ। तर त्यसका लागि समय आउँछ। शोकलाई विधिवत् स्मरण गर्ने, दिवङ्गतप्रति श्रद्धा अर्पण गर्ने र सामूहिक संवेदना प्रकट गर्ने अवसर पछि पनि रहन्छ।
अहिले भने एउटै दीप पर्याप्त छ,त्यो मैनबत्तीमा होइन, मानवताको मनमा दीप बल्नुपर्छ। आज हातमा दीप होइन मनमा सहयोग होस् । आज मञ्च होइन, राहतको अभियान चलोस्। आज भाषण होइन, बाँचेकाहरूको जीवन बचाउने संकल्प गुन्जियोस्। ।
आज कसले के कार्यक्रम गर्यो भन्ने चासो होइन आँसु पुछ्ने कर्म अगाडि बढोस्। आज कसले फोटो खिच्यो भन्ने होइन, कसको चुलो बल्यो भन्ने प्रश्न उब्जियोस् । किनकि शोक मनाउने समय आउँछ, श्रद्धाञ्जली अर्पण गर्ने दिन आउँछ, दीप बाल्ने अवसर पनि आउँछ तर उद्धारको समय पर्खेर आउँदैन।
अहिले दीप नबालौँ भन्ने होइन पहिले जीवन बचाऔँ, अनि स्मृतिमा दीप बालौँ। यही नै विपत्तिमा सच्चा श्रद्धाञ्जली हुनेछ। यही नै मातृभूमिप्रतिको सच्चा धर्म हुनेछ। यही नै हाम्रो मानवीयताको उज्यालो परिचय हुनेछ।
(अमेरिकाको पेन्सिल्भेनिया राज्यको ह्यारिसबर्ग निवासी लेखक केशव बैरागी माइलो त्रिवेणी साहित्य मञ्चका निवर्तमान अध्यक्ष हुन् ।)














