पेन्सिल्भेनिया ल्यान्कास्टरमा ६ घण्टा आकस्मिक चेकिङ: ११ गाडी नियन्त्रण, १२ जरिवाना
ल्यान्कास्टर, पेन्सिल्भेनिया / पेन्सिल्भेनियाको ल्यान्कास्टर टाउनसिप प्रहरी विभागले ‘क्लिक इट अर टिकट’ ट्राफिक सुरक्षा तथा कार्यान्वयन अभियान सञ्चालन गर्दा दर्जन जरिवाना गरिएको जनाएको छ ।
पेन्सिल्भेनियाको सडक सुरक्षालाई चुस्त बनाउन ल्यान्कास्टर टाउनसिप पुलिस डिपार्टमेन्टले अगस्त १८ तारिख ६ घण्टाको विशेष ‘स्विप’ आकस्मिक चेकिङ अभियानमा चलाएको हो ।
पेन्सिल्भेनिया स्टेट पुलिस तथा अन्य स्थानीय सुरक्षा निकायहरूसँगको संयुक्त सहकार्यमा सञ्चालित अभियान अन्तर्गत प्रहरीले सडक नियम मिच्नेहरूमाथि कडा कारबाही गरेको हो।
प्रहरीले सोमबार जारी गरेको विज्ञप्ति अनुसार अगस्त १८ तारिक साँझ ६ बजेदेखि मध्यरातसम्म सञ्चालन गरिएको उक्त ६ घण्टे विशेष चेकिङका क्रममा प्रहरीले तीव्र गतिमा निगरानी बढाएको थियो।
जसमा सडक नियम उल्लङ्घन गरेको आशंकामा प्रहरीले ११ वटा सवारी साधनहरूलाई सडकमा रोकेर तत्काल नियन्त्रणमा लिएको विज्ञप्तिमा उल्लेख छ ।
त्यस मध्ये सिट बेल्ट नबाँध्ने र मोटर गाडी सम्बन्धी अन्य कानुन पालना नगर्ने चालकहरूलाई स्थलगत रूपमै १२ वटा ट्राफिक जरिवाना जारी गरिएको जनाइएको छ ।
चेकिङकै क्रममा प्रतिबन्धित लागू औषध कारोबारमा संलग्न रहेको आरोपमा १ जना वयस्क र १ जना नाबालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
ल्यान्कास्टर टाउनसिप पुलिस डिपार्टमेन्टले सर्वसाधारणको ज्यान जोगाउन र सडक दुर्घटना कम गर्न यस्ता चेकिङ अभियानहरू थप प्रभावकारी बनाइने बताएको छ। प्रहरीले जनचेतना, कानुनी कारबाही र सामुदायिक साझेदारी मार्फत सडकलाई सुरक्षित बनाउन आफूहरू निरन्तर लागिपर्ने प्रतिबद्धता समेत जनाएको छ।
तस्विर : ल्यान्कास्टर टाउनसिप प्रहरी विभाग














