ओहायोमा मनी लाउन्ड्रिङ अभियोगमा नेपाली व्यवसायी पक्राउ
ओहायो / ओहायोको लिकिङ काउन्टीस्थित ‘लक्ष्मी ज्वेलर्स युएसए’ सँग आबद्ध रहेका नेपाली व्यवसायी भीषण अधिकारी मनी लाउन्ड्रिङ (सम्पत्ति शुद्धीकरण) को गम्भीर अभियोगमा पक्राउ परेका छन् ।
अमेरिकी सङ्घीय अनुसन्धान ब्युरो (एफबीआइ) र स्थानीय सुरक्षा निकायको संयुक्त अपरेसनका अधिकारी पक्राउ परेको जनाइएको छ ।अगस्त १९ तारिक पक्राउ परेका अधिकारी माथि अमेरिकी सङ्घीय अदालतमा मुद्दा दर्ता भएको छ ।
अधिकारीमाथि अवैध वित्तीय सञ्जाल खडा गरी मात्र एक वर्षको अवधिमा आठ लाख डलरभन्दा बढीको घरजग्गा खरिद गरेर सम्पत्ति शुद्धीकरण गरेको दुई वटा मुख्य अभियोग लगाइएको छ ।
सङ्घीय अदालतको आदेश र लुकास काउन्टी सुधार केन्द्रको आधिकारिक बुकिङ रेकर्ड अनुसार भीषण अधिकारीलाई अगस्ट १९ बिहान ९:३० बजे एफबीआईको टोलीले नियन्त्रणमा लिएको हो।

हाल उनलाई सङ्घीय अध्यागमन हिरासत स्थानान्तरणमा राखिएको छ। पक्राउ पर्नुअघि गत मंगलबार प्रहरी र सङ्घीय एजेन्टहरूले एट्ना टाउनसिपमा रहेको उनको लक्ष्मी ज्वेलर्समा अदालतको अनुमतिमा विशेष छापा समेत मारेको जनाइएको छ ।
सङ्घीय अनुसन्धान एजेन्सीहरूको प्रारम्भिक प्रतिवेदन अनुसार अधिकारीले अवैध रकमलाई वैध बनाउन एक योजनाबद्ध वित्तीय चक्र खडा गरेको दाबी गरिएको छ ।
अधिकारीले आफ्नो स्वामित्वमा ‘माउन्ट लोटस एलएलसी’ नामको एउटा ‘सेल कम्पनी’ दर्ता गराएका थिए जनाइएको छ ।
अधिकारीको कम्पनी ‘माउन्ट लोटस एलएलसी’ ले मात्र एक वर्षभित्र ओहायोका ३ वटा फरक-फरक काउन्टीहरूमा ८ लाख ३२ हजार अमेरिकी डलर भन्दा बढी मूल्यका ५ वटा घरजग्गाहरू नगद वा ठूलो डाउनपेमेन्ट गरी खरिद गरेको पुष्टि भएको जनाइएको छ ।
ओहायोमा केही समयअघि ४७ वटा स्वास्थ्य संस्थाहरू निलम्बनमा परेको बृहत् मेडिकेड वित्तीय घोटाला पछि मनिलउन्ड्ररिङमा अधिकारी पक्राउ परेका हुन्।
अमेरिकी कानुनी व्यवस्था अनुसार यी सबै अभियोगहरू हाल अनुसन्धान र दाबीको प्रारम्भिक चरणमा मात्र छन्। अदालतबाट पूर्ण रूपमा दोषी प्रमाणित नभएसम्म भीषण अधिकारी कानुनी रूपमा निर्दोष नै मानिनेछन् ।
यसै बीच भूट्नीज कम्युनीटी अफ सेन्टर पेन्सिल्भेनियाका बोर्ड सदस्य तथा लक्ष्मी ज्वलेर्स ह्यारिसबर्गका संचालक ओम अधिकारीका अनुसार ओहायोमा पक्राउ परेका अधिकारी नेपाली हुन र उनीको लक्ष्मी ज्वलर्स ह्यारिसबर्ग सँग कुनै संलग्नता छैन् ।
सच्याइएको : यस अगाडि भीषण अधिकारी ‘नेपाली भाषी भूटानी’ भएकोमा क्षमायचना सहित सच्याएका छौ ।













