३५ वर्षमा नेपालमा केही भएन त?
सञ्जय थापा
पछिल्ला केही वर्षयता नेपाली समाजमा एउटा भाष्य योजनाबद्ध रूपमा स्थापित गर्न खोजिएको देखिन्छ—“३५ वर्षमा नेपालमा केही भएन।” विशेष गरी युवापुस्तामाझ लोकतन्त्र, बहुदल र गणतन्त्रको अवधिलाई केवल असफलता, भ्रष्टाचार र निराशाको दृष्टिले हेर्ने प्रवृत्ति बढिरहेको छ।
सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म यो विषय बारम्बार उठ्ने गरेको छ। तर, के साँच्चै ३५ वर्षमा नेपालमा केही भएन त? ३५ वर्ष नपुगेका युवाहरूले विगतको नेपाल प्रत्यक्ष रूपमा नदेखेका हुन सक्छन्। तर, पञ्चायतकालको अन्तिम समय, बहुदलीय व्यवस्था र गणतन्त्रको यात्रालाई आफ्नै जीवनमा भोगेका पुस्ताले समेत “केही भएन” भन्नु भने आश्चर्यजनक लाग्छ।
विडम्बना के छ भने, यो विषयमा तथ्यका आधारमा बहस र समीक्षा गर्नुभन्दा भावनात्मक निष्कर्ष निकाल्ने प्रवृत्ति बलियो बन्दै गएको छ। हालै भौतिक पूर्वाधार तथा यातायात मन्त्रीले नेपालमा एक लाख किलोमिटरभन्दा बढी सडक सञ्जाल निर्माण भएको तथ्य सार्वजनिक गरेपछि धेरै मानिसहरू आश्चर्यचकित भए।
किनकि, लामो समयदेखि “देशमा केही बनेन” भन्ने भाष्य यति गहिरोसँग स्थापित गरिएको छ कि तथ्याङ्कले समेत सहजै विश्वास पाउन सकेको छैन। नेपाल सरकारका आधिकारिक तथ्याङ्कहरू हेर्दा, ३५ वर्षअघिको नेपाल र आजको नेपालबिच ठुलो अन्तर देखिन्छ।
वि.सं. २०४७ सालतिर नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) करिब ३ खर्ब रुपैयाँको हाराहारीमा थियो। आज त्यो बढेर ६४ खर्ब रुपैयाँभन्दा माथि पुगेको छ। त्यस बेला करिब ४९ प्रतिशत नेपाली निरपेक्ष गरिबीको रेखामुनि थिए भने अहिले यो सङ्ख्या घटेर करिब २२ प्रतिशतमा झरेको छ।
कोभिड–१९ महामारी र २०७२ सालको भूकम्पअघि यो दर झन्डै १७ प्रतिशतसम्म झरेको थियो। पूर्वाधार विकासको अवस्था पनि त्यत्तिकै परिवर्तन भएको छ। ३५ वर्षअघि नेपालमा जम्मा ७,३३० किलोमिटर सडक सञ्जाल थियो। आज त्यो बढेर १ लाख ८ हजार किलोमिटरभन्दा बढी पुगेको छ।
गाउँ–गाउँसम्म सडक पुगेका छन्। जुन बाटो भएर आज मानिसहरू आफ्ना गाउँ फर्किरहेका छन्, ती सडकहरू कुनै एक दिनमा बनेका होइनन्; ती दशकौँको लगानी, योजना र परिश्रमको परिणाम हुन्। खानेपानीको पहुँचमा उल्लेखनीय सुधार आएको छ। ३५ वर्षअघि केवल ३६ प्रतिशत नेपालीको पहुँच आधारभूत खानेपानी सम्म थियो। आज यो पहुँच ९६ प्रतिशतभन्दा माथि पुगेको छ। त्यस्तै, साक्षरतादार ५० प्रतिशतबाट बढेर ७७ प्रतिशत पुगेको छ। आर्थिक अवस्थाको कुरा गर्दा, ३५ वर्षअघि नेपालीको प्रतिव्यक्ति आय करिब १८५ अमेरिकी डलर थियो। आज त्यो बढेर झन्डै १,५०० अमेरिकी डलर पुगेको छ।
मुद्रास्फीतिका कारण मूल्य स्तरमा परिवर्तन आएको भए पनि आम्दानी र उपभोग क्षमतामा उल्लेखनीय वृद्धि भएको तथ्यलाई नकार्न सकिँदैन। सञ्चार क्षेत्रमा त नेपालले अभूतपूर्व फड्को मारेको छ। ३५ वर्षअघि देशभर जम्मा ७६ हजार ५६० वटा टेलिफोन सेट थिए, तीमध्ये धेरैजसो सरकारी कार्यालय र राजदरबारमा सीमित थिए। आज तीन करोडभन्दा बढी सिम कार्ड वितरण भइसकेका छन्। घर–घरमा इन्टरनेट पुगेको छ, र मोबाइल फोन दैनिक जीवनको अभिन्न हिस्सा बनेको छ।
ऊर्जा क्षेत्रमा भएको परिवर्तन पनि कम महत्त्वपूर्ण छैन। ३५ वर्षअघि केवल ८.८१ प्रतिशत नेपालीको घरमा विद्युत् पहुँच थियो। आज यो सङ्ख्या ९९ प्रतिशत नाघिसकेको छ। विद्युत् उत्पादन क्षमता २२७ मेगावाटबाट बढेर ३,४०० मेगावाटभन्दा माथि पुगेको छ। स्वास्थ्य क्षेत्रमा भएको सुधार झन् उल्लेखनीय छ। करिब ३५ वर्षअघि नेपालीहरूको औसत आयु ५४–५५ वर्ष मात्र थियो।
कमजोर स्वास्थ्य सेवा, सीमित खोप कार्यक्रम, कुपोषण र सरसफाइको अभावले जीवन प्रत्याशा निकै कम थियो। आज नेपालीहरूको औसत आयु ७१–७२ वर्ष पुगेको छ। बाल मृत्युदर घटेको छ, स्वास्थ्य सेवा विस्तार भएको छ, र नागरिकको जीवनस्तरमा सुधार आएको छ। यी सबै तथ्याङ्कले नेपालले विगत ३५ वर्षमा कुनै प्रगति नगरेको होइन, बरु धेरै क्षेत्रमा उल्लेखनीय परिवर्तन हासिल गरेको देखाउँछन्।
यसको अर्थ यो होइन कि नेपालमा समस्या छैनन्। भ्रष्टाचार, बेरोजगारी, सुशासनको अभाव, राजनीतिक अस्थिरता र विकासको असमान वितरणजस्ता चुनौतीहरू अझै विद्यमान छन्। नागरिकका अपेक्षा पनि स्वाभाविक रूपमा बढेका छन्। तर, समस्या छन् भन्दैमा उपलब्धिहरूलाई पूर्ण रूपमा अस्वीकार गर्नु उचित हुँदैन।
लोकतन्त्र, बहुदल र गणतन्त्रका कमीकमजोरीमाथि आलोचना हुनु आवश्यक छ, तर त्यो आलोचना तथ्यमा आधारित हुनुपर्छ, भ्रम र निराशामा होइन। त्यसैले, “३५ वर्षमा नेपालमा केही भएन” भन्ने निष्कर्षमा पुग्नुअघि हामीले तथ्याङ्क, इतिहास र समाजमा आएका परिवर्तनलाई निष्पक्ष रूपमा हेर्न आवश्यक छ।
बाँदर लड्ने भीर छिचोल्दै गाउँ-गाँउमा मोटर बाटो पुग्यो, हजारौँ किलोमिटर सडक कालो पत्रे भए, हरेक गाउँमा बिजुली पुग्यो, स्कुल पुगे, स्वास्थ्य चौकी पुगे, घर घर पानीका धारा पुगे, हात हातमा फोन र इन्टरनेट पुगे तर विकास पुगेन भन्ने भाष्य बनाइयो ।
प्रश्न केवल “के भएन?” भन्ने मात्र होइन, “के भयो?” भन्ने पनि हो। अनि, अझ महत्त्वपूर्ण प्रश्न—“अब के गर्नुपर्छ?” भन्ने हो।
(अमेरिकाको न्यु योर्क निवासी नेकपा एमालेका केन्द्रीय सदस्य हुन । )

















