२८ वर्ष पछि फिफा विश्वकपमा फर्किएको नर्वेले अमेरिकाको विश्वविद्यालय मैदानमा गर्यो खुला अभ्यास
बिपश्यना खनाल
ग्रिन्सबोरो, नर्थ क्यारोलाइना / विश्व फुटबलको सबै भन्दा ठूलो खेल महोत्सव फिफा विश्वकप २०२६ उत्तर अमेरिकाका तीन मुलुकमा शुरु भएको छ ।
अमेरिका सहित मेक्सिको र क्यानडाले संयुक्त रुपमा आयोजना गरेको विश्व कपमा नर्वेको राष्ट्रिय फुटबल टोलीले आफ्नो अन्तिम तयारीका लागि एउटा विशेष र यादगार स्थान रोज्यो, अमेरिकाको नर्थ क्यारोलाइना राज्यस्थित युनिभर्सिटी अफ नर्थ क्यारोलाइना एट ग्रिन्सबोरो को फुटबल मैदान।
युनिभर्सिटी अफ नर्थ क्यारोलाइना एट ग्रिन्सबोरो एउटा सरकारी विश्वविद्यालय हो, जुन नेपालको त्रिभुवन विश्वविद्यालय जस्तै राज्यद्वारा सञ्चालित संस्था हो।
अमेरिकामा विश्वविद्यालयहरूले प्रायः अन्तर्राष्ट्रिय स्तरका खेलकुद सुविधा उपलब्ध गराउँछन्, र यो विश्वविद्यालय पनि त्यसको अपवाद होइन। यस विश्वविद्यालयलाई फिफा विश्वकप २०२६ का लागि नर्वे राष्ट्रिय फुटबल टोलीको आधिकारिक प्रशिक्षण केन्द्र तथा आधार शिविरका रूपमा चयन गरिएको छ।

नर्वे टोली ग्रिन्सबोरोस्थित ग्रान्डओभर रिसोर्ट मा बसोबास गर्दै विश्वविद्यालयका प्रशिक्षण मैदान, जिम तथा तथा रिकभरी केन्द्र लगायतका सुविधा प्रयोग गरिरहेको छ।
जुन १० बुधवार टोलीले आफ्नो प्रशिक्षण सत्र सर्वसाधारणका लागि खुला गर्यो, जसले दर्शकहरूबाट अभूतपूर्व सहभागिता गरायो । विश्वविद्यालयको फुटबल रङ्गशालामा हजारौं फुटबल प्रेमीहरू जम्मा भए, जसले नर्वे टोलीलाई २८ वर्षपछि पहिलो पटक विश्वकपमा सहभागिता जनाउन तयारी गरिरहेको प्रत्यक्ष हेर्ने अवसर पाए।

सन् १९९८ मा फ्रान्स सम्पन्न विश्व कप पछि नर्वे पहिलो पटक विश्वकपको फाइनल राउन्डमा छनौट भएको हो ।
रङ्गशालाको दर्शक क्षमता करिब ३५ सय भए पनि अभ्यास सत्र हेर्नका लागि २० हजार भन्दा बढी व्यक्तिहरूले प्रवेश पत्रको माग गरेका थिए।

सन् १९९१ मा निर्माण गरिएको यस रङ्गशालामा प्राकृतिक घाँस, टेलिभिजनमैत्री प्रकाश व्यवस्था, आधुनिक स्कोर बोर्ड तथा ३५ भन्दा धेरै दर्शक क्षमता रहेको छ।
ग्रिन्सबोरोको यो छनोट उत्तर क्यारोलाइनामा विश्वकपसँग जोडिएको फराकिलो कथाको एउटा महत्त्वपूर्ण हिस्सा हो।

जर्मनी, नर्वे र स्कटल्यान्ड, यी तीन राष्ट्रिय टोलीहरूले नर्थ क्यारोलाइनामा आफ्नो आधार शिविर स्थापना गरेका छन्, जसमध्ये दुई टोली ग्रिन्सबोरो क्षेत्रमा नै रहेका छन्।
नर्वेका खेलाडीहरूका लागि विश्वविद्यालयसँगको सम्बन्ध व्यक्तिगत रूपमा पनि महत्त्वपूर्ण छ। विश्वविद्यालयको पुरुष फुटबल टोलीमा दुई जना नर्वेली खेलाडीहरू आबद्ध छन्, जसले आफ्नै मैदानमा आफ्नो देशको राष्ट्रिय टोलीलाई अभ्यास गरिरहेको दुर्लभ अवसर प्राप्त गरेका छन्।

स्थानीय नेताहरूका अनुसार यस अवसरले ग्रिन्सबोरोलाई भविष्यका अन्तर्राष्ट्रिय खेलकुद आयोजनाहरू, जसमा सन् २०२९ को विश्व विश्वविद्यालय खेलकुद पनि समावेश छ, आयोजना गर्न थप तयार बनाउन मद्दत गर्नेछ।
र अहिले नर्थ क्यारोलाइनाको यो सानो शहर ग्रिन्सबोरोले पनि विश्व फुटबलको नक्सामा आफ्नो विशेष स्थान बनाउन सफल भएको छ।

तस्बिरहरु सबै बिपश्यना खनाल

















