बीसीएच संस्थापक अध्यक्ष ढुङ्गाना मूलधारको राजनीतिमा प्रवेस, टाउनसिप कमिटीमा निर्वाचित
ह्यारिसबर्ग, पेन्सिल्भेनिया / भूट्नीज कम्युनीटी अफ ह्यारिसबर्गका संस्थापक अध्यक्ष टीका ढुङ्गाना अमेरिकाको मूलधारको राजनीतिमा प्रवेस गरेका छन् ।
बुद्ध खरी फाउन्डेशनका संस्थापक अध्यक्ष समेत रहेका ढुङ्गाना पेन्सिल्भेनिया राज्यको डाउपीन काउन्टी अन्तर्गत डेमोक्याटिक पार्टीको लोअर प्याक्सटन टाउनसिपको कमिटीम्यानमा निर्वाचित भएका हुन्।
लोअर प्याक्सटन टाउनसिप, प्रिसिन्क्ट २६ बाट उनी आगामी चार वर्षका लागि यस पदमा निर्वाचित भएका हुन् ।
यो ड्यामोक्रेटिक पार्टीको सबैभन्दा तल्लो तहको तर निकै महत्त्वपूर्ण पद हो। अमेरिकामा यसलाई राजनीतिमा प्रवेश गर्ने पहिलो पाइला मानिन्छ।
‘चुनावको दिनसम्म पनि उम्मेदवारी दिने निश्चित गरेको थिइन । मतपत्रमा नाम समेत छापिएको थिएन । मतपत्रमा नाम नभएका कारण रिटन इन (मतदाता आफैँले मतपत्रमा नाम लेख्नुपर्ने) उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरेको थिए ।’ निर्वाचित भए पछि ढुङ्गानाले सामाजिक सञ्जालमा लेखेका छन् ।
‘मतदाताहरू माझ आफ्नो उम्मेदवारीको जानकारी पुर्याउन र मतपत्रमा नाम लेख्न लगाउन निकै गाह्रो थियो ।’ ढुङ्गानाले लेखेका छन्’ ‘तर, स्थानीय मतदाताहरूको बलियो समर्थनका कारण पर्याप्त मत प्राप्त गरी जित हासिल गरे ।’
चाखलाग्दो कुरा के छ भने, उक्त मतदान केन्द्रमा नेपाली भाषी मतदाताहरूको संख्या जम्मा तीन वा चार मात्र थियो ।
नेपाली मतदाता कम भए पनि स्थानीय अमेरिकी नागरिकहरूले उनको क्षमतामाथि विश्वास गरेर मतपत्रमा नाम लेखी विजयी गराएका हुन् । यसले गर्दा यो जित अझ बढी महत्त्वपूर्ण र अर्थपूर्ण बनेको छ ।
ढुङ्गानाका अनुसार चुनाव प्रचारप्रसारका क्रममा डाउपिन काउन्टी कमिश्नर बोर्ड अध्यक्ष तथा डेमोक्याटिक प्राइमरीमा संघीय कांग्रेसका लागि पेन्सिल्भेनिया ड्रिस्ट्रिक १० का उम्मेदवार जस्टिन डगलसको टोलीसँग काम गर्दा उनलाई ड्यामोक्रेटिक पार्टीको नेतृत्वले स्थानीय राजनीतिमा आउन प्रोत्साहन गरेको थियो ।
सोही प्रेरणाका कारण उनले अन्तिम समयमा आएर यो कदम चालेका थिए ।
नवनिर्वाचित कमिटीम्यानले यो पद आफ्नो लागि लोकतान्त्रिक प्रक्रिया सिक्ने, समुदायको सेवा गर्ने र राजनीतिमा सक्रिय हुने ठूलो अवसर भएको बताएका छन् । उनले आफूलाई विश्वास गरेर मतदान गर्ने सम्पूर्ण मतदाताहरूप्रति हार्दिक आभार तथा धन्यवाद प्रकट गरेका छन् ।
टाउनसिपको कमिटीम्यान सरकारको जागिर वा सरकारी पद होइन। यो ड्यामोक्रेटिक पार्टी भित्रको एउटा राजनीतिक पद हो। यसलाई पार्टीको जग मानिन्छ । क्षेत्रमा ड्यामोक्रेटिक पार्टीको आधिकारिक अनुहार वा प्रतिनिधि हो ।
आफ्नो क्षेत्रका मतदाताहरूसँग सीधा सम्पर्क राख्ने। उनीहरूका समस्या सुन्ने र पार्टीसम्म पुर्याउने मुख्य काम हुन्छ ।
गभर्नर, सांसद वा राष्ट्रपति जस्ता ठुला चुनावमा आफ्नो क्षेत्रमा पार्टीका उम्मेदवारहरूको प्रचार गर्ने, मतदाताहरूलाई भोट हाल्न जान प्रोत्साहन गर्ने काम महत्त्वपूर्ण भूमिका हुन्छ ।
यस्तै ड्यामोक्रेटिक पार्टीका स्थानीय बैठकहरूमा भाग लिने, पार्टीको नीति र योजना बनाउन भोट हाल्ने, पार्टीको तर्फबाट चुनावमा कसलाई उठाउने भनेर निर्णय गर्न वा उम्मेदवार सिफारिस गर्न यो पदको महत्त्वपूर्ण भूमिका हुन्छ।
अमेरिकी राजनीतिक प्रणाली, चुनावी प्रक्रिया र पार्टीले कसरी काम गर्छ भन्ने कुरा नजिकबाट सिक्ने यो सबैभन्दा राम्रो अवसर हो।

















