अमेरिकामा दर्दनाक सडक दुर्घटना : एक जनाको चरम लापरवाह चार जनाको अनाहक ज्यान गयो
ओक्लोहामा, अमेरिका / अमेरिकामा अघिल्लो साता एक दर्दनाक सडक दुर्घटना भएको छ । एक जना व्यक्तिको चरम लापरवाहले चार जना युवा युवतीले ज्यान गुमाउनु परेको छ।
यूएस डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी (डीएचएस) द्वारा बुधवार जारी गरिएको विज्ञप्ति अनुसार अमेरिकाको ओक्लाहोमा राज्यमा भएको एक भयानक सडक दुर्घटनामा परी चार जना अमेरिकी युवाहरूको घटनास्थलमै मृत्यु भएको छ।
डिएचएसको विज्ञप्ति अनुसार मध्यरातमा मादक पदार्थ सेवन गरेका एक चालकले गलत दिशाबाट तीव्र गतिमा गाडी चलाउँदा यो दुर्घटना भएको हो।
विज्ञप्तिका अनुसार मे २२ को मध्यरात साढे १२ बजे क्यानेडियन काउन्टीको ‘आइ-४०’ सडकमा यो दुर्घटना भएको हो।
मेक्सिकोका नागरिक माइकल सालोमोन रोजारियो-क्रुजले एकतर्फी बाटोमा गलत दिशाबाट आफ्नो गाडी कुदाएका थिए। उनको गाडी अगाडिबाट आइरहेको अर्को कारसँग जोडले ठोक्किएको थियो।
ठक्कर यति भयानक थियो कि पीडितहरू सवार कारमा तुरुन्तै आगो लागेको थियो।
दुर्घटनामा अर्को कारमा सवार १८ देखि २० वर्ष उमेरका चारै जना युवाहरूको ज्यान गएको छ। मृत्यु हुनेहरूमा २० वर्षीया कियेर्सी हिक्सन, १८ वर्षीया ह्यालिग सालाजार, १९ वर्षीय क्विन्सी जोन्स र १८ वर्षीय ब्राड पाल्मर रहेका छन्।
आरोपी चालकमाथि हत्यासहित धेरै मुद्दा
दुर्घटनामा घाइते भएका चालक रोजारियो-क्रुजलाई अस्पतालबाट डिस्चार्ज गरिए लगत्तै क्यानेडियन काउन्टी जेलमा थुनिएको छ।
उनीमाथि ‘सेकेन्ड डिग्री’ हत्याका ४ वटा मुद्दा, रक्सी खाएर गाडी चलाएको (डियुआई ), र अवैध रूपमा हतियार बोकेको सहित धेरै गम्भीर आरोपहरू लगाइएको छ।
जेलबाट नछोड्न आइसको आग्रह
यसैबीच, युएस इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट आइसले यस घटनालाई गम्भीरताका साथ लिएको छ।
आरोपी चालक अमेरिकामा अवैध रूपमा बसिरहेका विदेशी नागरिक भएको खुलेपछि आइसले ओक्लाहोमाका अधिकारीहरूलाई एक ‘डिटेनर’ (विशेष पक्राउ पुर्जी) जारी गरेको छ।
आइसले स्थानीय प्रशासनलाई पत्र लेख्दै ती आरोपीलाई कुनै पनि हालतमा जेलबाट रिहा नगर्न र कानुनी कारबाही सकिएपछि आफ्नो जिम्मा लगाउन आग्रह गरेको छ।
डिएचएसका सचिव मार्कवेन मुलिनले यस घटनाप्रति गम्भीर दुःख व्यक्त गरेका छन् ।
“यी युवाहरूको पूरै भविष्य बाँकी नै थियो। यो दुर्घटनालाई पूर्ण रूपमा रोक्न सकिन्थ्यो। ती अवैध नागरिक हाम्रो देशमा हुँदैनथ्यो भने। हामी सबै मृतकका परिवार र प्रियजनहरूका लागि प्रार्थना गरिरहेका छौँ।” मुलिनले भने ।
तस्बिरहरु डिएचएस

















