‘कृपया अरूलाई पनि मतदाता दर्ता गर्न प्रोत्साहित गर्नुहोस्’ :विश्व क्षेत्री, मानव अधिकारवादी नेता
ह्यारिसबर्ग, पेन्सिल्भेनिया / यहाँ आउनुभएकोमा धन्यवाद। आशा छ, तपाईं बाहिर जाँदा केही कुरा सम्झनुहुनेछ।
पहिलो कुरा फेरि स्मरण गराउन चाहन्छु— तपाईंहरूमध्ये धेरै जना पहिले नै मतदाता दर्ता हुनुहुन्छ होला, तर कृपया अरूलाई पनि मतदाता दर्ता गर्न प्रोत्साहित गर्नुहोस्। अरूलाई डेमोक्र्याटको रूपमा दर्ता गर्न पनि प्रोत्साहन गर्नुहोस्।
कृपया उदारतापूर्वक योगदान दिनुहोस् र अरूलाई पनि सहयोग गर्न प्रेरित गर्नुहोस्। हामी यो गर्ने एउटै तरिका यही हो।
हामी सधैं भन्दै आएका छौं— हामी ४५ हजार जनाको बलियो समुदाय हौं। हामीसँग डाक्टरहरू छन्, इन्जिनियरहरू छन्, स्नातकहरू छन्, व्यवसायीहरू छन्, घरधनीहरू पनि छन्। तर के हामी त्यति नै आत्मविश्वासका साथ भन्न सक्छौं कि हामी नागरिक गतिविधि र हाम्रो कर्तव्यमा सक्रिय रूपमा सहभागी छौं?
सायद छैन।
त्यसैले धन्यवाद जस्टिन, यस पदका लागि चुनाव लड्नु भएकोमा। तपाईंले हामीलाई मात्र प्रेरणा दिनुभएको छैन, हाम्रो काम पनि सजिलो बनाइदिनुभएको छ। समुदायका कार्यकर्ताहरूलाई तपाईंको नाम लिएर मानिसहरूकहाँ जान, उनीहरूलाई मतदाता दर्ता गर्न र नागरिक कर्तव्यमा सहभागी हुन प्रोत्साहित गर्न सजिलो भएको छ।
धन्यवाद।
म यहाँ छोटो रूपमा दुई–तीन कुरा साझा गर्न चाहन्छु। हामीले यस यात्रामा केही अनुभवहरू देख्यौं। एक, हामीलाई “तपाईंहरू राजनीति गर्न मिल्दैन” भन्ने प्रकारको प्रतिरोध पनि आएको छ। अर्को, “उनीहरूले हामीलाई यहाँबाट पनि निकाल्छन्, भुटानबाट पनि निकाले, नेपालबाट पनि, यहाँबाट पनि डिपोर्ट गर्छन्” भन्ने डर र भ्रम पनि देखिएको छ।
यो हाम्रो समुदायमा कति ठूलो अज्ञानता छ भन्ने कुरा देखाउँछ।
जब हामीले साधारण व्यक्तिहरू होइन, तर आशा गरेका केही नेतृत्वदायी व्यक्तिहरूबाट पनि यस्तो प्रतिक्रिया सुन्छौं, तब हामीले बुझ्छौं कि हाम्रो समुदायमा अझै धेरै काम गर्न बाँकी छ। हामीले तल्लो तहसम्म गएर काम गर्नुपर्छ।
म सबै स्वयंसेवकहरूलाई धन्यवाद दिन चाहन्छु, जसले निरन्तर काम गरिरहनुभएको छ।
लुमन्तीलाई पनि धन्यवाद दिन चाहन्छु, जसले यो हल निःशुल्क उपलब्ध गराएको छ। मलाई लाग्छ यसको लागत करिब ५ हजार डलर जति पर्छ, र यो हाम्रो लागि ठूलो सहयोग हो।
धन्यवाद तिलक भाइ, विष्णु, हाम्रो लुमन्तीकी बहिनी आस्मा, र गुरुभाइलाई पनि धेरै धन्यवाद।
अन्त्यमा फेरि सबै आयोजकहरूको तर्फबाट धेरै–धेरै धन्यवाद।
धन्यवाद।
(पेन्सिलभेनियाको १० औँ कंग्रेसियल ड्रिस्टिकमा डेमोक्रेटिक प्राइमरी चुनावका उम्मेदवार जस्टिन डग्लसका बारेमा आइतबार ह्यारिसबर्गमा आयोजित फण्ड रेज तथा अन्तरक्रिया कार्यक्रममा डाउपीन काउन्टी कमिश्नर बोर्ड अध्यक्ष समेत रहेका डग्लसका बारेमा नेपाली भाषी भूटानी समुदायका मानव अधिकारीवादी नेता एवं व्यवसायी विश्व क्षेत्रीद्वारा व्यक्त विचार ।
मे १९ तारिख हुने प्राइमरीमा डेमोक्रयाटिक पार्टीमा डग्लस र जनिल स्टेल्सन बीच प्रतिस्पर्धा हुँदै छ । पूर्व टेलिभिजन पत्रकार जनिल यस अगाडिको चुनावमा रिपब्लिक उम्मेदवार स्कट पेरीसँग मात्र १% मतले पराजित भएकी थिइन्।
मे १९ मा हुने प्राइमरीको विजेताले स्कट पेरी आगामी नोभेम्बरमा हुने आम चुनावमा प्रतिस्पर्धा गर्ने छन् ।
स्कट पेरी आठौँ कार्यकालका लागि चुनावी मैदानमा छन् । जनिल पनि यस अगाडि नेपाली भाषी समुदाय सँगको टाउन हलमा उपस्थित भएकी थिइन । )

















