सहमति बिना टुङ्गियो अमेरिका–इरानबीचको उच्चस्तरीय शान्ति वार्ता
उपराष्ट्रपति जेडी भान्सले भने, ‘इरानले प्रस्ताव अस्वीकार गरेपछि सम्झौता सम्भव भएन’
कार्लाल, पेन्सिलभेनिया / अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले इरानसँगको २१ घण्टा लामो वार्तापछि पनि कुनै सहमति हुन नसकेको बताएका छन् ।
पाकिस्तानको राजधानी इस्लामाबादमा भएको उक्त वार्तामा उपराष्ट्रपति भान्सले केही कमजोरीहरू देखिएको र इरानले अमेरिकी प्रस्तावहरू स्वीकार नगरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यम रोयर्टसले जनाएको छ ।
इरानी सरकारी टेलिभिजनका एक संवाददाताले वार्ता आइतबार पनि जारी रहने बताएका थिए । यता उपराष्ट्रपति भान्सले वार्ता पुनः सुरु हुनेबारे केही उल्लेख गरेका छैनन्।
इस्लामाबादमा भएको वार्ता एक दशकभन्दा बढी समयपछि अमेरिका र इरानबिचको पहिलो प्रत्यक्ष भेटघाट भएको जनाएको छ । साथै, सन् १९७९ को इस्लामिक क्रान्तिपछि यो सबैभन्दा उच्चस्तरीय संवाद पनि हो।
यस वार्ताको नतिजाले दुई हप्तादेखि जारी रहेको नाजुक युद्धविराम र विश्व ऊर्जा आपूर्तिको करिब २० प्रतिशत निर्भर रहने हर्मुज जलमार्गमध्ये पुनः खुल्ने वा नखुल्ने निर्धारण गर्न सक्छ।
यस द्वन्द्वका कारण विश्वभर तेलको मूल्य तीव्र रूपमा बढेको छ । साथै हजारौँ मानिसहरूले ज्यान गुमाएको छ।
वार्तामा उपराष्ट्रपति भान्ससँगै अमेरिकी विशेष दूत स्टिभ विटकोफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुश्नर सहभागी थिए। उनीहरूले इरानी संसद्का सभामुख मोहम्मद बाकर कालीबाफ र विदेशमन्त्री अब्बास अराघचीसँग भेट गरेका थिए।
वार्ताको क्रममा दुवै पक्षबिच तनावपूर्ण अवस्था सिर्जना भएको बताइएको छ। इस्लामाबाद शहरलाई कडा सुरक्षामा राखिएको थियो । जहाँ हजारौँ सुरक्षाकर्मी परिचालन गरिएको थियो।
यसैबिच, पाकिस्तानको मध्यस्थता भूमिका उल्लेखनीय मानिएको छ । एक वर्षअघि मात्र उक्त देश कूटनीतिक रूपमा अलगिएको अवस्थामा थियो।
वार्ताको मुख्य केन्द्र हर्मुज जलमार्ग रहेको छ। अमेरिकी सेनाले उक्त जलमार्ग सफा गर्ने तयारी भइरहेको जनाएको छ । यता इरानले अमेरिकी जहाजहरू त्यहाँ प्रवेश नगरेको दाबी गरेको छ।
इरानले आफ्नो विदेशी बैङ्कहरूमा रहेको सम्पत्ति फुकुवा, जलमार्गमाथि नियन्त्रण, युद्ध क्षतिपूर्ति र क्षेत्रीय युद्ध विरामको माग राखेको छ। साथै, उक्त जलमार्गबाट पारवहन शुल्क उठाउने माग पनि गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मुख्य उद्देश्यहरूमा जलमार्गमा स्वतन्त्र आवागमन सुनिश्चित गर्नु र इरानको आणविक कार्यक्रमलाई कमजोर पार्नु रहेको बताइएको छ ।
यसैबिच, अमेरिकी सहयोगी इजरायलले इरान समर्थित हिजबुल्लाहविरुद्ध लेबनानमा आक्रमण जारी राखेको छ । उक्त द्वन्द्व युद्ध विरामको हिस्सा नभएको जनाएको छ।
तस्बिर : दि ह्वाइट हाउस फेसबुक पेज
















