अमेरिकामा आर्थिक वर्ष २०२७ को लागि एच-१ बी भिसा कोटा पूरा, आवेदन प्रक्रिया सुरु
गोबिन्द गुरुङ
कार्लाल, पेन्सिलभेनिया / यु.एस सिटिजन एण्ड इमिग्रेसन सर्भिसेस् ‘युएससिआईएस’ले आर्थिक वर्ष २०२७ को लागि एच-१ बी भिसाको सङ्ख्यात्मक सीमा पूरा भएको जनाएको छ।
प्रारम्भिक अनलाइन दर्ता अवधिमा पर्याप्त सङ्ख्यामा आवेदकहरूको दर्ता भएपछि उक्त कोटा पूरा भएको हो।
‘युएससिआईएस’का अनुसार यसमा उच्च शैक्षिक योग्यता ‘मास्टर डिग्री’ प्राप्त आवेदकहरूका लागि छुट दिइने ‘एडभान्स डिग्री एक्सेम्प्सन’ ‘मास्टर क्याप’ समेत समावेश छ।
‘युएससिआईएस’का अनुसार सही रूपमा दर्ता भएका आवेदकमध्ये आवश्यक सङ्ख्या छनोट गरिसकिएको जनाएको छ । छनोटमा परेका आवेदकका रोजगारदाताहरूलाई एच-१ बी भिसा आवेदन दर्ता गर्न योग्य भएको जानकारी दिइएको छ।
आवेदकहरूले आफ्नो अनलाइन खातामार्फत चयन स्थिति हेर्न सक्नेछन्।
छनोट भएका आवेदकका लागि एच-१ बी भिसा आवेदन प्रक्रिया अप्रिल १ देखि सुरु भएको जनाएको छ । ‘युएससिआईएस’ले चयन गरिएका आवेदकले मात्र आवेदन दर्ता गर्न पाइने उल्लेख गरेको छ।
आवेदन तोकिएको समय सीमाभित्र कम्तीमा ९० दिनको अवधिमा सही स्थान वा अनलाइन प्रणालीमार्फत पेश गर्नुपर्ने बताइएको छ ।
आवेदन पेस गर्दा चयन सूचनाको प्रतिलिपि अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ। साथै, ‘युएससिआईएस’ले गत फेब्रुअरी २७ मा जारी गरेको फर्म आई-१२९ को नयाँ संस्करण मात्र मान्य हुने जनाएको छ। आर्थिक वर्ष २०२७ का सबै एच १ बी आवेदनहरूमा यही फारम प्रयोग गर्नुपर्नेछ।
‘युएससिआईएस’ले आवेदनमा दर्ताका बेला दिइएको व्यक्तिगत विवरण र रोजगारीसम्बन्धी जानकारीसँग मेल खाने कागजातहरू पेस गर्नुपर्ने जनाएको छ। साथै, आवेदकको वैध पासपोर्ट वा यात्रा कागजात र तोकिएको तलब स्तरको प्रमाणसमेत अनिवार्य हुनेछ।
यसैबीच, सन् २०२५ सेप्टेम्बर २१ पछि दर्ता गरिएका केही एच १ बी आवेदनहरूमा राष्ट्रपति घोषणाअनुसार अतिरिक्त १ लाख डलर शुल्क तिर्नुपर्ने व्यवस्था लागू भएको छ।
‘युएससिआईएस’ले छनोट हुनु मात्रले भिसा स्वीकृति सुनिश्चित नगर्ने तथा आवेदन स्वीकृतिका लागि सबै आवश्यक प्रमाण पेस गरी योग्यता प्रमाणित गर्नुपर्ने जनाएको छ ।
















