ह्यारिसबर्गबाट हराएकी किशोरी केन्सस सिटीमा सकुशल फेला, कसरी पुगिन केन्सस
ल्यानक्यास्टर, पेन्सिल्भेनिया / अमेरिकाको पेन्सिल्भेनियाको ह्यारिसबर्गबाट हराएकी नेपाली भाषी युवती मिजौरी राज्यको केन्सस सिटीमा सकुशल फेला पारिएको भन्दै परिवारले राहत व्यक्त गरेको छ।
‘हामीलाई थाहा छ कि हाम्रो हराएको छोरी आज फेला परेकी छन् र सुरक्षित रूपमा घर फर्किरहेका छौ भन्ने कुरा साझा गर्न पाउँदा हामी राहत र आभारी छौँ।’ युवतीका काका कुमार सिवाकोटीले शुक्रवार सामाजिक सञ्जालमा लेखेका छन्।
ह्यारिसबर्ग निवासी १५ वर्षिया सुसृष्टिका सिवाकोटी फ्रेबअरी १८ तारिख देखि हराएको भन्दै स्वातारा टाउनसिप प्रहरी डिपार्टमेन्टले २५ तारिख खोजीमा सहयोग गरिदिन अपिल गरेको थियो।
‘यो अविश्वसनीय कठिन समयमा, हामीले धेरै हेरचाह गर्ने व्यक्ति र संस्थाहरूबाट ठूलो समर्थन प्राप्त गर्यौँ। हामी सबैलाई हार्दिक धन्यवाद दिन्छौँ जसले हामीलाई मद्दत गर्नुभयो, जानकारी साझा गर्नुभयो, प्रार्थना गर्नुभयो र हाम्रो साथमा उभिनु भो ।’ काका सिवाकोटीले आफ्नो फेसबुकवालमा लेखेका छन्।
‘तपाईँको दया, चासो र समुदायको समर्थन साँच्चै हाम्रो लागि शब्दहरूले व्यक्त गर्न सक्ने भन्दा बढी अर्थ राख्छ। हामी सबैलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौ।’ उनले भनेका छन्।
समाज टाइम्स सँगको कुराकानीमा सिवाकोटीले आफूहरू छोरी सहित ह्यारिसबर्ग फर्कँदै गरेको बताए।
‘हिजो हामीलाई प्रहरीले खबर गर्यो, हामी केन्सस आएर नानीको जिम्मा लियौ।’ सिवाकोटीले भने।
कसरी पुगिन केन्सस
सिवाकोटीका अनुसार सामाजिक सञ्जालमार्फत चिनजान भएका व्यक्तिसँग भेट्न जाँदा उनलाई गाडीमा राखेर फोन समेत नियन्त्रणमा लिएर केन्सस पुर्याइको शंका गरिएको छ।
‘नानीले अझै धेरै कुरा हामीलाई भन्न सकिरहेकी छैनन् भर्खर भयो भेट, भक्कानिएकी छन् ।’ उनले भने, ‘साथीभाइसँग सामान्य भेटघाट र घुमफिर गर्ने बहानामा उनी घरबाट बाहिर निस्किएकी थिइन्। त्यसपछि ती व्यक्तिले उनलाई आफ्नो नियन्त्रणमा राखेको र उनको मोबाइल फोनसमेत नियन्त्रणमा लिएको भन्ने शंका छ ।’
सिवाकोटीका अनुसार प्रहरीलाई उपलब्ध गराइएको सूचनाको आधारमा खोजी अभियान अघि बढाइएको थियो। स्थानीय प्रहरी र समुदायका सदस्यहरूको समन्वयमा प्रहरीले किशोरीको अवस्थिति पत्ता लगाउन सफल भएको हो। प्रहरीले उनलाई सुरक्षित रूपमा उद्धार गरी प्रहरी स्टेशनमा राखेको थियो, जहाँबाट परिवारका सदस्यहरूले जिम्मा लिएका हुन्।
किशोरी अहिले परिवारसँग सुरक्षित रूपमा घर फर्कने क्रममा रहेकी छन्। उनी शारीरिक रूपमा सुरक्षित रहे पनि मानसिक रूपमा आघातमा रहेकाले विस्तृत विवरण खुलाउन नसकेको परिवारले जनाएको छ।
घटनामा संलग्न व्यक्तिको पहिचान र सम्भावित कानुनी कारबाहीबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको उनले भने ।
फोटो सिवाकोटीको फेसबुकबाट
















