बाल्टिमोरमा नेपाली लोकसंगीतको ऐतिहासिक साँझ
बाल्टिमोर मेरिल्याण्ड / लोक गीत संगित मन पराउनेहरूका लागि अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा आइतबारको चिसो साँझ अद्भुत रह्यो।
लमजुङ अमेरिका सेवा समाजले आयोजना गरेको लाइभ साङ्गीतिक कार्यक्रममा गायक राजु परियार, बिमाकुमारी दुरा, चन्द्र शर्मा, भगवान भण्डारी, शान्ति भण्डारी लगायतले एउटै मञ्चमा प्रस्तुति दिए ।
लोक गायक तथा पूर्व अवैतनिक महावाणिज्यदूत प्रेमराजा महतको सामुन्ने बालकासी गुरुङ र सजन बोहराले कार्यक्रम सञ्चालन गरेका थिए। त्यसो त लमजुङे चेली बालकासी आफैले पनि गीत गाइन। राष्ट्रिय कलाकारहरूको प्रस्तुति अगाडि स्थानीय बालबालिकाले नेपाली मौलिक नृत्य प्रस्तुत गरे।
त्यस पछि बिमाकुमारी दुरा ‘नौ डाँडा काटेर पारी ….’ बोलको चर्चित र मर्म स्पर्शी गीत गाउँदै स्टेज चढिन् ।
बिमाकुमारीले प्रत्यक्ष वाद्यवादन सहित उनका केही कालजयी गीत गाइन।
बिमाकुमारीका प्राय गीतमा वेदना बोलेको हुन्छ। मन छोएको हुन्छ। नेपालमा हुँदा बिमाकुमारीले नजाउ हङ्गकङ्ग मलाए गीत गाएर सायद देश छोड्ने क्रमलाई रोक्न खोजेकी थिइन होला ।
तर समयको खेल, अन्तरालमा उनी आफै देश छोड्न पुगिन। त्यसले होला बाल्टिमोरमा उनले आफ्नो अर्को कालजयी गीत ‘झल्को आउँछ…’ फेरि गाइन ।
बिमाकुमारीका लागि मात्र होइन आज लाखौँ नेपाली जो भूगोलबाट ठाडा छन् उनीहरूलाई पनि लाग्दो हो, ‘कस्तो भयो समीको चौतारो …’।
अनि बिमाले गलतै गाइन ‘मलै सम्झी नरोऊ आमा झम्के साँझै…’।
बिमाकुमारीको मर्मस्पर्शी शब्द, त्यो सुरिलो स्वर सकिदा नसकिँदै चन्द्र शर्मा स्टेजमा आइपुगे। अधिका केही वेदनालाई उनले तोडे ।
‘दमौलीमा गेट ….’ भाकाले ।
जब राजु परियार मञ्च चढे । दर्शक दीर्घा जुरुक्कै उठ्यो । ‘म आभारी छु यत्रो अभिनन्दका लागि ।’ माइक समाउँदै गायक राजुले भने।
लमजुङ र ठाडो भाका नेपाली लोक सङ्गीतमा एक अर्काका परिपूरक हुन्। लमजुङेले आयोजना गरेको कार्यक्रम । लमजुङका गायक । ठाडो भाका गाइएन भने त्यो खल्लो हुन सक्थ्यो। अनुभवी गायक राजुलाई कसैले सम्झाउनै परेन।
उने ठाडो भाका एक टुक्का सुनाए ।
झण्डै तीन दशक देखि राजु परिवार नेपाली लोक सङ्गीतमा छाइरहेका छन्। उनले आफ्नो स्वर अझै उस्तै छ भन्ने प्रमाणित नै गरे।
आलाप लगाए, हल नतमस्तक बन्यो ।
टुक्का टुक्का छोप्दै सम्बोधन अगाडि बढाएका राजुले आफूले गीत बाहेक अन्य विकल्प नदेखेको बताए। सायद अहिले नेपालमा सबैलाई नेता बन्ने भोक जागेको छ। त्यसको जवाफ उनले बाल्टिमोरको स्टेजबाट दिए।
‘कति गीत गाए गन्ने तिर लाग्दिन गीत गन्यो भने आयु छोटो हुन्छ।’ राजु भन्दै थिए ‘गीत गाएको गाएकै छु। मर्ने बेलामा भजन भए पनि गाएर भए पनि मर्ने घोको हो। अरू मेरो केही पेशा होइन सरस्वती माताको वरदान । मैले आशीर्वाद थापेको हो अरू केही होइन। मलाई ठूलो रुपमा नलिन पनि आग्रह गर्न चाहे ।’
दर्शकहरू राजु तर्फ झुम्मी रहेका थिए। स्टेज चढेर ‘फूल’ नै लाइदिए। नेपालमा अझ गण्डकी प्रदेशमा शिरको टोपी वा फेटामा पैसा सिउरिनुलाई फूल लगाउनु भनिन्छ । यो विषेश सम्मान पनि हो।
राजु परियारको भएको ठाउँमा दोहोरी भएन भने ?
त्यो कल्पना गर्न पनि सकिँदैन । वर्तमान नेपाली लोक सङ्गीतमा यो तीन दशक राजु परियार लोक दोहोरीका बादशाह हुन्।
उनले आफ्ना पूर्व सहकर्मी जो पछिल्लो समय मेरिल्याण्डमा स्थायी बसोबास गर्दै आएका छन्। भगवान भण्डारी र शान्ति भण्डारी सँग दोहोरी खेले।
के वृद्धा । के युवा के बालबालिका । राजु परियारको दोहोरीमा ननाच्ने कुरै भए।
राजु परिवार दोस्रो पटक अमेरिका आएका हुन्। ६ महिनामा फेरि अमेरिका आएका राजुले आफ्नो जादुमय स्वरमा दश ठाउँमा नचाइसकेका छन्। राजुले मार्च सम्म अमेरिकाका विभिन्न शहरमा प्रस्तुति दिने छ।
















