छोरा–छोरीको स्वर्ण पदकले आमाहरुलाई दिएको त्यो खुसी …
टेस्सस फोर्टवर्थ / ‘आज म एक दमै खुसी छु, यसको म बयान नै गर्न सक्दिन ।’ अप्रिल ५ तारिख आइतवार छोराले यूएसए कराते ओपनमा स्वर्ण जितेपछि टेक्ससमा भेटिएकी पेन्सिल्भेनिया निवासी लोपा घलेको आँखामा चमक थियो, अनुहारमा मन्द मुस्कान।
टेक्ससको फोर्ट वर्थस्थित कन्भेन्सन सेन्टरमा आयोजित यूएसए कराते ओपन एण्ड जुनियर इन्टरनेशनल कप २०२६ को त्यो क्षण उनका लागि अविस्मरणीय बन्यो।
राइजिङ कराते एकेडेमी कार्ललबाट खेलेका उनका छोरा सुलभ घलेले कुमिते इभेन्टमा स्वर्ण जितेका थिए।
‘उसले कातामा खेल्न पाएन, म त्यसमा चिन्तित छैन। कुमितेमा राम्रो गर्यो,” लोपा छोराको हौसला बढाउदै थिइन् ।
हुन पनि त्यसकै लागि लोपाले पेन्सिल्भेनियाको कार्ललबाट टेक्सससम्मको झण्डै एक साता लामो यात्रा गरेकी थिइन ।
‘अरु अभिभावकलाई पनि म भन्न चाहन्छु—नानीहरूलाई खेलमा ल्याउनुहोस्, करातेले अनुशासन सिकाउँछ,’ उनले सुझाइन्।

लोपा जस्तै अन्य आमाहरु पनि त्यो दिन खुसी थिए। कार्ललबाटै टेक्सास पुगेकी डिकी गुरुङका
दुई छोराले पदक जितेका थिए— माहिलो छोराले दुई स्वर्ण र एक रजत, ठूलोले एक रजत।
‘यो हाम्रो लागि खुसीको क्षण हो। नानीहरूले गरेको मेहनतको फल देख्न पाउनु नै ठूलो कुरा हो ।’ उनले भनिन्, ‘खर्च र समय दुवै लाग्छ, तर करातेले बच्चामा अनुशासन र सही मार्ग दिन्छ।’
त्यस्तै दीपांजली प्रधानले पनि आफ्नी छोरीले तीन पदक जित्दा गर्व महसुस गरिन्।
‘खेलले बच्चालाई फिट, अनुशासित र आत्मविश्वासी बनाउँछ,’ उनले भनिन्।

चार दिन सम्म संचालन भएको प्रतियोगितामा विभिन्न मुलुक र अमेरिकाका विभिन्न राज्यबाट ११ सय भन्दा धेरै खेलाडीले भाग लिएका थिए । जसमा नेपाली र नेपाली भाषी भूटानी समुदाबाट ४० खेलाडीले अमेरिकी करातेको महाकुम्भ मेलामा आफुलाई परीक्षण गराएका थिए।
अधिकांश खेलाडीका अभिभावक टेक्सस पुगेका थिए।
उनीहरु आफ्ना सन्ततीको खेल हुदै गर्दा प्याराफिटबाट हौसला दिदै गर्थे ।

राइजिङ कराते एकेडेमी कार्लल पेन्सिल्भेनियाबाट खेलेका प्रितेश गुरुङले दुई स्वर्ण र एक कांस्य जित्दै उत्कृष्ट प्रदर्शन गरे।
‘म अझ राम्रो बन्न चाहन्छु, भविष्यमा अझ धेरै मेडल जित्ने लक्ष्य छ,’ उनले भने,’म मेरो परिवार र गुरुलाई धन्यवाद दिन चाहान्छु ।’
स्वर्ण जितेका सुलभ घलेले पनि आमालाई साथ सहयोगमा धन्यवाद व्यक्त गरे।
‘म मेरो आमालाई, मेरो सेन्सेईलाई, सबै आफन्तजनलाई र मलाई यहाँसम्म पुग्न सहयोग गर्ने सम्पूर्ण व्यक्तिहरूलाई विशेष धन्यवाद दिन चाहन्छु।’
यसपकट स्वर्ण जित्न नसकेका खेलाडीले पनि अब राष्ट्रिय प्रतियोगितामा राम्रो गर्ने लक्ष्य बनाएका छन्।
रजत जितेका राइजिङ कराते एकेडेमीका सप्न गुरुङले अब आफ्नो लक्ष्य जुनियर नेशनल टिममा पुग्ने सुनाए।
अन्तर्राष्ट्रिय शितोरियो कराते डो एसोसिएसन अफ युएसए (इस्का) बाट खेलेका बिराज न्यौपानेले कुमिते एड्भान्समा काश्य जिते ।

‘म धेरै खुसी छु यो ठूलो प्रतियोगितामा पदक जिते अब आगामी नेशनल ट्रायलको तयारी गर्छु।’ न्यौपानले भने ।
प्रतियोगिता खेल्न नेपालबाट आएका सन्तोष राईका लागि भने यो प्रतियोगिता खुसी र दुख बराबर बन्यो ।
कातामा शुरुवाती म्याच हारेर पनि उनले काश्य पदक जिते । तर कुमुतेमा शुरुमा लगातार तीन फाइट जितेका राई पदकका लागि निर्णाक खेलमा चुके। उनले ३-० अग्रता अन्तिम दश सेकेण्ड जोगाउन सकेनन् ।
‘जति नै राम्रो तयारी गरे पनि लामो यात्रा पछि शरिरर थाक्ने रहेछ। मेरो ठाँउकोमा लाग्यो त्यो नै मेरो दुर्भाग्य भयो।’ उनले समाज टाइम्स सँग भने।
प्रशिक्षकहरूको मूल्यांकन
राइजिङ कराते एकेडेमीका प्रमुख प्रशिक्षक निम लामाका अनुसार उनका १६ खेलाडीले १७ पदक जितेका छन्।
‘यो ठूलो उपलब्धि हो—८ स्वर्ण, ६ रजत र ३ काश्य पदक जित्यौ ।”समाज टाइम्स सँग प्रशिक्षक लामाले भने।
उनले यो प्रतियोगितालाई अमेरिकाकै सबैभन्दा प्रतिस्पर्धात्मक कराते इभेन्टमध्ये एक बताए।
‘बालबालिकाले उत्कृष्ट प्रदर्शन गरेका छन्, आगामी दिनमा अझ राम्रो गर्ने विश्वास छ,’ उनले भने।
त्यस्तै इस्काका अध्यक्ष तथा प्रमुख प्रशिक्षक शिव योगीले प्रतियोगिताको स्तर निकै उच्च रहेको बताए।
‘एलिट डिभिजनमा खेल्नु नै ठूलो कुरा हो। केही खेलाडी थोरै अन्तरले पदक गुमाए, तर अनुभव ठूलो उपलब्धि हो,” उनले उल्लेख गरे।
योगीले अब आफुहरुको ध्यान राष्ट्रिय प्रतियोगताका लागि हुने बताए ।
दुबै प्रशिक्षकले खेलाडीको सफलतामा उनका अभिभावकहरुलाई सम्झिए ।
‘अभिभावकले जुन सपोर्ट गर्नु पर्ने हो एकदमै धेरै राम्रो गरिराख्नु भएको छ।’ प्रशिक्षक लामाले भने,’मलाई के लाग्छ भने उहाँहरुले यो करातेको एउटा महत्व बुझ्नु भएको छ। कराते आफ्नो बच्चालाई किन खेलाउने? कराते हाम्रो समुदायमा किन आवश्यक छ भन्ने कुरोहरुले त्यो एकदमै बुझ्नु भएको छ।’
हुन पनि ओहायो पेन्सिल्भेनिया देखि टेक्सससम्मको यात्रा, खर्च र समय—सबै पार गरेर आएका अभिभावकहरूका लागि यो केवल प्रतिस्पर्धा होइन, आफ्ना सन्तानको सपना साकार हुँदै गरेको क्षण थियो।


















