रफाह नाका पुनः सञ्चालनमा आउने चर्चासँगै गाजाका बासिन्दाहरूमा चिन्ता
गाजा / इजिप्टसँग जोडिएको रफाह सीमा नाका पुनः खुल्ने चर्चा चुलिएसँगै गाजाका बासिन्दाहरूमा आशा र आशंका उत्पन्न भएको छ ।
इजरायलले सन् २०२४ मेमा यस नाकालाई आफ्नो नियन्त्रणमा लिएपछि बन्द गरिँदा मानवीय संकट झनै गहिरिएको छ ।
गाजा पट्टीमा इजिप्टसँगको रफाह सीमा नाका पुनः सञ्चालनमा आउनसक्ने चर्चाले त्यहाँका बासिन्दाहरूमा चिन्ता बढाएको छ । विनाशकारी युद्धको दुई वर्षपछि पनि त्यहाँका अपरेसनहरू र यात्रीहरूमाथि लगाइने सम्भावित प्रतिबन्धका बारेमा अनिश्चितता कायमै छ ।
सन् २०२४ मे महिनामा इजरायलले यस नाकालाई आफ्नो नियन्त्रणमा लिएर यात्रा रोकेपछि गाजा एक्लिएको थियो । जसले गर्दा त्यहाँको मानवीय संकट अझ गहिरिएको छ । रफाह नाका गाजाबासीका लागि, विशेष गरी बिरामीहरूका लागि आवतजावतको प्रमुख बिन्दु हो ।
इजरायलले पूर्ण निरीक्षण प्रक्रियाको अधीनमा रहेर पैदल यात्रीहरूका लागि मात्र सीमित रूपमा नाका खोल्न सहमति जनाएको छ । यसमा चिकित्सा बिरामी, घाइते, विद्यार्थी र विदेशी राहदानी भएका व्यक्तिहरूलाई प्राथमिकता दिइनेछ ।
स्वास्थ्य अधिकारीहरूका अनुसार हाल करिव २० हजार बिरामीहरू उपचारको अनुमति पर्खिरहेका छन् भने पर्खाइकै क्रममा १ हजार २६८ जना बिरामीको मृत्यु भइसकेको छ । सन् २०२४ मे ७ देखि हालसम्म केवल ३ हजार १ सय बिरामीहरूले मात्र गाजा छोड्न सफल भएका छन् ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

















