२०२६ को ट्याक्स फाइल सिजन सुरु हुँदै, डब्ल्यु–२ फारमदेखि अन्तिम म्यादसम्म जान्नुपर्ने कुरा
गोबिन्द गुरुङ
कार्लाल, पेन्सिलभेनिया / इन्टरनल रिभेन्यु सर्भिस (आइआरएस) ले कर विवरण (ट्याक्स रिटर्न) स्वीकार गर्ने आधिकारिक मिति घोषणा गरेको छ ।
सन् २०२६ को कर दाखिला (ट्याक्स फाइल) सिजन यहि जनवरी २६ तारिखबाट सुरु हुदैछ । (आइआरएस) का प्रमुख कार्यकारी अधिकृत फ्र्याङ्क बिसिग्नानोका अनुसार २०२६ को कर दाखिला सिजनमा करदाताहरूलाई आफ्नो कर दाखिला र भुक्तानी दायित्व पूरा गर्न सहयोग गर्न पूर्ण रूपमा तयार रहेको बताएका छन् ।
प्रमुख कार्यकारी अधिकृत बिसिग्नानोले भने, “यससँगै, नयाँ कर कानुन समावेश गर्न (आइआरएस) का सूचना प्रणालीहरू अद्यावधिक गरिएको छ, दाखिला सिजनभर कर विवरणहरू प्रभावकारी तथा दक्ष रूपमा प्रक्रिया गर्न तयार छन्।”
डब्ल्यु–२ फारम भनेको के हो?
डब्ल्यु–२ एउटा कर फारम हो, जसमा कुनै कर्मचारीले अघिल्लो वर्ष कति आम्दानी गरेको थियो र सङ्घीय, राज्य तथा अन्य करका लागि कति रकम कटौती गरिएको थियो भन्ने विवरण हुन्छ ।
आधिकारिक रूपमा “वेज एन्ड ट्याक्स स्टेटमेन्ट” भनिन (आइआरएस) फारम डब्ल्यु–२ रोजगारदाताले तयार पार्ने गर्छन्, जसको प्रतिलिपि कर्मचारी र (आइआरएस) दुवैलाई दिनु अनिवार्य हुन्छ ।
डब्ल्यु–२ फारम कसरी प्राप्त गर्ने?
रोजगारदाताले जनवरी ३१ भित्र कर्मचारीहरूलाई डब्ल्यु–२ फारम उपलब्ध गराउनु पर्छ ।
अधिकांश कामदारहरूले फेब्रुअरीको सुरुवातमै यो फारम पाउँछन् । डब्ल्यु–२ फारममा तलब, कर कटौती, केही सुविधा तथा अघिल्लो वर्षको अवकाश योजनामा गरिएको योगदानसम्बन्धी विवरण समावेश हुन्छ । सङ्घीय र राज्य आयकर विवरण दाखिला गर्न डब्ल्यु–२ मा रहेको जानकारी आवश्यक पर्छ ।
सन् २०२६ मा कर दाखिला (ट्याक्स फाइल) गर्ने अन्तिम मिति कहिले हो ?
सङ्घीय कर विवरण दाखिला गर्ने सामान्य अन्तिम मिति बुधवार, अप्रिल १५, २०२६ हो । यो मितिभित्र (आइआरएस) मा कर विवरण बुझाएर तिर्न बाँकी कर भुक्तानी नगरेमा जरिवाना लाग्न सक्छ ।
यदि अप्रिल १५ भित्र समय थप (एक्सटेन्सन) का लागि आवेदन दिएमा, कर विवरण दाखिला गर्ने म्याद अक्टोबर १५, २०२६ सम्म सार्न सकिन्छ । तर, तिर्न बाँकी कर भने अप्रिल १५ भित्रै तिर्नुपर्नेछ, नत्र जरिवाना लाग्नेछ ।
कर दाखिला गर्न कति खर्च लाग्छ?
कर दाखिला गर्दा सामान्यतया केही शुल्क लाग्न सक्छ, तर निःशुल्क विकल्पहरू पनि उपलब्ध छन् ।
उदाहरणका लागि, टुर्बो ट्याक्स एप प्रयोग गरी फेब्रुअरी १८ भित्र आफैं कर दाखिला गरेमा निःशुल्क सेवा उपलब्ध हुन्छ, यदि तपाईले अघिल्लो वर्ष टुर्बो ट्याक्स प्रयोग गर्नुभएको थिएन भने ।
टुर्बो ट्याक्सका अनुसार, यदि तपाईले अघिल्लो–अघिल्लो वर्ष टुर्बो ट्याक्स प्रयोग गर्नुभएको थियो तर अघिल्लो वर्ष प्रयोग गर्नुभएको थिएन भने पनि यो अफर लागू हुन्छ । तर, टुर्बो ट्याक्स लाइभ सेवामा यो अफर लागू हुँदैन ।
यदि तपाईले टुर्बो ट्याक्स प्रयोग गरेर कर दाखिला गर्नुभयो भने, शुल्क अग्रिम तिर्नुको सट्टा रिफन्ड रकमबाट कटौती गराउने विकल्प पनि उपलब्ध छ ।


















