अमेरिकाबाट नेपाली कांग्रेसको क्रियाशील सदस्यता आवेदन दिने मात्र दुई सय ६ जना
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ नेपाली जनसम्पर्क समिति अमेरिकाबाट नेपाली कांग्रेसको क्रियाशील सदस्यता आवेदन दिनेको संख्या भारी मात्रामा घटेको छ।
समितिका सभापति आनन्द विष्टका अनुसार सदस्यता आवेदन बुझाउने अन्तिम दिन डिसेम्बर १५ तारिख सोमबार मध्यरात सम्ममा नयाँ र पुराना गरी मात्र दुई सय ६ जनाले क्रियाशील सदस्यता फारम भरेका छन्।
चार वर्ष अगाडि नेपाली कांग्रेसको १४ औ महाधिवेशनमा अमेरिकाबाट २५ सय ६५ जना क्रियाशील सदस्य थिए। जस अनुसार १४ जना महाधिवेशन प्रतिनिधि नेपाल गएका थिए।
‘पार्टीको नयाँ निर्देशन र अमेरिकाको वर्तमान अवस्थाले पनि हुन सक्छ साथीहरू धेरैले क्रियाशील नवीकरण गराउन भएन।’ समाज टाइम्स सँगको कुराकानीमा सभापति विष्टले भने।
नेपालको संविधानले विदेशको नागरिकता लिएकाहरूलाई नेपालमा राजनैतिक अधिकार दिदैन्। यस अगाडिका महाधिवेशनमा विदेशको नागरिकता लिएका व्यक्ति पनि महाधिवेशन प्रतिनिधि बनेर गए पछि सर्वोच्च अदालतमा मुद्दा समेत परेको थियो।
त्यस पछि नेपाली कांग्रेसले जनसम्पर्क समितिमा दुई प्रकाशको सदस्यता वितरण गर्न निर्देशन दिएको थियो।
कांग्रेसले क्रियाशील सदस्यताका लागि नेपाली नागरिकता अनिवार्य गरेको थियो।
अब अमेरिकाको नागरिकता लिएको व्यक्ति नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापतिमा निर्वाचित भएमा १५ औ महाधिवेशनमा अमेरिकाबाट शून्य प्रतिनिधि हुने छ।
पार्टीको विधान अनुसार पाँच सय भन्दा कम क्रियाशील सदस्य भएका सभापति मात्र महाधिवेशन प्रतिनिधि जान पाउने व्यवस्था छ।
जनसम्पर्क समिति सदस्य चार हजार
सभापति विष्टका अनुसार जनसम्पर्क समितिका लागि भने चार हजार सदस्य पुग्ने अनुमान गरिएको छ।
‘अनलाइनमा १३ सय जनाले फारम भर्नु भएको छ, कतिपय च्याप्टरमा फारम डाउनलोड गरि पेपरमा पनि भरिएको रहेछ हामी त्यो अद्यावधिक गर्दै छौ एक दुई दिन लाग्छ पुरै विवरण आउनका लागि करिब चार हजारको हाराहारीमा पुग्छ भन्ने छ।’ विष्टले भने।
विष्टले च्याप्टरको संख्या पनि ३३ बाट घटेर २९ मा झरेको बताए।
क्रियाशील सदस्य टुङ्गिए पछि मात्र अधिवेशन
सभापति विष्टले पार्टीले क्रियाशील सदस्यता टुङ्गाए पछि मात्र नेपाली जनसम्पर्क समितिको अधिवेशन स्थल तोकिने बताए।
‘क्रियाशील सदस्यता आवेदन दिनेहरूको विवरण हामी अब पार्टीलाई पठाउँछौ, त्यस पछि मात्र अधिवेशन स्थल तोकिनछ।’ विष्टले भने।
यस अगाडि डिसेम्बर २० मा च्याप्टर र २७ मा केन्द्रको अधिवेशन गर्ने तालिका सार्वजनिक भएको थियो।















