सस्तो पुन वितरणको राजनीति त्यागेर अवसरको समानतामार्फत अघि बढ्नुपर्छ : स्वर्णिम वाग्ले
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले समाज रूपान्तरणका लागि अवसरको समानतामा आधारित राजनीतिलाई अघि बढाउनुपर्ने बताएका छन् । रास्वपा र विवेकशील साझा पार्टीबिच एकता घोषणा कार्यक्रममा बोल्दै उनले सस्तो तथा पुनरवितरणमुखी राजनीतिले देशलाई अघि लैजान नसक्ने जिकिर गरे ।
‘हामी जे बनाउन भनेर लागिरहेका छौँ, त्यो समाज बुझ्न जरुरी छ,’ उनले भने, ‘पुन वितरणको—अर्थात् सस्तो—राजनीति खारेज गरेर अवसरहरूको समानताको राजनीतिबाट अघि बढ्नुपर्छ ।’
वाग्लेले मुलुकको अर्थतन्त्रको आकार विस्तार गर्न आवश्यक रहेको उल्लेख गर्दै समाजका बेथिति र समस्याको जरा बुझेर समाधानतर्फ उन्मुख हुनुपर्नेमा जोड दिए ।
उनले आगामी १० वर्षभित्र रास्वपाले आफ्नो दार्शनिक आधार स्पष्ट गर्नुपर्ने आवश्यकता औँल्याए । उनले अहिलेको लोकतन्त्रलाई अझ स्वच्छ र उत्तरदायी बनाउँदै अघि बढ्नुपर्ने बताए ।उनले भने, ‘यो समाज हामी जे बनाउन भनेर लागेका छौँ त्यो बुझ्न जरुरी छ । मुलुकको अर्थतन्त्रको आकार ठूलो बनाउनुपर्छ । हामीले आजको दिनमा १० वर्षपछि राष्ट्रिय स्वतन्त्र पार्टीको आफ्नै दार्शनिक आधार के हो भनेर यो सोच्नुपर्ने हुन्छ । अहिलेको लोकतन्त्रलाई थप स्वच्छ बनाएर अगाडि बढ्नुपर्छ ।’















