चुरो कुरो यथावत् राख्दै एनआरएनए विवादको भारी बिसाउने तयारी, ‘पद’ भने दस्तावेजीकरण
बिष्णु हरि घिमिरे
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) मा झण्डै आधा दशक देखिको विवादको भारी बिसाउने तयारी गरिएको छ।
प्रतिनिधि छनौटमा सहमत नहुँदा दशौँ महाधिवेशन पछि एनआरएनएमा पछिल्लो विवाद शुरु भएको थियो।
त्यसो त आफ्नो दुई कार्यकाल पछि तत्कालिन अध्यक्ष शेष घलेले श्रीमती जमुनालाई अध्यक्षमा अगाडि ल्याएकै समयमा पनि एनआरएनएमा ध्रुवीकरण शुरु भएको थियो।
साथै तत्कालिन अध्यक्ष कुमार पन्तले सही समयमा सही निर्णय गर्न नसक्दा पनि एनआरएनएलाई फुटमा मलजल गरेको थियो। आफूले विधान अनुसार तोकिएको निर्वाचन गराउन नसके पछि पन्तले आफ्नो अधिकार पूर्व अध्यक्ष तथा प्रमुख संरक्षक शेष घले नेतृत्वको कमिटीलाई सुम्पिएका थिए।
घले नेतृत्व कमिटी पनि आफै विवादमा फस्यो । जसको साइडइफेक्ट ‘याक एण्ड यती’ र ‘हिमालयन’ होटलमा गरी दुई ठाउँमा दशौँ महाधिवेशन सम्पन्न भएको घोषणा बहादुरी साथ गरियो।
घलेले गराएको याक एण्ड यती होटल अधिवेशनले विनोद कुँवरलाई अध्यक्ष छान्यो। हिमालयन होटलमा त अझ विचित्र भयो। कुल आचार्य, रविना थापा र डा. बद्री केसी गरी तीन तीन जनालाई अध्यक्ष तोक्दै जम्बो समिति बन्यो।
११ औ अधिवेशन आइपुग्दा ती तीन अध्यक्षहरू बीचमा नै रडाको भयो। भेरो भोटिङमा उपाध्यक्षका उम्मेदवार डा. केशव पौडेलको शून्य मत आए पछि अध्यक्षका उम्मेदवार आरके शर्मा र महेश श्रेष्ठले समूहले विरोध गरे।
तीन अध्यक्षको हस्ताक्षर सहितको पत्रमा अधिवेशन स्थगित भयो। तर त्यो हस्ताक्षरको मसी सुक्न नपाउँदै डा. बद्री केसी समूहले आफूहरू विजयी भएको घोषणा गरे। त्यसमा असहमत पक्षले आरके शर्माको अध्यक्षतामा अर्को समिति बनायो।
यो बीचमा सर्वोच्च अदालतबाट दुई फरक फरक फैसला आए। पहिलो फैसलाले दशौँ महाधिवेशन पछिका सबै निर्वाचनलाई खारेज गर्दै डेलिकेट सम्बन्धी विवाद सुल्टाएर ६ महिना भित्र नयाँ चुनाव गराउन शेष घले नेतृत्वको कमिटीलाई परमादेश दियो।
एउटै संस्थाको विवाद उही अदालत तर सर्वोच्च अदालतको दोस्रो अस्पष्ट फैसलालाई बद्री समूहले आफूले मुद्दा जित्यौ भन्दै एनआरएनए हेडक्वाटरमा अखडा जमाए।
उता शेष घलेले आफूलाई अदालतले दिएको जिम्मेवारी पुरा गरेरै छोड्ने अडानमा अडिक रहे।
अन्यौलता बीच सर्वोच्चका परमादेश अनुसार भएको एनआरएनएको एकता महाधिवेशनले महेश श्रेष्ठलाई अध्यक्ष चयन गर्यो। तत्कालिन परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले एकता महाधिवेशनको उद्घाटन गरेकी थिइन्।
एकता महाधिवेशन अगाडि डा. बद्री केसी त्यसलाई रोक्न अन्तरिम आदेशको माग गर्दै अदालत गए। महेश श्रेष्ठ अध्यक्ष निर्वाचित भए पछि उनलाई काम गर्न गराउन रोकिपाँउ भन्दै अर्को मुद्दा ठोके । दुवै मुद्दामा सर्वोच्च अदालतले बद्री केसीले मागे अनुसार आदेश दिएन।
बद्रीले महेशलाई रोकिपाँउ भने तर अदालतले एनआरएनएका सबै मुद्दालाई फुल बेन्चमा पठाउन भन्यो।
परराष्ट्रले महेश श्रेष्ठलाई आधिकारिक भन्यो। तर तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले डा. बद्री केसीलाई धाप मारे पछि महेश ‘सडक’ बाटै आफू आधिकारी भएको नारा लगाउन मात्र सीमित भए।
सर्वोच्च अदालतको फुल बेन्चमा पालो कुर्ने र सर्ने हुँदै थियो। सेप्टेम्बर ८ तारिख जेनजी विद्रोह पछि नेपालको परिस्थित पुरै फेरियो। नौ तारिख बहालवाला प्रधानमन्त्री केपी शर्मा ओली सरकारी निवास बालुवाटारबाट हेलिकोप्टर चढेर भाग्नु पर्ने अवस्था भयो।
उता आरजु देउवा र उनका श्रीमान् नेपाली कांग्रेस सभापति शेर बहादुर देउवा घरमा नै निर्घात कुटिए।
त्यस पछि हो, एनआरएनएमा छुट्टा छुट्टै भारी बोकेकाहरूले बिसौनी खोजेको । मिल्यो मिल्यो भन्दा भन्दै पनि यस अगाडि धेरै पटक अन्तिममा रोकिएको एकता हस्ताक्षर अब आइतबार हुने भनिएको छ।
यस अगाडि आ आफ्नो अडानमा माना पाथी गर्दै आएका दुवै पक्ष अब संयुक्त रुपमा १२ औ महाधिवेशन गर्ने सहमतिमा पुगेको जनाइएको छ।
बालुवाटारमा जलेको एनआरएनए हेडक्वाटरमा दुवै समूहलाई समान हैसियत दिलाउनका लागि ११ सदस्यीय कमिटी गठन गर्ने भनिएको छ।
‘दुवै पक्षबाट पाँच पाँच जना र एक जना स्वतन्त्र व्यक्ति राख्ने गरी सहमति भएको छ।‘ विवाद मिलाउन लागेका एक अभियन्ताले समाज टाइम्स सँग भने, ’सो कमिटीमा रहनेले यो पटक चुनाव लड्न पाउने छैनन्।‘
दुवै समूहका अध्यक्ष र महासचिव सो समितिमा स्वतः रहने छन्।
यस अगाडि अध्यक्षको उम्मेदवार हुने घोषणा गरेका अमेरिका निवासी गौरी जोशी पनि ११ सदस्यीय समितिमा बस्ने भएका छन्। जोशी बद्री समूहका महासचिव हुन्।
‘यस पटक म विवाद मिलाउन तर्फ लागे।’ जोशीले समाज टाइम्स सँग भने।
यस्तै आरके शर्मालाई पनि समितिमा राख्ने जनाइएको छ।
समितिका अन्य सदस्यहरूमा विनोद श्रेष्ठ, रतन झा, गंगाधर गौतम रहेका छन्। दुवै समूहमा नरहेकाको कोटामा अमेरिका निवासी सोनाम लामाको नाम अगाडि आएको छ।
‘तपाईँले भनेका नामहरू मोटामोटी हुन् तर महिला छुटे भन्ने छ एक दुई जना तलमाथि हुन्छ।’ महेश श्रेष्ठ समूहका महासचिव बीआर लामाले समाज टाइम्स सँग भने।
दुवै महासचिवका अनुसार दशौँ अधिवेशन पछि बनेका सबै समितिको दस्ताबेज गरिने छ। यसको अर्थ चुनाव जितेको भनेका, टिको लगाएका भनिएका सबैले अब पदको अगाडि ‘पूर्व’ लेख्न पाउने छन्।
नेपालमा सत्ता पलट भए पछि एकताका लागि हतारिएका दुवै पक्षले एनआरएनए विवादको मुख्य जडमा भने अहिले सम्मा कुनै सहमति नभएको जनाएका छन्।
यस्तै अब १२ औ अधिवेशन कहिले हुने र कसरी हुने भन्नेमा पनि खास के सहमति भएको हो बाहिर ल्याइएको छैन्।
‘विवादका मुख्य जड प्रतिनिधि छनौट र चुनाव हुने प्रणाली हो त्यसमा कसरी जाने भन्नेमा पहिला नै सहमति हुनु पर्छ भनेर साथीहरूले हामीलाई दबाब दिइरहनु भएको छ।‘ महेश समूहका महासचिव बीआर लामाले भने।
दुवै पक्षले विगतका सबै विवाद र मतभेदलाई अन्त्य गर्दै सर्वोच्च अदालतका आदेशलाई सम्मान गर्ने, संस्थागत वैधानिकता र नेतृत्वका प्रश्नलाई सहमतिको माध्यमबाट टुङ्ग्याउने भनेका छन्।
तर एनआरएनएमा विवादको भारी बिसाउने तयारी हुँदै गर्दा, त्यो भारी किन र कसरी बोकिएको हो त्यसको संवोधन गरी गर्ने भन्नेमा अन्यौलता छन्।
दशौँ अधिवेशन के कारण दुई ठाउँमा भयो, दुई कमिटी किन बन्यो, सत्ता पक्षको साथ रहेको कमिटीमा तीन तीन अध्यक्ष किन बन्यो भन्ने प्रश्नको उत्तरमा पनि उनीहरू मौन छन्।
तीन अध्यक्ष रहेको समूहले गरेको ११ अधिवेशनबाट पनि किन दुई कमिटी बन्यो त्यो पाटोलाई पनि छोप्न खोजिएको छ।
हो, एनआरएनए विवादका थुप्रै कारण छन्। माथि नै लेखे शेष घलले आफ्नो दुई कार्यकाल पछि आफ्नो उत्तराधिकारीमा श्रीमती जमुनालाई नबोकेको भए। कलिङ्ग काठमाडौँका नारा लगाएका कुल आचार्य डा. केशव पौडेलहरूले अन्तिम समयमा शेष घलेलाई धोका नदिएको भए एनआरएनएमा फरक अवस्था बन्न सक्यौ।
व्यापारिक घरानाको स्वार्थले पनि एनआरएनए अभियानलाई दुई दशकमा यसरी थिलथिलो नपर्न सक्ने थियो ।
नेपालमा आफ्ना नेता हेलिकोप्टर चढेर मागे पछि, घरमै कुटाइ खाए पछि चेतेका भनिएकाहरूले दशौँ अधिवेशनमा मतदाता छनौट देखिएको विवाद र ११ औ मा एमआइएस प्रणालीमा देखिएको विवादलाई सही सम्बोधन नगर्ने हो भने ती दुई यथावत् राखेर एकता गर्यौ भन्ने हो भने छिट्टै फेरि बृहत् महाएकताको नारा बोक्नुको विकल्प नरहन सक्छ।
त्यस कारण एनआरएनएमा एकता अनिवार्य छ। तर साथ साथै हिजो किन फरक बाटो हिँड्यौ भन्ने कुरा बिर्सनु हुँदैन।
जङ्गलमा यात्रा गर्दा कदम कदाचित बाटो भुलियो भने फर्केर जहाँबाट हराइएको त्यही बाट पुन यात्रा शुरु गरियो भने गन्तव्यमा सही समयमा पुगिने छ।















