कमला पुल जुनसुकै हालतमा बन्नु पर्छ : ऊर्जा मन्त्री घिसिङ
जनकपुर । ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले सिरहा र धनुषा जोड्ने कमला पुल जुनसुकै हालतमा बन्नुपर्ने बताएका छन् ।
कमला पुलको निरीक्षण गर्न आएका मन्त्री घिसिङले जनकपुरधाममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै कमला पुल निर्माण हुनु नै पर्नेमा जोड दिए । उनले आज पुल निरीक्षण गरेर पुलको वास्तविक अवस्था बुझेर थप गर्नुपर्ने काम अगाडि बढाउने जानकारी दिए । उनले सोही पुललाई तत्काल बनाएर अगाडि बढ्न सक्ने कि पुनः निर्माण नै गर्नुपर्नेमा सबै पक्ष हेरेर विचार गरिने बताए ।
उनले नयाँ पुल बनाउनु परे पनि बनाउने तर कुनै पनि हालतमा पुल सञ्चालनमा ल्याएर छाड्ने बताए ।
मन्त्री घिसिङसहितको टोली हिजो जनकपुरधाम आएका थिए । उनी आज सिरहा पुगेर कमला पुलको निरीक्षण गर्न लागेका हुन । यस अघि उनले आजै बिहान युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तासँग जनकपुरधामस्थित निर्माणाधीन अवस्थामा रहेको श्री राम जानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशाला मैदानको निरीक्षण गरेका थिए ।
सिरहा र धनुषा जोड्ने कमला पुलको निर्माण सम्पन्न हुनु अघि नै भास्सिएको थियो । पुल नभएका कारण दुवै जिल्लावासीलाई आवत जावत गर्न करिब ९० कि।मि घुमेर जानुपर्ने बाध्यता रहेको छ ।













