विवाह पञ्चमीका लागि जनकपुरधाममा धुमधामका साथ तयारी हुँदै
जनकपुर । जनकपुरधामसहित पौराणिक मिथिलाञ्चल क्षेत्रमा प्रत्येक वर्ष सप्ताहव्यापी रुपमा मनाइने विवाह पञ्चमी महोत्सवको तयारी तीव्र रुपमा भइरहेको छ ।
जनकपुरधामको जानकी मन्दिर र बाह्रविघा मैदान, राममन्दिर, विवाह मण्डपलगायतका स्थानहरूमा दिन रात सरसफाइ, सजावट, स्टेज निर्माणका कार्यहरू भइरहेको छ ।
बिहीबार (भोली) देखि सुरु हुन लागेको सात दिने विवाह पञ्चमी महोत्सवको तयारीका लागि जनकपुरधामका सम्पूर्ण निकायहरू सक्रिय रुपमा काम गरिरहेका छन् ।
जानकी मन्दिरले अगुवाई गर्दै आएको विवाह पञ्चमी महोत्सवका लागि प्रत्येक वर्ष झैँ यस वर्ष पनि विभिन्न समितिहरू गठन गरिएको छ । हरेक समितिलाई छुट्टाछुट्टै जिम्मेवारीहरू टोकिएको छ ।
भारतको अयोध्याबाट आउने बाराती, साधु सन्त र श्रद्धालुहरूको स्वागतदेखि, विश्राम गर्ने, खाने र घुम्रेलगायतका सम्पूर्ण व्यवस्था मिलाउन फरक फरक समितिहरूलाई जिम्मेवारी दिइएको छ । मन्दिर सजावट, पिउने पानीको व्यवस्था, बिजुलीबत्ति, लाईट, साउन्ड, सुरक्षा, ट्राफिक व्यवस्थापनलगायतको जिम्मा सम्बन्धित निकायहरूलाई नै दिइएको छ ।
जानकी मन्दिर प्राङ्गणमा हुने कार्यक्रमहरूका लागि जानकी मन्दिरले आफै सम्पूर्ण व्यवस्था मिलाएको छ । स्वयंवरका लागि बाह्रविघा मैदानको सरसफाइ, खाल्डो भर्ने, पण्डाल निर्माण लगायतको व्यवस्थापनको जिम्मा जनकपुरधाम उपमहानगरपालिकाले लिएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले यस वर्ष बाह्रविघा मैदानमा शौचालय, सुरक्षा, विश्राम स्थल, उपचार कक्ष लगायतको व्यवस्थामा विशेष ध्यान दिइएको बताए । उनले आउँदो वर्षमा बाह्रविघा मैदानमा स्थायी रूपमै स्टेज, शौचलयहरुको व्यवस्थापन हुने जानकारी दिए ।
यता जानकी मन्दिरका छोटे महन्थ राम रोशन दासले दश लाख भन्दा बढी श्रद्धालु भक्तजन तथा हजारौँ पर्यटकहरू विवाह पञ्चमी महोत्सव हेर्न आउने ठाउँमा मधेश प्रदेश सरकारले शून्य लगानी गरेकोमा गुनासो व्यक्त गरे । उनले प्रदेश सरकारले गत वर्ष ससानो कार्यहरू गरे पनि यस वर्ष भने विवाह पञ्चमीको एक दिन मात्र बाँकी रहँदासम्म कुनै किसिमको सहयोगका लागि समन्वय गर्न नआएकोमा गुनासो गरेका छन् ।
छोटे महन्थ दासले देशको राजनीतिक अवस्था स्थिर नरहेकोले विवाह पञ्चमीलाई ध्यानमा राखेर कुनै किसिमको बन्द, अवरोध जस्ता क्रियाकलाप नगर्न आग्रह गरे । उनले विवाह पञ्चमी हेर्न आउने भक्तजन तथा पर्यटकहरूको स्वागत गरिदिन सबैलाई आग्रह गरेका छन्।
विवाह पञ्चमी महोत्सव भोलीदेखि सुरु हुँदैछ । भोली पहिलो दिन नगर दर्शन रहेको छ । पर्सि शुक्रबार, फूलबारी लिला, शनिबार धनुष यज्ञ, आइतबार तिलकोत्सव, सोमबार मटकोर, मंगलबार स्वयमवर तथा विवाह महोत्सव र बुधबार अन्तिम दिन रामकलेवा रहेको छ । यस वर्ष दश लाख भन्दा बढी श्रद्धालुभत्तजन विवाह पञ्चमी महोत्सवमा सहभागी हुन आउने आङ्कलन गरिएको छ ।














