मैत्रीपूर्ण फुटबल : नेपाल र बंगलादेश बराबरी
ढाका/ नेपाल र बंगलादेशबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल बराबरीमा सकिएको छ।
ढाकामा बिहीबार भएको खेलमा नेपालका अनन्त तामाङले दोस्रो हाफको इन्जुरी समयमा बराबरी गोल फर्काएपछि नेपालले सम्भावित हार टारेको हो।
अनन्तले ९०+३ मिनेटमा कर्नर बलमा हेडमार्फत बराबरी गोल फर्काएका थिए।
त्यसअघि खेलको ३२ मिनेटमा रोहित चन्दको गोलबाट नेपालले अग्रता लिएको थियो। रोहितले डिबक्स बाहिरबाट हानेको सटिक प्रहारले सिधा जाली चुमेको थियो।
तर दोस्रो हाफको सुरुमा बङ्गलादेशले दुई गोल गरेर अग्रता लिएको थियो। दुवै गोल हम्जा चौधरीले गरेका थिए। इंग्लिस प्रिमियर लिगका खेलाडी चौधरीले ४६ मिनेटमा ओभर हेड किकमार्फत उत्कृष्ट गोल गर्दा ५० मिनेटमा पेनाल्टीमार्फत आफ्नो टोलीलाई अग्रता दिलाएका थिए।
नेपालले एएफसी एसियन कपको खेलअघि बङ्गलादेशसँग खेलेको हो। नेपाल र बङ्गलादेशबिच दुई महिनाको बीचमा दोस्रो पटक प्रतिस्पर्धा भएको हो।
यसअघि गत भदौमा नेपाल र बङ्गलादेशबिच प्रतिस्पर्धा गरेका थिए। दशरथ रंगशालामा भएको उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो। तीन दिनपछि दुई टोलीबिच दोस्रो खेल हुने तय भएको भए पनि जेनजी आन्दोलनका कारण रद्द भएको थियो।
सन् १९८२ देखि अन्तर्राष्ट्रिय फुटबलमा प्रतिस्पर्धा गर्न थालेका नेपाल र बङ्गलादेशबिच अहिलेसम्म ३० खेल भएका छन्। जसमा नेपाल ९ खेलमा मात्र विजयी भएको छ भने बङ्गलादेशले १४ खेलमा जित निकालेको छ। ७ खेल बराबरीमा सकिएका छन्।
नेपालले बङ्गलादेशसँग खेलपछि मलेसियासँग त्यसतर्फ जानेछ। नेपालले एएफसी एसियन कप छनोटअन्तर्गत मलेसियासँग मंसिर २ मा आफ्नो पाँचौँ खेल खेल्न लागेको हो।
मलेसियाविरूद्धको उक्त खेल घरेलु मैदानमा खेल्नु पर्ने भए पनि दशरथ रङ्गशालाले अन्तर्राष्ट्रिय मान्यता नपाउँदा उक्त खेल मलेसियामै खेल्नु पर्ने बाध्यता छ।
एसियन कप छनोटका यसअघिका चार खेलमा नेपालले रसको प्रशिक्षणमा खेल्दा चार खेल्दा सबै खेलमा पराजय भोगेको थियो। मलेसिया र लाओससँग एक एक खेल भियतनामसँग दुवै खेलमा पराजित भएसँगै नेपाल छनोटबाट बाहिरिसकेको छ।















