एन्फा मुख्यालय अगाडि फुटबल समर्थकहरूको धर्ना, चुप लागेर नबस्ने चेतावनी
|
तपाइले यो समाचार यहाँ सुन्न पनि सक्नु हुन्छ:
Getting your Trinity Audio player ready...
|
काठमाडौं । नेपाली फुटबलको मेरुदण्ड मानिने शहिद स्मारक ‘ए’ डिभिजन लिग निरन्तर स्थगन भएका विरुद्ध ललितपुरस्थित एन्फा मुख्यालय अगाडि फुटबल समर्थकहरूले धर्ना दिएका छन् ।
नेपाल फुटबल खेलाडी संघको आयोजनामा सेभ नेपाल फुटबल अभियान सञ्चालन गरिएको हो । सोही अभियान अन्तरगत आजको धर्ना कार्यक्रम भएको हो ।
सोही क्रममा खेलाडी संघको अध्यक्ष विक्रम लामाले आजको खेलाडीहरू बोल्न र आफ्नो अधिकारको लागि लड्न सक्ने भएको भन्दै अधिकारको लागि धर्नामा आएको बताए ।
उनले भने, ‘नेपाली फुटबलमा जुन बेथिति भइरहेको छ, खेलाडीहरूले खेल्न पनि पाइरहेका छैनन् । तर अब खेलाडीहरू चुप लागेर बस्दैनन् । खेलाडीहरू बोल्न सक्ने छौ, बोल्छौ र हाम्रो अधिकार हामी माग्छौ । त्यसको लागि नै हामी आज धर्नामा आएका छौ ।’
यस्तै, उनले धेरै समयदेखि रोकिएको ‘ए’ डिभिजन लिगले नेपालमा फुटबल खेलाडीहरूको फुटबलमा रमाउने आधारहरू खोसिए भन्दै ‘ए’ डिभिजन लिगको माग राख्दै आन्दोलनमा आएको बताए ।
शान्तिपूर्ण धर्नाको लागि आएका खेलाडीहरूलाई अखिल नेपाल फुटबल संघले गेटबाट पनि छिर्न नदिएको भन्दै खेलाडीहरूको महत्त्व संघले नबुझेको पनि उनको भनाई छ ।














