विशेष महाधिवेशनमा जानुपर्ने कांग्रेस महिला नेतृहरूको जोड
काठमाडौं । नेपाली कांग्रेसका महिला नेतृहरूले फागुन २१ को चुनाव अगाडि नै पार्टीको विशेष महाधिवेशन गर्नुपर्नेमा जोड दिएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित नेपाली कांग्रेसको विशेष महाधिवेशनका सन्दर्भमा आयोजित महिला भेला कार्यक्रममा नेतृ कुसुम थापामगरले नेपाली कांग्रेस पटक –पटक सत्तामा गएर पनि कार्यकर्ता र जनतालाई सम्बोधन गर्न नसकेको कारण जेनजी आन्दोलन भएको भन्दै विशेष महाधिवेशन गरेर चुनाव अगाडि नेतृत्व परिवर्तन गर्नुपर्ने धारणा राखिन् ।
नेपाली कांग्रेसको यही नेतृत्वले चुनावमा गयो भने पार्टी अझ संकटमा जाने भएकाले हालको नेतृत्व परिवर्तनको माग गरिरहेको बताइन् । उनले विशेष महाधिवेशनको माग राखेर आफूहरूले ५५ प्रतिशत लिखित हस्ताक्षर सङ्कलन गरेर पार्टीलाई निवेदन दिएको जानकारी दिइन् ।
उनले भनिन्,‘कांग्रेस मात्र होइन देश आज संकटमा छ । देश र पार्टीको परिस्थिति फेरिएको छ । कांग्रेस पटक –पटक सत्तामा बस्यो तर सत्ता चलाउँदै गर्दा पार्टीका कार्यकर्ता र जनतालाई सम्बोधन गर्न सकेन । जसका कारण जेनजी आन्दोलन भयो । जसको परिणाम स्वरूप फागुन २१ गते आम चुनावको घोषणा भएको छ । तर पार्टीको यही नेतृत्व चुनावमा गयो भने पार्टी अझ संकटमा जान्छ । हाल नेतृत्व परिवर्तनको लागि विशेष महाधिवेशनको माग राखेर ५५ प्रतिशत लिखित हस्ताक्षर सङ्कलन गरेर पार्टीलाई निवेदन दिएका छौँ ।’
त्यस्तै अर्की नेतृ रेखा यादवले सरकार र संसदमा हुँदा पनि देशमा यत्रो ठूलो विध्वंस हुँदैछ भनेर थाहा नपाउनेहरू कांग्रेस कार्यसमितिमा बस्न नहुने बताइन् । उनले फेरि पनि कार्यसमितिमा बस्ने अधिकार नभएको भन्दै नैतिकताका आधारमा स्वतः राजीनामा दिनुपर्ने बताइन् ।
उनले भनिन्,‘कांग्रेसले पत्तो पाएन देशमा यत्रो ठूलो विध्वंस हुँदैछ भनेर । सभापतिमाथि साङ्घातिक हमला हुँदा पनि,सरकारमा भएर पनि, संसदमा भएर पनि केही थाहा पाउनु भएको छैन् । त्यसैले अधिकार छैन् कार्यसमितिमा फेरी पनि बस्ने ।स्वतः नैतिकताका आधारमा राजीनामा गर्नुपर्ने हो ।’
त्यस्तै उनले केपी शर्मा ओलीजस्तो घिनलाग्दो मान्छेलाई बोकेर कांग्रेस उसको इसारामा नाचेको कारण आफूहरूले विशेष महाधिवेशनको माग गर्नुपरेको धारणा राखिन् ।
त्यस्तै पद्मकन्या क्याम्पस सभापति भूपी ऐरले महाधिवेशन राजनीतिक प्रक्रियाको लागि मात्र नभएर समानता, पारदर्शिता लोकतान्त्रिकताका लागि पनि आवश्यक रहेको बताइन् । कार्यक्रममा एलिजा ढकाल, झला विश्वकर्मा, निमा गिरीलगायतले आफ्नो धारणा राखेका थिए ।














