अब सबैले मिलेर जेनजी आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्ने बेला आएको छ : डा. बद्री केसी
काठमाडौँ/ नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका अत्यन्त निकट गैर आवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष मध्येका एक डा. बद्री केसीले अब सबैले मिलेर जेनजी आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्नु पर्नेमा जोड दिएका छन्।
तत्कालीन प्रधानमन्त्री ओली र उनको मन्त्रीमण्डलका परराष्ट्र मन्त्री डा. आरजु राणाको जोड बलमा एनआरएनएमा दुई समूह सक्रिय छन्।
ओलीले डा. केसीको पक्षपोषण गरेका थिए। परराष्ट्र मन्त्रालयले भने सर्वोच्च अदालतको परमादेश बमोजिम सम्पन्न एकता महाधिवेशनबाट निर्वाचित महेश श्रेष्ठको नेतृत्वको कमिटीलाई मान्यता दिएको थियो।
ओली सरकारले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल सञ्चालनमा रोक लगाए पछि युवा वर्ग आक्रोशित हुँदै सडकमा आएको थियो। भ्रष्ट्राचार विरुद्धको भनिएको आन्दोलनले अन्ततः ओली प्रधानमन्त्री निवास बालुवाटारबाट हेलिकोप्टर चढेर भाग्नु परेको थियो।
डा. राणा र उनका श्रीमान् नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले घरमा नै निर्घात कुटाइ खानु परेको थियो। सिंहदरबार, सर्वोच्च अदालत लगायत अन्य सरकारी तथा भौतिक संरचना आगजनीबाट क्षति भएको आन्दोलन पछि सुशीला कार्की प्रधानमन्त्री बनेकी छिन्।
एमाले अध्यक्ष ओलीले जेनजी आन्दोलनलाई हाहुको समूह भन्दै आएका छन्। तर उनी ओली निकट डा. केसीले भने जेनजी आन्दोलनलाई संस्थागत गर्नु पर्ने धारणा राखेका हुने।
आफ्नै नेतृत्वको एनआरएनए महिला विभागले सोमबार काठमाडौँमा ‘जेनजी आन्दोलन र नेपालमा डायस्पोराको भूमिका’ विषयक अन्तरक्रियामा केसीले सो धारणा राखेका हुन्।
एनआरएनएकी उपाध्यक्ष तथा महिला विभागकी संयोजक रोजिना प्रधान राईको संयोजकत्वमा आयोजित कार्यक्रममा महिला अधिकारकर्मी,सञ्चारकर्मी,जेनजीका प्रतिनिधिहरू, मानव अधिकारकर्मी लगायत एनआरएनएका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।
डा. केसीले विशेषगरी जेनजी पुस्ताका माग सम्बोधनमा सरकार गम्भीर हुनुपर्नेमा समग्र एनआरएनए र विदेशमा रहेका नेपालीहरुको तर्फबाट ऐक्यबद्धता प्रकट गरे।
उनले अपराध, हिंसा र आन्दोलनलाई फरक दृष्टिले बुझ्नुपर्ने बताउँदै आफ्ना माग शान्तिपूर्ण रूपमा राख्नु संवैधानिक अधिकार भए पनि अपराध र हिंसामा संलग्न जो कोहीलाई कानूनी दायरामा ल्याउन जरुरी रहेको उल्लेख गरे।
“जेनजीको नाममा गल्ती गर्नेले उन्मुक्ति पाउनु हुँदैन,” डा. केसीको भनाइ थियो।
उनले थपे “हामी नेपाली जो विगतमा बाध्यतावश विदेशिएका थियौं, अहिले देशमा केही गर्नुपर्छ भनेर फर्किएका र फर्कने क्रममा रहेका सबै सशंकित भएका छौँ । देश नै दुखेको बेला आफ्नो पीडा राख्ने ठाउँसम्म नभएको महसुस हुन्छ। आन्दोलनको क्रममा भएका हिंसा, लुटपाट तथा राज्यहिनताको परिस्थितिले अन्तर्राष्ट्रिय समुदायमा नेपालको सम्मान घटेको छ ।”
डा. केसीले लगानीका लागि गैरआवासीय नेपाली र विदेशी लगानीकर्तालाई समेत प्रोत्साहित गरिरहेको बेला अकस्मात् उत्पन्न भएको घटनाले “के अब नेपालमा लगानीकर्ता आउलान् त?” भन्ने भय सिर्जना भएको बताए।
‘यति मात्र नभई, नेपाल अल्पविकसित मुलुकको सूचीबाट विकासोन्मुख मुलुकको सूचीमा समावेश हुनै लागेको अवस्थामा आएको यो परिवर्तनले देशको आर्थिक दिशाबारे थप अन्योलता सिर्जना गरेको छ।‘ उनले भने।
डा. केसीले अब सबैले मिलेर जेनजी आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्ने बेला आएको बताए।
उनले वर्तमान अवस्थामा एनआरएनएका माग सम्बोधन गर्दै देशमा लगानीमैत्री वातावरण सिर्जना गर्न र सरकारसँग हातेमालो गर्न सकिने कानूनी मार्ग प्रशस्त गर्न सरकार तथा सरोकारवालाहरूले ध्यानाकर्षण गराउनुपर्नेमा जोड दिए।
बद्री केसी समुहकी उपाध्यक्ष रोजिना प्रधान राइले महिलाको नेतृत्व, नयाँ पुस्ताको भूमिका र सहकार्यका सम्भावनाबारे महत्वपूर्ण विचार प्रस्तुत गरिन्। कार्यक्रममा उनले सक्षम महिलाहरूको सहभागिताप्रति खुशी व्यक्त गर्दै नयाँ पुस्ता, विशेषगरी जेनजी आन्दोलन पछि आएको चेतना र आत्मविश्वासलाई सही दिशामा लैजानु आवश्यक रहेको बताइन् l
‘आन्दोलनले नयाँ पुस्तामा चेतना र आत्मविश्वास जगाएको छ। उनीहरू अब मौन छैनन्, उनीहरू बोल्छन्, प्रश्न गर्छन्, र परिवर्तन चाहन्छन्। तर त्यो परिवर्तनलाई सहि दिशा दिने जिम्मेवारी हाम्रो पुस्ताको पनि हो।” राइले भनिन्।
उनले एनआरएनएको भूमिका र जिम्मेवारीबारे जिज्ञासा समेत राखेकी थिइन। “हामी,एनआरएनका रूपमा, कसरी ती युवाहरूको आवाजलाई अवसरमा रूपान्तरण गर्न सक्छौँ? महिलाहरूको नेतृत्वमा, शिक्षा, उद्यमशीलता र सशक्तिकरणमा के-कस्तो ठोस योगदान दिन सक्छौँ? र हामी कसरी आफ्नो अनुभव र जेनजी को ऊर्जा जोडेर साझा बाटो बनाउन सक्छौँ?” भनेरै सबैसंग सम्बादमा छौ ।’
एनआरएनए महिला विभागले विश्वभर रहेका नेपाली महिलाबीच सञ्जाल, मार्गदर्शन, र सीप आदान–प्रदानमार्फत नेपालका महिलाहरू र युवाहरूलाई सशक्त बनाउन सकिने उनको भनाइ थियो ।
राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लिली थापाले ‘जेनजी आन्दोलन’ पछिको अवस्थाबारे बोल्दै विदेशमा रहेका नेपालीहरूले पाउनुपर्ने अधिकारसँगै निर्वाह गर्नुपर्ने कर्तव्यबारे स्पष्ट हुनुपर्ने बताइन। थापाले राज्यका संरचनाहरूमा व्यापक क्षति पुगेको उल्लेख गर्दै त्यसको पुनर्निर्माणमा सबै पक्षले हातेमालो गर्नुपर्नेमा जोड दिइन्।
“राज्यका धेरै संरचनाहरू बिग्रिएका छन्। यदि तपाईंहरू सक्नुहुन्छ भने सहयोग गर्नुहोस्। अब देश बनाउने जिम्मेवारी तपाईंहरूको पनि हो।” थापाले भनिन।
कार्यक्रममा महिला तथा लैङ्गिक अधिकार बिज्ञ सरु जोशीले विदेशमा रहेका नेपालीहरुको मताधिकारका लागि काम भइरहेको र आफूले नीति तथा अनुसन्धान परिषद्मा रही त्यसका लागि आवश्यक प्रक्रियागत काममा सक्रिय रहेको बताइन। उनले सरकारले अध्यादेश ल्याउँदा नै लचकता अपनाएर ल्याउनुपर्ने र विदेशमा रहेका नेपालीहरुलाई सजिलै सँग मतदानमा भाग लिन पाउने व्यवस्था मिलाउन एनआरएनए लगायत सरोकारवालाले पनि पहल गर्नुपर्नेमा जोड दिइन।
पत्रकारहरु युबराज घिमिरे, बबिता बस्नेत र बालकृष्ण बस्नेतले जेन जी आन्दोलनपछि बढ्दो नकारात्मकतालाई सबैले आ आफ्नो स्थानबाट कम गर्न पहलकदमी दिनुपर्ने, नेपालको पुर्नसंरचना पुर्ननिर्माणमा हातेमालो गर्नुपर्ने लगायतका सुझाव दिए ।
यस्तै जेनजी पुस्ताका अभियन्ताहरु निशा थापा, किशोरी कार्की लगायतले मुलुक परिवर्तनउन्मुख भइसकेको अवस्थामा विदेशमा रहेका नेपालीहरुले आफ्नो कर्तव्य पूरा गर्नुपर्ने समय आएकोमा जोड दिएका थिए । कयौँ युवाहरु विदेशिरहेको समयमा नेपालमै केही गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्नुपर्नेमा उनीहरुको जोड थियो।
यसै क्रममा, साथसाथै फाउन्डेशनकी प्रजिता कार्कीले जलवायु परिबर्तनको क्षेत्रमा एनआरएनको योगदान भूमिकाको बारेमा चर्चा गरिन्। यस्तै पौरखी नेपालकी संस्थागत अध्यक्ष मंजु गुरुङले विदेशमा रहेका नेपालीहरूले नेपालको पुनर्निर्माण र विकासका काममा सहकार्य गर्नुपर्ने सुझाव दिइन।
अन्य वक्ताहरूले नेपालमा भइरहेको जेनजी आन्दोलनले सामाजिक र राजनीतिक चेतनाको नयाँ आयाम खोलेको बताउँदै विदेशमा रहेका नेपालीहरू पनि देश निर्माणको यात्रामा समान रूपमा सहभागी हुनुपर्ने धारणा राखे ।
वक्ताहरूले एनआरएनएले प्रवासी नेपालीहरूको मताधिकार सुनिश्चित गर्न सरकारले तयारी गरिरहेकोले विदेशमा रहेका नेपाली बिशेषत: एनआरएनएले महत्वपूर्ण सहयोग गर्नुपर्नेमा जोड दिएका थिए । “विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार सुनिश्चित गर्न सरकारले कानुनी रूपमा स्पष्ट र खुला अध्यादेश ल्याउनुपर्छ र एनआरएनएले यसमा महत्वपूर्ण सहयोग गर्न जरुरी छ ।” उनीहरुको भनाइ थियो ।
कार्यक्रममा सहभागीहरूले सरकारले प्रवासी नेपालीहरूको सहभागितालाई राष्ट्रिय नीतिमा समेट्ने स्पष्ट कानुनी बाटो खोल्नुपर्ने, जेनजी आन्दोलनले उठाएका मागहरूलाई दीर्घकालीन सुधारका एजेन्डा बनाइनुपर्ने, र युवाहरूको ऊर्जालाई सकारात्मक परिवर्तनका लागि उपयोग गर्नुपर्ने निष्कर्ष निकाले ।
एनआरएनए महिला विभागका पदाधिकारीहरूले भने, यस्तो अन्तरक्रियाले देशभित्र र बाहिर रहेका नेपालीबीच विचार–विनिमय र सहकार्यको वातावरण निर्माण गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रमका मुख्य निष्कर्षहरू
- जेनजी आन्दोलनले नयाँ पुस्तामा चेतना र आत्मविश्वास जगाएको र त्यसलाई सही दिशामा लैजानु आवश्यक भएकोले सबैले सहकार्य गर्ने ।
- विदेशमा रहेका नेपालीहरू (डायस्पोरा) र एनआरएनएले नेपालको पुनर्निर्माण, लगानी र सामाजिक परिवर्तनमा सक्रिय भूमिका खेल्नुपर्ने ।
- जेनजी आन्दोलनपछि बढेको नकारात्मक धारणा घटाउन सबैले आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्ने ।
- विदेशमा रहेका नेपालीहरूको आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकार तथा मताधिकार सुनिश्चित गर्न कानुनी रूपमा स्पष्ट र खुला नीति अध्यादेशमार्फत ल्याउनुपर्ने ।
- राज्यका बिग्रिएका संरचनाहरू पुनर्निर्माणका लागि प्रवासी नेपालीको योगदान अपरिहार्य रहेकोले आवश्यक सहकार्य गर्नुपर्ने ।
- महिलाको नेतृत्व, नयाँ पुस्ताको भूमिका र सहकार्यका सम्भावनामा केन्द्रित हुने एनआरएनए महिला विभागको प्रतिबद्धता।
- एनआरएनएले युवाहरूको ऊर्जा र विदेशमा रहेका सीप/स्रोतलाई नेपालमा सकारात्मक परिवर्तनका लागि उपयोग गर्ने रणनीति बनाउने ।
- सरकारले जेनजी आन्दोलनका माग सम्बोधनमा गम्भीर हुनुपर्ने र कानूनी सुधारका माध्यमबाट लगानीमैत्री वातावरण बनाउनु पर्ने सुझाव।
- देशभित्र र बाहिर रहेका नेपालीबीच विचार–विनिमय र सहकार्यको वातावरण सुदृढ गर्न यस्ता अन्तरक्रिया कार्यक्रमहरू निरन्तर सञ्चालन गर्नुपर्ने।
- जेनजी आन्दोलनलाई हिंसात्मक होइन, संस्थागत रूपले रूपान्तरण गर्न सबै पक्षले साझा जिम्मेवारी लिनुपर्ने ।












