पेन्सिल्भेनिया देखि भर्जिनिया सम्मको एक साहित्यिक यात्रा : गण्डकीपुत्र
योर्क, पेन्सिल्भेनिया/ मनासस म बसेको शहरबाट दुई घण्टा गाडीमा यात्रा गरेपछि पुगिने भर्जिनिया राज्यको सानो शहर हो । यो नेपालका विभिन्न जिल्लाबाट आएका नेपालीहरूको बाक्लो बसोबास भएको शहर हो ।
यही शहरमा १ नोभेम्बर २०२५ मा भएको एउटा साहित्यिक भेलामा अचानक सहभागी भइयो । एक दिन अगाडि नेपाली साहित्य समाजका जन्मदाता अझ भनौँ पिता अग्रज साहित्यकार होमनाथ सुवेदी सङ्ग टेलिफोनमा संवाद हुँदा वहाँले कार्यक्रममा आउनुस् है भनेर निम्तो दिनु भएको थियो ।
होमनाथ सुबेदीले बोलाएपछि मलाई चैँ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले औपचारिक निम्तो नगरे पनि कार्यक्रममा सहभागी हुन विशेष निम्तो पर्खनु पर्छ जस्तो लाग्दैन । अनेसासको कार्यक्रममा सहभागी हुँदा भने एक प्रकारको आनन्द महशुस हुने । आफ्ना विगत देखिका साथीहरू भेट हुने । साहित्यको क्षेत्रमा लाग्दाका विगतमा गरेका संघर्ष र पीडा सम्झिएर एकै पटक खुसी हुन र दुखी हुन पाइने कवि भूपी शेरचनको मैन बत्तीको शिखा कविता जस्तो एकै पटक हाँस्न र रुन पाइने ।
करिब २५ वर्ष अगाडि मेरा एक मित्र थिए पशुपति घिमिरे । म त्यस बेला विराटनगरबाट निस्कने दैनिक पत्रीका उद्घोषको साहित्यिक स्तम्भकार भएर लेख लेख्थे । त्यही क्रममा धरानकी एक लेखिका सुजातको त्यस बेला भर्खरै निस्किएको उपन्यासका बारेमा अन्तर्वार्ता गर्न धरान गएको थिए ।
त्यस बेला मलाई सुजातको घर सम्म पुर्याएर सहयोग गर्ने पत्रकार पशुपति घिमिरे सङ्ग यो कार्यक्रममा भेट भयो । लामो कुराहरू भए । पान पसल देखी भट्टी सम्मका । पत्रीका देखि साहित्यिक गोष्ठी सम्मका । त्यस बेला भेटिएको मित्र यसरी मनाससमा अचानक भेटिदा हामी दुवैले धरान र विराटनगर सम्झियौ । एउटा संघर्ष गर्दै गरेको विगत हाम्रो अगाडि उपस्थित भयो ।
हास्यौं , तस्बिर लियौँ र फेरि एक पटक नवीन बन्ने प्रयत्न गर्यौँ ।
उनी अहिले भर्जिनियाकै रिचमण्ड भन्ने शहरमा पत्नी वर्षासँगै परिवार सहित बस्छन् । भेटमा उनले बौद्ध धर्म दर्शनलाई आधार मानेर लेखेको आफ्नो पुस्तक बुद्धवादका तीन आयाम नामको पुस्तक पनि उपहार दिए । विभिन्न पत्रीकामा सक्रिय यिनी एक बौद्धिक र मिलनसार मित्र हुन ।
कार्यक्रम नेपाल र अमेरिकाको राष्ट्रिय गीत गाएर सुरु गरिएको थियो । उपस्थित सहभागी महिला वा पुरुष कुनै न कुनै विषयमा कलम चलाएका प्राय परिचित लेखक वा विद्धानहरू थिए । त्यही कार्यक्रममा भेटिइन विमला ढुङ्गाना निरौला । विशेष बाल साहित्यमा कलम चलाउने विमलाले नेपालमा हुँदा नै बाल साहित्यका ३ कृति प्रकाशित गरिसकेकी थिइन ।

अमेरिका आएर पनि उनको कलम रोकिएको छैन । पशुपक्षी बाल चित्र कविता सँगालो , बाल बगैँचा बाल कविता सँगालो , ठूलो भई के बन्ने बाल संवाद चित्र कविता , निर्दोष कोपिला बाल गीत सङ्ग्रह जस्ता बालबालिकालाई उत्प्रेरणा दिने कृति सार्वजनिक गरेकी यिनले १ मुक्तक सङ्ग्रह र १ कविता सङ्ग्रह प्रकाशित गरेकी छन् ।
मैले यात्रामा देश बाल कविता सङ्ग्रह उपहार पाए विमलाबाट । मैले उनका केही पुस्तक दिनुस् कति दाम पर्छ भने । मलाई बालबालिकालाई पुस्तक दिनु पुण्यको कर्म हो जस्तो लाग्छ । होइन दाइ बालबालिकाले पढ्छन् भने पैसा पर्दैन भनेर विमलाले ९ थान पुस्तक दिइन । यी पुस्तक नेपाली कक्षा सञ्चालन गर्ने संस्थालाई जिम्मा लगाउनु छ ।
बाल साहित्य मार्फत बालबालिकालाई नेपाली भाषाका पुस्तक पढ्ने संस्कृतिको विकास गर्न सकियो भने भावी पुस्ताले नेपाली भाषा जोगाउन मद्दत गर्ने छ भन्ने लाग्छ।
यात्रामा देश यो बाल कविता सङ्ग्रहमा २३ वटा कविता सङ्ग्रहित छन् भने कविताले नेपालका विभिन्न शहर र चर्चित ठाउँहरूको काव्यात्मक चित्रण गरेका छन् ।
पहिले कविता नेपाली भाषामा लेखिएको छ र त्यही कवितालाई रोमन भाषामा अनुवाद गरिएको छ । सगरमाथा शीर्षकको कविताको यो उदाहरण हेरौँ ।
हिउँचुलीको सगरमाथा , नेपालको शिर
फैलाएर संसारभर , गौरव सबैतिर
Hiuchuliko sagarmatha
Nepalko shira !
Phailayera Sansarabhar
Gaurav Sabaitir !!
यसरी अङ्ग्रेजी माध्यममा पढ्नेका लागि नेपाली भाषाको बानी पार्न सकिन्छ भन्ने उदाहरण विमलाले दिएकी छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको महा सचिवको जिम्मेवारी सम्हाली सकेकी यिनी अनेसास बाल तारा नामक कार्यक्रमको परिकल्पनाकार समेत हुन। कवि विमलाको लेखन शिल्पको बारेमा अर्को लेखमा विस्तृत चर्चा गरौला । अहिले उनको यो पुस्तकका लागि बधाई छ ।
देवकोटा जयन्तीको सन्दर्भ पारेर अनेसासले विभिन्न नामका पुरस्कार प्रत्येक २ वर्षमा वितरण गर्छ । यहाँ पनि धेरै स्रष्टाहरू पुरस्कृत भए । यही कार्यक्रममा भेटिए इन्जिनियर रमेश खनाल । पेशाले इन्जिनियर यिनी नेपालमा पुस्तक विमोचन भएको एक हप्तामा पढ्न भ्याउँछन् ।
नेपाली साहित्यका अविश्रान्त पाठक यिनले समकालीन प्राय लेखकलाई पढेका छन् । उनको अर्को विशेषता भनेको पुस्तकको स्तर मूल्याङ्कन । यो पुस्तकले पाठकलाई न्याय गरेको छ यो पुस्तक मात्र विज्ञापन हो, पाठकलाई न्याय दिन सक्दैन । सजिलै र स्पष्ट भनी दिन्छन् । प्रष्ट वक्ता सुखिम भवेत । कार्यक्रम सुरु हुनु अघि उनले घर लिएर गए । कार्यक्रम स्थलबाट ३ मिनट पर । उनी मनाससमा खोलिएको नेपाली स्कुलको व्यवस्थापन पनि हेर्दा रहेछन् । करिब १५० बालबालिका त्यो नेपाली स्कुलमा अध्ययन गर्दा रहेछन् । उनले ४ वटा पुस्तक पढ्नुस् भनेर फर्काउने सर्तमा दिए । एक मेरो परिचित लेखिका उमा सुवेदी । उनले पहिलो उपन्यास काठमाडौँ शिल्पी थिएटरको आँगनमा भेट हुँदा उपहार दिएकी थिइन । यिनी निकै परिष्कृत र माझिएकी लेखिका लाग्छ मलाई । सयौँ पुतली यो कथा सङ्ग्रह अहिले मेरो हातमा छ । अरू पुस्तकमा प्रभा बरालको फिलिङ्गो, जयराम तिमल्सेनाको धीमहि, डा. चित्र माबोको डोली भर्ना छन् । रमेश खनाललाई धन्यवाद । म जस्तो फुकाफाल बेरोजगारलाई काम दिएको मा ।
पहिलो चरणको कार्यक्रम पछि खानाको लागि कार्यक्रम स्थगित गरियो । कवि एवम् अनेसास पूर्व अध्यक्ष गोवर्द्धन पूजालाई अध्यक्ष बनाएर कविताको कार्यक्रम सुरु गरियो । करिब ५०/५२ जना कविहरूको नाम कविता वाचनको सूचिमा छ भनेर कवि नारायण अधिकारी र रश्मि भट्ट यी २ कार्यक्रम सञ्चालनको जिम्मा पाएकाहरू सुनाउँदै थिए । धेरै कविता सुनिसकेपछि मलाई लाग्यो अब एउटा बहसको आवश्यकता छ कि अब लेखिने कविता कस्ता हुने ? हामीले नेपाल लेख्ने कि भुटान लेख्ने कि अमेरिका लेख्ने । हामीले हाम्रो चेतना कता केन्द्रित गरेर लेख्ने । कविता आँसु हो । कविता खुशी हो । कविता जीवन हो । कविता जगत हो । के हो कविता ? यो विषयले मलाई घोची रहन्छ अब के लेख्यो भने आजको कविता हुन्छ ?
रातको संकेत दिनले दिनथाले पछि हामी घर सम्झन्छौ । कार्यक्रममा पूरा समय दिन सकिएन । भाइ जे एन दाहाले संकेत गरेपछि म सभा कक्ष छोडेर बाहिर निस्किए । बाटामा गफिँदै घर आइयो । विशेष साहित्य परिषद् भुटानले नोभेम्बर ८ तारिख गर्न लागेको साहित्यिक सम्मेलन र त्यसले नेपाली साहित्यलाई दिने सन्देशका बारेमा परिषद्का सचिव खेम रिजाल सङ्ग फोन संवाद भयो । यसरी एक साहित्यिक यात्राको बिट मारियो ।
र यो पनि ….
फुर्वा तामाङ, पश्चिम किल्ला चम्बा पो र मेरो तिहार















