आइसिसी विश्वकप लिग २ : युएई माथि अमेरिकाको सानदार जित, सिरिजका चारै खेलमा बन्यो अपराजित
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, युएई र अमेरिकाबिच दुबईमा जारी त्रिकोणात्मक एक दिवसीय सिरिजमा अमेरिकाले आफ्ना चारै खेल जितेको छ।
सोमबार अमेरिकाले घरेलु टोली युएई माथि २४३ रनको सानदार जित निकालेको हो। यससँगै अंक तालिकाको शीर्ष स्थानमा रहेको अमेरिकाको २४ खेलबाट ३६ अंक भएको छ। पुछारको युएईको १९ खेलबाट ८ अंक छ। युएईभन्दा एक स्थानमाथिको नेपालको १२ अंक छ। अब सिरिजको अन्तिम खेलमा नेपाल र युएई बुधबार खेल्नेछन्।
सोमबार खराब ब्याटिङ गरेको युएई २९३ रनको लक्ष्य पछ्याउँदा ४९ रनमै अलआउट भयो। २२.१ ओभरमा अलआउट भएको युएईका लागि जुनइद सिद्धिकीले सबैभन्दा बढी १० रन जोड्दा अरू कुनै पनि ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन्।
बलिङमा अमेरिकाका रुशील उगारकरले ५ विकेट लिए भने सौरभ नेत्रभाल्करले ३ विकेट हात पारे।
त्यसअघि दुबईमा सोमबार टस जितेको युएईले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको ३ विकेटको क्षतिमा २९२ रन जोडेको छ।
कुनै समय सात ओभरमा ३ विकेट गुमाएको अमेरिकाले त्यसपछि भने कुनै विकेट नगुमाइ युएईविरुद्ध ब्याटिङ गर्यो।
अमेरिकाका लागि सइतेजा मुकामल्ला र मिलिन्द कुमार दुवैले शतक प्रहार गरे। मुकामल्लाले नकआउट १३७ रन र मिलिन्दले नकआउट १२३ रन बनाए। दुईबिच चौथो विकेटका लागि अविजित २६४ रनको साझेदारी भयो। यो एक दिवसीय खेलमा चौथो विकेटका लागि दोस्रो सर्वाधिक साझेदारी हो। अमेरिका लागि भने कुनै पनि विकेटका लागि सर्वाधिक रनको साझेदारी हो।
जारी सिरिजमा मिलिन्दले यसअघि तीन खेलमा लगातार अर्धशतक प्रहार गरेका थिए।
आजको शतकसँगै जारी लिग-२ मा मिलिन्द कुमारले एक हजार रन पूरा गरेका छन्। सर्वाधिक रन बनाउने खेलाडीको दोस्रो स्थानमा रहेका उनले अब शीर्ष ब्याटर जर्ज मुन्सेलाई भेट्न २१ रन मात्र टाढा छन्।
मुन्सेले १ हजार ३७ रन जोड्दा मिलिन्दले १ हजार १६ रन बनाएका छन्। यता मुकामुल्ला पनि सर्वाधिक रन बनाउने खेलाडीको तेस्रो स्थानमा उक्लिएका छन्। उलने ८७४ रन बनाएका छन्।












