नेपाल प्रिमियर लिग खेल्न लागेका तीन अमेरिकी क्रिकेटरको बारेमा जान्नुहोस्
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ सुदूरपश्चिम रोयल्सले अमेरिकाका बलिङ अलराउण्डर हर्मित सिंहलाई नोभेम्बर १७ देखि सुरू हुने दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) का लागि अनुबन्ध गरेको छ।
उनी एनपिएल खेल्न लागेका तेस्रो अमेरिकी खेलाडी हुन्। यसअघि ब्याटिङ अलराउन्डर मिलिन्द कुमार र विकेटकिपर ब्याटर लाहिरू मिलिन्था पनि एनपिएल टोलीमा आबद्ध भएका थिए।
हर्मितले लगातार दोस्रो सिजन पनि सुदूरपश्चिमबाट खेल्ने भएका छन्। गत सिजन उनले ५ खेलमा ८ विकेट लिएका थिए । उनी पहिलो सिजनको एनपिएलमा सबैभन्दा कम इकोनोमीमा बलिङ गर्ने खेलाडी हुन् ।
आफ्नो अनुबन्धमा खुशी व्यक्त गर्दै हर्मीतले भने, ‘म नेपाल प्रिमियर लिगमा फेरि एकपटक फर्किँदै छु। गत सिजनको अधुरो कामलाई यसपटक पूरा गर्नु छ। समर्थकहरूसँग छिट्टै भेट हुनेछ।’
३२ वर्षीय हर्मीत बाँयाहाते बलर हुन् र बाँयाहाते ब्याटिङ पनि गर्छन्। उनले टी–ट्वान्टी अन्तर्राष्ट्रियमा २५ खेलमा २४ विकेट लिएका छन् भने ब्याटिङमा २३५ रन बनाएका छन्। अमेरिकाका लागि उनले २१ एकदिवसीय खेलमा ३१ विकेट लिएका छन् भने ३२५ रन बनाएका छन् ।
हर्मीत सन् २०१२ को यू–१९ विश्वकप विजेता भारतीय टोलीका सदस्य थिए। उनले इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सका लागि समेत खेलेका छन्।
अमेरिकाका अर्का राष्ट्रिय टोलीका ब्याटर मिलिन्द कुमार काठमान्डु गोर्खाजमा आवद्ध भएका थिए। पछिल्लो समय ३४ वर्षीय मिलिन्द उत्कृष्ट लयमा रहेका छन्। दुबईमा भइरहेको नेपाल सम्मिलित विश्वकप लिग २ मा उनले नेपालविरुद्ध पहिलो खेलम ५० बलमा ७० रन र दोस्रो खेलमा पनि ६६ बलमा ७० रन नै जोडेक थिए।
यस्तै यूएईविरुद्ध ८१ बलमा ७१ रन बनाएका थिए। ‘मिलिन्दले अमेरिकी टोलीका लागि ठुलो सफलताका साथ आफ्नो भुमिका निर्वाह गर्दै आएका छन्, उनले ब्याटिङमा एकरुपता र संयमता देखाएका छन्,’ काठमान्डु गोर्खाजका प्रशिक्षक मोन्टी देसाईले भने, ‘फरक परिस्थिति र दबाबमा पनि खेल्न सक्ने उनको क्षमता उत्कृष्ट छ । उनलाई काठमान्डु गोर्खाज परिवारको हिस्साको रुपमा पाउदा हामी निकै उत्साहिछ छौं ।’
दिल्लीबाट उनले २०११ मा रणजी ट्रफीमा ‘डेब्यू’ गरेका थिए । त्यसपछि उनले सिक्किम, त्रिपुराबाट भारतको घरेलु क्रिकेटमा खेले । मिलिन्द दुई पटक इन्डियन प्रिमियर लिगको टोलीमा समावेश थिए । २०१४ मा दिल्ली डेयरडेभिल्सले १० लाख र २०१९ मा रोयल च्यालेन्जर्स बेङलोरले बेस प्राइस २० लाखमा उनलाई लिएको थियो । तर उनले आईपीएलमा खेल्न भने पाएका थिएनन् ।
२०२१ मा उनी माइनल लिग क्रिकेट हुदैं अमेरिकी क्रिकेटमा स्थापित भएका थिए । उनले पछिल्लो तीन सिजन अमेरिकाको मेजर लिग क्रिकेटमा टेक्सास सुपर किंग्सबाट खेल्दै आएका छन् । नेदरल्यान्ड्सको द हेगमा क्यानडाविरुद्ध खेल्दै उनले अमेरिकाबाट एकदिवसीय अन्तर्राष्ट्रियमा ‘डेब्यु’ गरेका थिए । २०२५ को सेप्टेम्बरमा मिलिन्दले नामिबियाको विन्डहकमा नामिबियाविरुद्ध अविजित ७४ र यूएईविरुद्ध अविजित १५५ रन बनाएका थिए ।
यसै वर्षको मेमा उनले क्यानडाविरुद्ध अविजित ११५ र ओमानविरुद्ध ६८ रनको इनिङ्स खेलेका थिए, जसको कारण उनी आईसीसीको महिनाको उत्कृष्ट खेलाडीको मनोनयनमा परेका थिए ।
हाल चलिरहेको विश्वपक लिग २ मा उनी सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा दोस्रो स्थानमा छन् । उनले २१ खेलमा ५८ माथिको औषत र १०० माथिको स्ट्राइक रेटमा ८९३ रन बनाइसकेका छन्, जसमा २ शतक र ७ अर्धशतक समावेश छ । साथै उनको नाममा २७ विकेट पनि रहेको छ । मिलिन्दले सबै खाले ट्वान्टी–२० मा ९० खेल खेल्दै १६ सय भन्दा बढि रन बनाएका छन् ।
यस्तै अघिल्लो सिजन जनकपुर बोल्ट्सलाई च्याम्पियन बनाउन उत्कृष्ट ब्याटिङ गरेका ओपनर लाहिरू मिलन्था पनि यो सिजन जनपकुरबाटै खेल्दैछन्। फाइनलमा ८७ रन जोडेर जनकपुरलाई च्याम्पयन बनेका उनले नेपालमा खेल्न लागेको यो तेस्रो पटक हो। तीन वर्षअघि भएको विवादित नेपाल टी-२० खेल्न नेपाल आएका मिलन्थाले लुम्बिनी अलस्टार्सबाट खेलेका थिए। त्यतिबेला पनि उनले लुम्बिनीलाई उपाधि दिलाउने योगदान दिएका थिए।
उनले गत सिजन १० खेलमा कुल २९३ रन जोडे। जसमा पहिलो र अन्तिम खेलमा बनाएका दुई अर्धशतक सामेल छन्। उनी सर्वाधिक रन बनाउने खेलाडीको शीर्ष स्थानमा थिए।
श्रीलंकामा जन्मिएर त्यहिँ क्रिकेट सिकेका मिलन्था सन् २०२० मा अमेरिकामा गएका थिए। श्रीलंकन राष्ट्रिय टोलीमा पर्ने सम्भावना कम भए पछि उनले अमेरिकामै क्रिकेट खेलिरहेका छन्। अमेरिकाको मेजर उनले यो सिजन उनले वासिङटन फ्रिडमबाट खेलेका थिए।
त्यसअघि उनले श्रीलंकाको ‘ए’ टोली र इमर्जिङ टोलीबाट खेलेका थिए। सन् २०२० को सिजनसम्म उनले श्रीलंकाको घरेलु क्रिकेट खेलेका थिए। श्रीलंकामा सन् २०१७-१८ को प्रिमियर लिमिटेड ओभर प्रतियोगितामा उनी उत्कृष्ट ब्याटर समेत घोषित भएका थिए। त्यसपछिको सिजनमा उनले एउटा खेलमा दोहोरो शतक समेत प्रहार गरेका थिए।
अलराउन्डरको रूपमा आफ्नो क्रिकेट यात्रा सुरू गरेका उनले कलेजस्तरदेखि विकेटकिपरको ब्याटरको भूमिकामा आफूलाई बदेलेका थिए।
श्रीलंकामा ६६ वटा पहिलो श्रेणीको क्रिकेट खेल खेलेपछि उनी सन् २०२० मा अमेरिका बसाइ सरेका थिए। आफ्नी श्रीमतीसहित उनी सुरूमा नर्थ क्यारोलिना पुगेका थिए। पहिलो सिजन माइनर लिग खेल्दा उनीसँगै ६ जना श्रीलंकामूलका क्रिकेटर त्यहाँ आबद्ध थिए।















